#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1431706820801047476302150
नेपाल9081

कोरोनाले सिकाएको सर्तकताको पाठ

  • ज्ञानमणि नेपाल कालोटोपी

गएको डिसेम्बरको अन्तिम हप्ता हावा जसरी नै एउटा समाचार फैलियो, चीनमा कोरोना भाइरसको संक्रमण सुरु । झट्ट सुन्दा सामान्य जस्तै लाग्यो । कुनै एउटा भेगमा होला, केही दिनमा आफैं नियन्त्रणमा आउँछ, मान्छेहरूले यस्तै सोचे । तर परिणाम साेचेको भन्दा फरक आयो । कोरोनाले साँच्चै नै त्रास मात्र फैलाएन, यतिबेला चीनको मात्र होइन विश्वकै ध्यान खिचेको छ ।

कसरी फैलियो यस्तो प्राणघातक रोग, मानिसहरूले यसको मेसो पाउन सकेनन् । दिन प्रतिदिन मर्नेहरूकाे संख्या थपिंदै गयो । करिब डेढ महिनाको अवधिमा यसकै कारण विश्वमा ज्यान गुमाउनेको संख्या १ हजार ३५७ पुगिसकेको छ । जसमध्ये चीनमा मात्र १ हजार ३५५ जनाको मृत्यु भइसकेको छ । विश्व स्वास्थ्य सङ्गठनले ‘कोभिड १९’ नाम दिएको यस भाइरसबाट प्रभावित हुने र मृत्यु हुनेहरूको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ ।

भाइरसबाट प्रभावित हुने क्रम विभिन्न देशमा फैलिन थालेपछि आर्थिक क्रियाकलापमा समेत असर पर्न थालेको छ भने आम नागरिक त्रसित अवस्थामा रहेका छन् । कोरोना भाइरसका कारण हुवेई प्रान्तमा बुधबार मात्रै थप २ सय ४२ जनाको मृत्यु भएको समाचार छ । यसबाट प्रभावित हुनेको सङ्ख्या चीनमा मात्रै ४४ हजार ६ सय पुगेको छ । यस मध्ये ५ हजार भन्दा बढी गम्भीर अवस्थामा रहेको पनि एजेन्सीहरूले बताएका छन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले जेनेभामा भाइरसका बारेमा विशेष सम्मेलनको आयोजना गरेको थियो । त्यही सम्मेलनमा यो भाइरसको नाम ‘कोभिड १९’ राखिएको घोषणा गरिएको थियो । को भन्नाले कोरोना, भीआई भन्नाले भाइरस र डी भन्नाले डिजिज (रोग) भन्ने बुझाउन र सन् २०१९ मा देखि सुरु भएकोले ‘कोभिड’को पछाडि ‘१९’ लेखिएको उनीहरूले बताएका छन् ।

यो भाइरस सन् २०१९ को डिसेम्बरमा चीनको उहानबाट देखिन थालेको हो । यसको पहिचान पहिलो पटक डिसेम्बर ३१ मा भएको थियो । यो कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि विश्वभरीका नेताहरूले सहयोग गर्ने आश्वासन चीनलाई दिएका छन् । गरिरहेका पनि छन् ।

सहयोग आउँदै गर्ला, चीनले आफ्नै तरिकाले नियन्त्रणको प्रयास पनि गरेको छ । ६ दिनमै एक हजार शय्या भएको अस्पताल निर्माण गरेर विश्वलाई चकित बनाएको चीनका लागि कोरोना भाइरस टाउको दुखाईको विषय मात्र भएको छैन, समग्र स्वास्थ्य अवस्थालाई नै चुनौती भएको छ । यसलाई संकेत गर्दै चिनियाँ राष्ट्रपतिले कोरोना चीनको लागि राक्षस भएको र यसलाई जसरी पनि निर्मुल पार्ने बताइसकेका छन् । चीन जस्तो समृद्ध राष्ट्रका लागि त यति ठूलो चुनौती बनेको छ भने यस्तो समस्या नेपाल जस्तो देशमा देशमा सुरु भयो भने त्यो अवस्था के होला, यो कल्पना गर्न पनि गाह्राे छ ।

