काठमाडौंमा ‘कोरोना समुदायमा आउन सक्छ’

काठमाडौंमा ‘कोरोना समुदायमा आउन सक्छ’


काठमाडौं ।
सरकारले कोरोना भाइरस समुदायस्तरमा फैलने जोखिम अधिक रहे पनि हालसम्म समुदायस्तरमा कोरोनाको सङ्क्रमण फैलिइनसकेको जनाएको छ । इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डे छिट्फुट रुपमा देखिए पनि समुदायमा कोरोना नफैलिएको बताउँछन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा मंगलबार आयोजित नियमित ‘प्रेस ब्रिफिङ’का क्रममा उनले भने, “यदि समुदायमा कोरोना फैलिएको भए महिला र पुरुषमा समान रुपमा देखिनुपर्थ्यो । त्यो भएको छैन । तीन प्रतिशत सङ्क्रमित बाहिरबाट नआएका व्यक्तिमा देखिएको भए पनि क्वारेन्टिनमा बसेको व्यक्तिसँग कुनै न कुनै प्रकारको ‘लिङ्क’ भएको पाइएको छ ।” उनले भने, “कोरोना भाइरस समुदायमा आउन सक्छ, योसँगसँगै जानुपर्ने हुन सक्छ, तर अहिलेसम्म समुदायसम्म कोरोना भाइरस पुगिसकेको होइन ।”

समुदायस्तरमा कोरोना फैलिएको छ/छैन भन्नेमा धेरै प्रश्न उठ्ने गरेको भन्दै उनले अधिकांश सङ्क्रमित विदेशबाट आएका व्यक्ति भएको बताए । “अहिलेसम्म ८७ प्रतिशत सङ्क्रमित पुरुष छन् । उनीहरु पनि १५ देखि ५४ वर्ष सम्मका हुन् । उनीहरु श्रम गर्न अन्य देश गएका थिए। विदेशमा श्रम गर्न जाँदा उनीहरुमा कोरोना सङ्क्रमण भएको हो”, निर्देशक पाण्डेले भने ।

काठमाडौं उपत्यकामा २६७ जनामा कोरोना पुष्टि भएको जानकारी दिँदै उनले सङ्क्रमितको स्रोत पत्ता लगाउने गरी खोजपड्ताल भइरहेको बताए। “सङ्क्रमितले आफ्नो ठेगाना काठमाडौँ राखेको महाशाखाको रेकर्डमा छ । त्यसमध्ये १७५ काठमाडौँका, ४१ ललितपुर र ४३ जना भक्तपुरका छन्, यी मध्ये ७९ जना विदेशबाट उद्धार गरी ल्याइएको हुन् ”, उनले भने ।

कसरी बढे काठमाडौँमा सङ्क्रमित

विदेशबाट आउने, लुकिछिपी उपत्यका प्रवेश गर्ने र उपचारका लागि अस्पतालमा आउने व्यक्तिबाट उपत्यकामा सङ्क्रमण बढेको उनले बताए। विदेशमा अलपत्र परेको नागरिकको उद्धार गरिँदा उपत्यकामा केही सङ्क्रमण बढ्न गएको महाशाखाको ठम्याइ छ । विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार सम्बन्धित मुलुकले पिसिआर परीक्षण गरेर नपठाउँदा विदेशबाट आउनेमा सङ्क्रमण देखिएको उनको भनाइ छ । विदेशबाट उद्धार गरी ल्याइएका करीब १७ हजार व्यक्तिमध्ये ३५ प्रतिशतले पिसिआर, ३५ प्रतिशतले आरडिटी विधिबाट परीक्षण गरेको र बाँकीले कुनै पनि परीक्षण नगरेको पाइएको उनले जानकारी दिए। कोरोनाको लक्षण देखिएको व्यक्ति पनि आएको उनको भनाइ छ ।

केही व्यक्तिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको हेल्थ डेस्कबाट सिधैँ अस्पताल पठाइएको निर्देशक पाण्डेले बताए। खाडीका साउदी अरेबिया, कुवेत, माल्दिभ्स लगायत मुलुकबाट सङ्क्रमित आएको अवस्था छ । आयातीत सङ्क्रमितबाट उपत्यकामा जोखिम बढेको छ÷छैन भनेर अध्ययन गर्न विभिन्न १२ स्थानमा नमूना परीक्षण गरिएको उनले बताए। ती मध्ये नख्खुटोल र तीनकुनेमा २२८ जनाको नमूना परीक्षण गर्दा कसैलाई पनि कोरोना पोजेटिभ नदेखिएको उनले जानकारी दिए। “अन्य नौ ठाउँको पनि नमूना सङ्कलन भइरहेको, एक÷दुई दिनमा नतिजा आउँछ, त्यसपछि काठमाडौँको के अवस्था छ भन्ने प्रस्ट हुन्छ”, उनले भने । महाशाखाका निर्देशक पाण्डेले नेपालीको रोग प्रतिरोधात्मक क्षमता बढी छ भनेर हेलचेक्रयाइँ नगर्न अपिल गरे ।

Logo