आकाशधारा र पानीसरा बस्तीलाई निजगढमा सामेल गराउनुपर्ने माग

आकाशधारा र पानीसरा बस्तीलाई निजगढमा सामेल गराउनुपर्ने माग


निजगढ नगरपालिकाको सिमानाभित्र पर्ने भए पनि हाल हेटौँडा उपमहानगरपालिकामा रहेका दुईवटा बस्तीलाई निजगढमा सामेल गराउनुपर्ने माग उठन थालेको छ।

बारा जिल्लाको सीमाभित्र पर्ने हेटौँडा उपमहानगरपालिकाको आकाशधारा र पानीसरा बस्तीलाई निजगढ नगरपालिकामा कायम गरिनुपर्ने निजगढका लेखापढी व्यवसायी बद्री बडालले माग गरेका छन् ।

साविक मकवानपुर जिल्लाको हटिया गाउँ पन्चायत वडा नम्बर ८ को उक्त बस्तीलाई नेपाल सरकारले २०३५ सालमा राजपत्रमा सूचना प्रकाशित गरेर बाराको मनहर्वा गाउँपन्चायतमा समावेश गर्ने भनेर गरेको निर्णयको आधारमा उक्त बस्तीलाई निजगढमा गाभ्नु पर्ने बडालको भनाइ छ।

राजपत्रमा हटियाको आकाशधारा, पानीसारा र डम्बरपुरलाई बाराको साविक मनहर्वा गाउँपन्चायत र मकवानपुरकै रातोमाटे पन्चालय वडा नम्बर १ को विरेदमारलाई अमलेखगन्जमा समावेश गर्ने सूचना जारी भएको थियो।

साही सूचनाअनुसार रातोमाटेको विरेदमार र हटियाको डम्बरपुर अमलेखगन्ज र मनहर्वामा गाभिएको भए पनि निजगढमा पर्ने आकाशधारा र पानीसरा बस्ती अझै पनि मकवानपुरमा नै रहेको छ।

मनहर्वा गाउँपन्चायत विभाजन भएर रतनपुरी गाउँपन्चायत गठन भएपछि चुरे क्षेत्रमा पर्ने उक्त बस्तीहरु राजपत्रमा प्रकाशित सूचनाअनुसार हाल निजगढ नगरपालिकाभित्र पर्ने बडालको भनाइ छ। उक्त बस्ती निजगढभित्र कायम गर्न निजगढ नगरपालिकाले पहल सुरु गर्नुपर्ने बडालले बताए।

त्यसैगरी निजगढका पुस्तक व्यवसायी सागर थोकरले पनि सामाजिक सन्जाल फेसबुकमा टिप्पणी लेखेर राजपत्रको सूचनाअनुसार निजगढ नगरपालिकाको आफ्नो भू-भागभित्र बसोबास गर्ने जनता र सो क्षेत्रको जल,जमिन र जंगलको संरक्षण गर्ने कार्य तत्काल सुरु गर्न निजगढ नगरपालिका कार्यालयसँग आग्रह र अनुरोध गरेका छन्।

Skip This
Logo