सार्वजनिक निकायको खरिद वातावरण प्रतिस्पर्धी बन्नुपर्छः सचिव रेग्मी

सार्वजनिक निकायको खरिद वातावरण प्रतिस्पर्धी बन्नुपर्छः सचिव रेग्मी


सार्वजनिक निकायको खरिद वातावरण प्रतिस्पर्धी र पदाधिकारीमा खरिद तत्परता भए नभएका विषयमा सार्वजनिक खरिद अनुगमन कार्यालयले सघन अनुगमन गर्ने भएको छ । 

सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव डा दामोदर रेग्मीले खरिद वातावरण प्रतिस्पर्धी र पदाधिकारीमा खरिद तत्परता नभएकोलगायतका पक्षमा ध्यान दिन सार्वजनिक निकायको ध्यानाकर्षण गर्ने जानकारी दिए । उनले भने, “सार्वजनिक खरिदसम्बन्धी कानुनी व्यवस्था हुँदाहुँदै सार्वजनिक निकायको खरिद वातावरण प्रतिस्पर्धी र पदाधिकारीमा खरिद तत्परता नभएका कारणले पूँजीगत खर्चको प्रभावकारिता हुन सकेको छैन ।” 

कार्यालयले सबै सार्वजनिक निकायको खरिद योजना, खरिद विधि र समयमै खरिद कार्य अघि बढाउन सार्वजनिक निकायले अपनाएका तत्परता योजनाका बारेमा खरिद इकाइ प्रमुख र योजना शाखा प्रमुखसँग नियमित अन्तक्र्रिया गर्ने उनले बताए । खरिद कानुनलाई समसामयिक बनाउन तयार गरिएको खरिद कानुनको मस्यौदामा छिटै सरोकारवालासँग छलफल गरी अन्तिम रुप दिइने सचिव डा रेग्मीले जानकारी दिए ।
 
सार्वजनिक खरिद महत्वपूर्ण विधा भएकाले यसको सशक्तीकरण गर्दै संस्थागत साख अभिवृद्धिमा ध्यान दिनुपर्ने देखिएको उनको भनाइ छ । यसैबीच कार्यालयले निर्माण व्यवसायीको मागका सम्बन्धमा हरेक विषयलाई छलफल गरी कानुनसम्मतरुपमा समाधान खोजिने सचिव रेग्मीले बताए ।

Logo