नेता भण्डारीको प्रश्नः सिमित व्यक्तिले राम्रो घर बनाउन र गाडी चढ्न मात्रै प्रजातन्त्र आएको हो ?

नेता भण्डारीको प्रश्नः सिमित व्यक्तिले राम्रो घर बनाउन र गाडी चढ्न मात्रै प्रजातन्त्र आएको हो ?


नेपाली काङ्ग्रेसका नेता चन्द्र भण्डारीले सिमित व्यक्तिहरुले राम्रो घर बनाउन र राम्रो गाडि चढ्न मात्रै देशमा प्रजातन्त्र ल्याएको हो भन्दै प्रश्न गरेका छन् । 

४१औं वीपी स्मृति सप्ताहको अवसरमा आयोजित ‘वर्तमान राजनीतिक चुनौतीहर र नेपाली काङ्ग्रेसको दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रममा नेता भण्डारीले सधैँ वीपी र गणेशमानको नाममा कमाउने प्रवृत्ति बढ्दै गएको दाबी गरेका हुन् । उनले त्यसलाई अन्त्य गर्ने दायित्व कांग्रेसको काँधमा आएको बताए । 

उनले भने, ‘सिमित व्यक्तिहरुको परीवार बनाउँन, सिमित व्यक्तिहरुको घर बनाउँन, सिमित व्यक्तिहरु राम्रो गाडि चढ्न यो देशमा प्रजातन्त्र ल्याएको हो ? के सहिदहरु बनेको हो ? यो प्रश्न र चुनौती आजको हो । हामी सधैँ वीपी, गणेशमान भनेर नाम लिने  उनको आचरण लिन नपर्ने उनको नाममा कमाउने, समाजका मान्छे भन्दा भिन्न हुने कहिले पनि हुँदैन । यसको अन्त्य गर्ने नेपाली काङ्ग्रेसको दायित्व हो । ’

यस्तै नेता भण्डारीले भाग्यले केही व्यक्तिहरु प्रधानमन्त्री, मन्त्री बने तर अबको युवाहरुले त्यो पद पाउँनको लागि धेरै ठूलो त्याग गर्नुपर्ने बताए । ‘युवा विहिन देश बन्दै छ, देशमा किसानहरु समस्या परेका छन् त्यो विषयमा छलफल होला भनेको शक्ति प्रदर्शन गर्ने थलो बनेको छ समितिको बैठक, यसरी चल्छ काङ्ग्रेस, यसरी चलाउन सकिन्छ ?,’ उनले भने ‘२, ४ जना बढ्नु र पढ्नु यहीको समाजवाद, भर्खरका युवाहरु देश छोडेर जानु यहीको समाजवाद हो । भाग्यले केही व्यक्तिहरु प्रधानमन्त्री हुनुभयो, भाग्यले कर्म नगरिकन केही व्यक्तिहरु मन्त्री बन्नु भयो अबको युवाहरुले त्यो पद पाउँनको लागि धेरै ठूलो त्याग गर्नुपर्छ । हिजोको जस्तो होईन ।’

Logo