समस्या आउँछन्, सधैं आएकै पनि हुन् । समाधान पनि होला । तर तिनीहरूलाई समाधान गर्न के गर्न सकिन्छ भनेर चाहिं गम्भीर रुपमा सोच्नै पर्ने अवस्था छ । चीनबाट सुरु भएको कोरोना यतिबेला विश्वका २८ देशमा फैलिएको छ । सबैतिर चासोको रुपमा लिइएको यस्तो प्राणघातक रोग अन्य देशमा पनि फैलिने क्रममा छ । सुरुमा सामान्य रुघाखोकी जस्तो लाग्ने यो रोग कालान्तरमा निकै खतरापूर्ण रहने गरेको छ ।

कोरोना र नेपाल

नेपालमा अहिले सम्म एक जनामा यस भाइरसको समस्या देखिएको छ । यद्यपी ती व्यक्तिलाई अस्पताल र परिवारको उच्च निगरानीमा राखिएको भनिएको छ । उनलाई सार्वजनिक गरिएको छैन । शंकास्पद अन्य धेरैले परिक्षण गराएपनि यसको लक्षण देखिएको छैन । तर यसले नेपाललाई पनि नराम्ररी असर भने पुर्याएकै छ । गतवर्ष चीनबाट नेपाल भ्रमणमा आएका करिव २ लाख पर्यटकहरू यसवर्ष आउन सक्ने अवस्था नै छैन । जबकी नेपालले यहि वर्ष ‘नेपाल भ्रमण वर्ष’ अभियान सुरु गरेको छ । चीनबाट मात्र होइन, चीनसँगै सीमाना भएकाले अरु देशबाट नेपाल आउने पर्यटक पनि डराइरहेका छन् । यसले एकातिर नेपालको पर्यटन क्षेत्रलाई समस्या पारेको छ भने अर्कातिर नेपालमा निर्माण सुरु भएका अधिकांश हाइड्रो पावरमा चिनीयाँ कामदारहरू रहेका छन् । उनीहरू नयाँ वर्ष मनाउन चीन गएका अहिलेसम्म नेपाल आउन सकिरहेका छैनन् , यसर्थ निर्माणका कामहरू पनि प्रभावित भइरहेको अवस्था छ । यति मात्र होइन, चीनतिरका सबै नाकाहरू ठप्प हुँदा दैनिक करोडौंको भन्सार पनि प्रभावित बनेको छ ।

यो समस्या त छँदैछ, अर्को समस्या भनेको चीनमै रहेका १८० जना नेपालीलाई सरकारले स्वदेश ल्याउँदैछ । उनीहरूलाई भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरणको कम्पाउण्डमा क्वारेन्टाइन राखिने सरकारको तयारी छ । यसप्रति स्थानियले चर्को विरोध गरिरहेका छन् । सरकारले कुनै जानकारी नै नदिइ र बिना तयारी संक्रमित ठाउँबाट ल्याइने नागरिकलाई राजधानी जस्तो घनावस्तीको वीचमा राख्ने भनेपछि स्थानियहरू विरोधमा उत्रिएका हुन् । यद्यपी सरकारले बाहिर आएजस्तो जोखिम नहुने र संक्रमित भएकाहरूलाई नल्याउने जनाइरहेको छ । तर भक्तपुरवासीहरू सरकारको निर्णयले गर्दा चिन्तीत मात्र छैनन्, बसाईं नै सरेर हिड्ने तयारीमा रहेका समाचारहरू पनि आइरहेका छन् । यस्तो संवेदनशील विषयमा सरकारले नागरिकलाई बुझाउन नसक्दा आएको समस्या हो यो ।

पूर्व तयारी कस्तो रहनु पर्छ ?

