#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व73856235006547239156317
नेपाल5041

द्वन्द्वको घाउ र जनयुद्ध दिवस

  • रमेश भट्टराई ‘सहृदयी’-

‘जनयुद्ध दिवस’ को सम्झनामा त्याग र बलिदानीका गर्वान्वित वीर रसयुक्त वाणी बोलिनु एक हदमा सार्थक देखिन्छ । युद्ध गर्नु रहर होइन बाध्यता पनि हुन सक्छ । आफू सही र हिजोको खराबीको तर्क भिरेर आफूमैत्री व्याख्या गर्दा मात्र उपलब्धि हो भन्न सकिएला त !

केवल विसङ्गतिको एउटा आभाले पोल्छ जुन केही भएका उपलब्धिलाई छोपिदिने कारक बनेका हुन् । द्वन्द्वको नेतृत्व गर्ने हिजोको समूह नै आज क्रान्ति नै नगरेका व्यक्ति जसरी नै आ–आफ्ना झोली झ्याम्टा बोकेर दगुरेका छन् । सबैलाई नेता नै बन्नु परेको छ । मौरीका राना धेरै हुँदा छुट्टिएर जसरी बाँडिँदा हिजोको त्याग बाँडियो, जनताको विश्वास र अभिलासा चुँडियो । जनतामा घात गरियो– अहँ यो कुरा त सर्लक्कै ढाकछोप हुन्छ तब मानवीय संवेदनामा हतौडा प्रहार हुन्छ ।

शान्तिभूमि नेपालमा रगतका खोलाको होली खेलेर सानो सुखी संसारलाई बलात्कार गरेपछि चुपचाप बसेका एक दर्जन बढी सालहरूमा कति आँसु बगेका होलान्, उपलब्धिका पछाडि गुमाएका गुमनामले प्रश्न गरिरहन्छ । आजसम्मका हरेक उपलब्धिलाई युद्धका डोराले बाँधेर राखेको छ । तर, हरेक सफलतालाई एकता र समझदारीले नै निर्णायक भूमिका प्रदान गरेको हुन्छ । माओवादीले सङ्घर्ष गर्यो, केही पाएको त छ तर धेरै गुमायो । किनकी हिंसात्मक युद्धले ल्याएका खुशी सबैको हितमा हुँदैनन् । त्यसमा पनि नेपाल त क्रान्तिभूमि स्वाभिमानका लागि हो तर यो त पवित्र शान्तिभूमि पनि त हो ।

बिर्सनुहुन्छ त– हिजो जनताको बिचल्ली भएको थिएन र ? – लुकाएर बिर्सन पनि त मिल्दैन । तत्कालीन माओवादीले आफ्नै कार्यकालमा पनि बेपत्ता पारिएका, अन्यायमा परेका नेपाली जनताको पीडाको सम्बोधन हुने मार्गले चित्तबुझ्दो स्थान ओगटेन । धेरैले विनाकारण पनि जोखिम मोल्न सकेनन् । हो, केही पाउन थुप्रै गुम्यो तर जनताले अभैm विगतभन्दा बढी भ्रष्ट्राचारको लप्का व्यहोरिरहनु परेको छ । सर्वहारा वर्गको नेतृत्व गरेको पार्टीभित्रका उच्च ओहोदा ओगटेका व्यक्तित्वले नै सर्वहारा वर्गकै पसिना चुस्न आनाकानी गरेन– इतिहास साक्षी छ । परिवर्तन के हो ? आज पनि जनता ओढारमा बस्छन् । भिरमा खोस्रेर मकै रोप्छन् तर तीन महिना खान पुग्ने अन्न घरमा हुँदैन । सत्य हो– हिमाली क्षेत्रमा जनताको पीडा उस्तै छ नियाल्दा ।

माओवादी जनयुद्धले जनतामा चेतनाको एउटा दियो बालेको कुरा स्वीकार्य छ । सम्मानित छ तर जनताले कत्रो आशा राखेका थिए, आखिर त्यही सङ्घर्ष गरेको भनिएको पाटी नै आज धुजा–धुजा भएर च्यातिन पुग्यो । केवल सम्मान, सम्पत्ति र शक्तिका लागि । अधिकारको बाँडफाँडमा जहानिया शैलीलाई त्याग्ने हिम्मत पनि देखिएन । सत्तालिप्सा र स्वार्थले जनताको बिल्लिबाठ पारेर जुन नेता जङ्गलमा बस्थे, लुक्थे, ज्यान जोगाउँथे आज तिनै वरिपरि सुरक्षागार्ड राखेर गाडीमा हिँड्छन् । तब त जनताले चाहेको आशामा निराशा थपिँदै गयो । त्यसमध्येकै निराशा रहेछ– द्वन्द्व पीडितका आँसुको भेल । हुन त यो विगतमा गर्व गर्न चाहँदा गर्व होला नै तर नेपालले आशा गरेको परिवर्तन नपाउँदा उस्तो नाक फुलाउनुको सार्थकता दोषरहित छैन ।

