२२ सय छाउगोठ भत्काइए, कर्णालीवासी एकजुट

दैलेख।

छाउपडी प्रथाविरुद्ध कर्णालीवासी एकजुट हुन थालेका छन् । छाउप्रथाका नाममा महिनावारी हुने महिलालाई छाउगोठमा बसाउँदा जिउ ज्यानको असुरक्षा भएको भन्दै यहाँका नागरिक सचेत हुन थालेका हुन् ।

जिल्ला प्रशासन कार्यालयलाई पुस ९ गते सरकारले छाउगोठ भत्काउन निर्देशन दिएपछि हालसम्म कर्णालीका दुई हजार दुई सय ३५ वटा छाउगोठ भत्काइएका छन् ।

अभियानमा सर्वसाधारण, राजनीतिज्ञ, जनप्रतिनिधि लगायतले साथ दिँदै आएका छन् । सरकारले चलाएको अभियानमा सबै तहको सहयोग भएको कर्णाली प्रदेश सरकारकी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले बताइन् । ‘यो अभियानमा सबैको सहयोग अपरिहार्य छ,’ उनले भनिन्, ‘सरकार एक्लैले मात्र गर्न सक्दैन।’ नागरिक आफै यो अभियानमा सहभागी भएकाले प्रभावकारी भएको उनको भनाइ छ। कर्णालीवासी यो अभियानमा एकजुट हुँदा यतिधेरै छाउगोठ भत्काइएको मन्त्री केसीले बताइन्।

गृह मन्त्रालयले विभिन्न कर्णाली र सुदूरपश्चिममा रहेका छाउगोठलाई समुदाय, स्थानीय तह र प्रहरीसमेतको सहकार्यमा नष्ट गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको थियो। छाउपडी प्रथालाई निरन्तरता दिनलाई राज्यबाट प्रवाह हुने सेवासुविधा (वृद्धभत्ता, सामाजिक सुरक्षा भत्ता, सहुलियत कर्जा) रोक्का गर्ने भनेपछि छाउगोठ भएकाहरू समेत छाउगोठ भत्काउन सकारात्मक देखिएका थिए ।

मुलुकी अपराध संहिता २०७४ ले परिभाषित गरेका सामाजिक विभेद र भेदभाव तथा अपमानजनक व्यवहारविरुद्ध कानुनी व्यवस्था सम्बन्धमा आम नागरिकमा व्यापक सचेतनामूलक अभियान सञ्चालन गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।
नागरिकबाट

सम्बन्धित समाचारहरु

ताजा समाचार