मनसुनी वर्षाः देशभर ८५ प्रतिशत पानी पर्‍याे

मनसुनी वर्षाः देशभर ८५ प्रतिशत पानी पर्‍याे


वर्षको जारी मनसुनमा देशभर सरदरमा औसतभन्दा कम वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको हावापानी विश्लेषण शाखाका अनुसार हालसम्म देशभर ८५ दशमलव चार प्रतिशत वर्षा भएको छ ।

शाखाका मौसमविद् सुदर्शन हुमागाईंका अनुसार गत जेठ १८ देखि यही साउन १४ गतेसम्म छ सय ४३ मिलिमिटर वर्षा भएको छ । उनले अघिल्लो वर्षको सोही अवधिको तुलनामा देशभर सरदरभन्दा कम वर्षा भएको जानकारी दिए ।

“देशभर हालसम्म सरदरको ८५ दशमलव चार प्रतिशत वर्षा भएको छ । जुन सरदरभन्दा कम वर्षा हो”, मौसमविद् हुमागाईंले भने ।

मनसुन अवधिभर नेपालमा एक हजार चार सय ६२ मिलिमिटर वर्षा हुने गरेको शाखाले जनाएको छ । यसअघि विगतका वर्षभन्दा यो वर्ष सरदरमा देशभर औसतभन्दा कम वर्षा हुने प्रक्षेपण गरिएको छ । 

शाखाका अनुसार यो बीचमा विशेषगरी तराईका भू–भागमा सरदरभन्दा कम वर्षा भएको छ ।

त्यसैगरी ओखलढुङ्गा, जिरी र जोमसमका मौसम मापन केन्द्रको आँकडामा  सरदरभन्दा बढी वर्षा भएको छ । ताप्लेजुङ, काठमाडौँ, पोखरा, दिपायल र जुम्लामा सरदरको हाराहारीमा वर्षा भएको छ भने सिमरा, जनकपुर, भैरहवा, नेपालगञ्ज, धनगढी र सुर्खेतमा सरदरभन्दा कम वर्षा भएको छ ।
     
मौसम पूर्वानुमान महाशााले मुख्यगरी देशभरका विभिन्न २० मौसम मापन केन्द्रको तथ्याङ्कका आधारमा मौसम पूर्वानुमान गर्दै आएको छ ।

मौसम विभागले सन् १९९१ देखि २०२० सम्म ३० वर्षको अवधिको तथ्याङ्गका आधारमा विभिन्न मौसम मापन केन्द्रबाट आएको विवरणका आधारमा मौसम विवरण दिने गरेको छ ।

नेपालमा मनसुन यस वर्ष जेठ ३१ गतेदेखि प्रवेश गरे पनि देशभर फैलिन झन्डै दुई साता लागेको थियो । मनसुन प्रभावकारी नहुँदा पछिल्लो एक साता राम्रोसित वर्षा हुन सकेको थिएन । विगत दुई दिनयता भने देशका सबैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । 

Logo