छोराको हत्यारालाई कारबाही हुनुपर्ने माग राखेर वीर अस्पतालको शøयामा अनसन बसेका गंगामाया र नन्दलाल दम्पत्तिको पीडा,द्वन्द्व कालमा पारिवारिक बिचल्ली भएका जनताको आँशु कति हृदयविदारक छ । हिजोको सङ्क्रणकालीन घाउ र संविधानको निर्माणसम्मपीडितमा आशा थियो । चुनावका बेला कर्मकाण्डे घोषणापत्रले बोलेको आवाज थोत्रियो आज । पर्दामा नसमेटिएका द्वन्द्वपीडितका आँसुको सम्बोधन कसरी भयो?छोराछोरी द्वन्द्वकालमा बेपत्ता पारिएका बृद्ध बाआमालाई पानी तताएर दिने कोही छैन अनि आज उपलब्धिका चुरीफुरीमा घरदैलो हेर्ने बुद्धि कहाँ कसलाई आयो ?

नेता त जतातिर बटारिए पनि नेतै छन् तर ती हिजो समर्पित जनताको अवस्था के छ ?सरकारले माओवादीबाट मारिएका १ हजार ३४ सेना, १ हजार ४ सय ९४ प्रहरी तथा ३ सय ७ सशस्त्र प्रहरीका परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिने घोषणा पनि ग¥यो । माओवादी पक्षका सहिद परिवारलाई १० लाख दिइयो पनि । यही द्वन्द्वकालीन दश वर्षमा शान्ति तथा पुननिर्माण मन्त्रालयका अनुसार सुरक्षाकर्मी, लडाकु र सर्वसाधारण समेत १७ हजार ८ सय ८६ जना मारिए, १ हजार ७ सय ३० नेपालीले वेपत्ता हुनुप¥यो अर्थात् १९ हजार ६ सय १६ जनाको मानवीय क्षति गराइयो । आखिर नेपाली दाजुभाइद्वारा नेपाली मारिए, नेपालीलाई बेपत्ता पारिए । तत्कालीन सङ्घर्षरत माओवादीले दिएको त्रासका कारण करिब डेढ लाख मानिसले विस्थापित बन्नुपर्यो ।

वास्तवमा द्वन्द्वकालका कारणले शहरीकरण बढ्यो । धेरै मानिस सुरक्षाका लागि शहरतिर कोचिएर बसे अनि गाउँ फर्केनन् । अर्कोतिर नेपालको ३८ अर्ब, ३३ करोड, १२ लाख ५० हजार रुपैयाँ बराबरको भौतिक क्षतिको तथ्याङ्क भए पनि व्यक्तिगत र सरकारी सम्पत्ति, सवारी साधनको क्षतिको यकिन विवरण छैन । तर, पीडित परिवारको घाउमा मलम गर्न कुनै निकायले दैलोमा जाने आँट र सोच राखेको छ त ?

सोच्नुपर्छ: द्वन्द्वकालमा कैयौँ हत्या भए, अपहरण गरिएका छन्, बलात्कारजस्ता कुत्सित दानवीय व्यवहार भए । शारीरिक, मानसिक, भौतिक सबै खाले प्रहार भए । अत्याचारको चरम उत्कर्षका कारण निरीह, निर्दोष जनताले पीडाको कहालीलाग्दा वेदनामा मुछिइरहेका तथ्य छन् । दशौँ वर्ष त्रसित देशलेआज पाएको उपलब्धिभित्र के गर्व मात्र गरिरहेको होला?कयौँ नेपालीका सिन्दुर पुछिए, काख रित्तिए दुनियाँले युद्धले ल्याएको प्राप्तिमा गर्व गरि नै रह्यो, अलिकति खुसीमा चरक्क चिरिएको छातिले सरापिरह्यो ।

आज पनि सराप्दै छ, त्यो व्यक्ति जसले आफ्नो बाबाको तस्विरलाई हेरेर मझेरीमा कुरेको कुरा बल्झाइरहन्छ । आमाको लासमा रगतपच्छे पारेर नारा घन्काएको ध्वनिलाई सम्झिरहन्छ । कैयौँ आमाले सन्तान वियोगको मलीन आवाजको विलौनासँगै प्राण छोडिसकेका होलान् । अनेक विषयमा आशा भिराएर झुलाइएका छन्, विकासको मार्ग गफमा खुलेको छ तर देशले राजनैतिक सोचलाई बदल्न सकेको लाग्दैन । घरको सदस्य बेपत्ता भएको परिवार रोइरह्यो, आशा बोक्यो तर हात्ती आयो हात्ती आयो फुस्सा भइरह्यो । कति पाउनेले राहत पाए, कतिले नपाए पनि हुनेहरू रमाए त धेरै जनता हार खाएर बसिरहेकै छन्, सबैलाई थाहा भएकै विषय हो ।