जुन सुकै देशको सरकारले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा पूर्वतयारी त गर्नै पर्छ । तर नेपाल जस्तो देशमा यसतर्फ सोच्न कसको ध्यान जाने ? हरेकवर्ष वर्षायाममा तराई डुबानमा पर्छ भन्ने सरकारलाई थाहा छ तर पूर्वतयारी नहुँदा वर्षेनी सयौं नागरिकको ज्यान बाढीपहिरोकै कारण जान्छ , खोइ पूर्वतयारी ? हरेक वर्ष हिउँदमा शितलहर र जाडोले सयौं नागरिकको ज्यान जान्छ । यो पनि सरकारलाई थाहा छ , तर पूर्वतयारी कहिले पनि गर्दैन । नियमित जस्तै हुने यस्ता प्राकृतिक प्रकोपको त सरकारसँग पूर्वतयारी छैन भने भवितव्यका रुपमा आउने स्वास्थ्यसंकटका लागि नेपाल सरकारले संवेदनशीलता अपनाएको पाईंदैन । यद्यपी कोरोनाको समस्यातर्फ लक्षित गर्दै सीमाहरूमा हेल्पडेस्क खोल्नेदेखि लिएर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ३२ शैया छुट्याइएको छ । उता खरिपाटीमै पनि १९९ जना अट्ने गरि तयारी गरेको छ । यसलाई भने सकारात्मक नै लिनु पर्ने हुन्छ ।

यो त समस्या आइसकेपछि गर्न थालिएको काम भयो तर पूर्वतयारी भने कुनैपनि समस्याका लागि जरुरी छ । चीन जस्तो समृद्धमुलुकले पूर्वतयारी गरेको थिएन होला र ? तैपनि अहिले कोरोनासँग लड्न उसलाई विश्वयुद्ध नै गर्नु परेको छ । छिमेकी देशमा यस्तो छ भने त्यो समस्या हाम्रो तिर आउन पनि त सक्छ नि, सरकारले बेलैमा सर्तकता अपनाउनु जरुरी छ ।

भाइरल संक्रमणको बिगत

विश्वमा भाइरल संक्रमणको बिगत त्यति पुरानो छैन । ३ वर्ष पहिले अफ्रिकामा महामारीको रुपमा फैलिएको इबोला भाइरसले त्यहाँ ५ हजार भन्दा धेरैको ज्यान गएको थियो । त्यतिबेला अफ्रिकालाई यसको रोकथाम गर्न निकै गाह्रो भएको थियो । केहि महिनापछि नियन्त्रणमा त आयो तर यसले सबैलाई त्रासमा डुवाएर गयो । सन् २००३ मा चीनमै संक्रमणको रुपमा फैलिएको सार्स रोगका कारण ७ सय ५४ जनाको मृत्यु भएको इतिहास छ । अहिले देखा परेको कोरोना पनि सार्सकै अर्को रुप हो भनेर मानिएको छ । तर कोरोनाले सार्सको भन्दा पनि भयानक रुप लिने लक्षण देखाएको छ । नेपालमै पनि मौसमी रुघाखोकी, ज्वरो, झाडापखाला, स्वाइनफ्लु, डेंगु जस्ता स्वास्थ्य समस्या त बेला बेलामा देखिंदै आएका हुन् । मौसम अनुसार हुने यस्ता समस्याहरूले पनि मानिसहरू मर्ने क्रम बढीरहेको छ ।

जे होस् , प्राकृतिक विपत्तीहरू बाजा बजाएर आउँदैनन् । तर पूर्वसर्तकता अपनाउन भने जरुरी छ । अहिले संक्रमणको रुपमा फैलिएको कोरोनाले हामीलाई सर्तक रहन सजग गराएको छ । एउटा शिक्षा पनि दिएको छ । तर यो कामना गर्न सकिन्छ कि यस्तो समस्या अरु ठाउँमा नहोस् । सबैले यसबाट केहि कुरा सिक्न र चेतना फैलाउन सकुन् ।

kalotopi215@gmail.com

 

 

सम्बन्धित समाचारहरु