यौन दुरुपयोग अभियोगमा मनोज राई डेढ लाख धरौटी बुझाएर रिहा

यौन दुरुपयोग अभियोगमा मनोज राई डेढ लाख धरौटी बुझाएर रिहा


बालयौन दुरुपयोग अभियोगमा पक्राउ परेका बारा निजगढ नगरपालिका वडा नम्बर २ सिङगौलका मनोज राई अदालतमा डेढ लाख धरौटी बुझाएर रिहा भएका छन् । 

जिल्ला अदालत बाराको आदेशमा राई सोमबार डेढ लाख धरौटी बुझाएर रिहा भएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए । स्थानीय एक १३ वर्षीया किशोरीमाथि १ महिनाअघि यौन दुर्व्यवहार गरेको उजुरीपछि राईले निजगढ प्रहरीमा आत्मासमर्पण गरेका थिए । 

घटनाको अनुसन्धान पुरा गरेर ४ दिनअघि प्रहरीले राईको अभियोग पत्र सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा पेस गरेको थियो । उनीविरुद्ध बाल यौन दुरुपयोग अभियोगमा जेल सजायको माग दाबीसहित मुद्दा दायर गरिएको निरीक्षक श्रेष्ठले बताए । 

आफ्नो पसलमा सामान किन्न आएकी एकजना छिमेकी बालिकामाथि यौन दुर्व्यवहार गरेको भन्दै उजुरी परेपछि राईलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । सोही वडाका वडा अध्यक्ष राजन श्रेष्ठ स्थानीय किशोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पुर्पपक्षको लागि एक वर्षदेखि वीरगन्ज कारागारमा छन् ।  

Logo