वर्षेनी घुमेर आउने ती पापी चाडबाडमा चिरिएका छातिलाई कसले न्याय दिन सक्यो । कहाँ दुख्छ घाउ, त्यो अचानाको पिर खुकुरीलाई थाहा हुने अवस्थै छैन । निरीहका छातिमाथि टेकेर सत्तामा बस्दै डुक्रिएका आवाजसँग के शान्तिका बाटिकामा फूल्न सक्ने सुगन्ध फैलिएको होला ? त्यसका पछाडि भइरहेका रोदन, वेदना र त्यो निरीह चित्कारलाई कसले नियालेको छ र ?कति स्कुले बच्चाले पढ्न पाएनन्, कैयौँको जायजेथोमा अत्याचार गरियो, कैयौँ सुत्केरीले मृत्यु शयामा प्राण आहुति दिए, कतिले पालैसँग बलात्कार गरे, रगतपछ्छे लासमाथि बलात्कार गर्ने पाशविकतामा कुन हृदय भक्कानिएको होला । तसर्थ युद्धले पीडाकै आगो बाल्छ, शान्तिले शान्तिकै बिउलाई फलाउँछ ।

तीतो सत्य हो–कतिको व्यापार गुम्यो, जायजेथोलाई सर्वनाश गरियो । चाहे त्यो राज्य पक्षबाट भयो या त द्वन्द्वकालीन माओवादीबाट भयो तर त्यो भएकै हो । आज जबर्जस्ती बिर्साइए पनि टाउकाको मोल तोकिए तर यस्ता भयानक युद्धसँग मात्रै परिवर्तनको खुबी अड्केको अवश्य होइन रहेछ, समयले सिकाउँदैछ ।

बुद्धजन्य शान्तिको शङ्खघोष गर्न नसक्ने हामी, जनकको राजनीति बुझ्न नचाहने, हिटलरजस्तो प्रवृत्तिको अनुशरण गर्न जान्ने तर रामराज्यको न्याय अनि जनसेवाको आदर्श नीति जान्नै नचाहने, सत्यवादी युधिष्ठिरको रानजीति, विदुरको अर्थनीति, राजनीति र कुटनीति नबुझ्ने हामीलाई पाशविक हिंसात्मकतासँग किन चासो बढिरह्यो पश्चाताप गर्न सक्नुपर्छ । ती पोलेको घाउमा कतिले मलमपट्टि पाए, कतिले पाएनन् भन्ने विषयमा अरुले सोच्न नसके पनि कमसेकम माओवादी नेतृत्वको सरकारले समेत् बुझ्न नसकेको भान हुन्छ । अब पीडा उही जोडिन्छ, ती बेपत्ताका परिवारले, द्वन्द्व पीडितको टुङ्गो नपाएका निरीह परिवारले त्यो आँशु कसका सामु बहाउने, त्यो बिलौनालाई प्रभावकारी सम्बोधन कसरी भयो ?

न्याय व्यवस्थापन गर्न गठित आयोगले त कानुनी मानवीय आधारलाई केलाउला तर संवेदनाभित्र पसेर नियाल्न पीडितको आजको अवस्थालाई हेरिनुपर्छ । किनकी आज त अझ न्यायालयलाई शक्ति र ओहोदाको कालो बादलले ढाकेर न्यायको टोकरीमा स्वार्थ, झुट र निरङ्कुश अमानवीय गुणका विषाक्त फलहरू सजिएका तीता सत्य छन् । समस्यामा मलमपट्टि लगाउनैका लागि बेपत्ता आयोग बने तर ती मानव अधिकार उल्लङ्घनका घटनालाई छानबिन गर्न नसकेका तीता सत्यले पछ्याएकै छन् । संक्रमणकालीन न्याय व्यवस्थापनलाई कछुवा गतिमा हिँडाएर आँखामा छारो हालिएका वेदनामा उपलब्धिका कुराले नाक फुलाइनुमा कुनै अर्थ रहला र । आजसम्म कतिले शान्ति पाए, गम्भिर विषय छ । न्याय र अन्यायको आगो कसरी बल्दै छ त्यो भोग्नेले बोध गर्छ ।

मानव अधिकार उल्लङ्घनका कैयौँ घटनामा शक्ति र सामर्थ्यको तानाशाही दबाब भएका पीडितका गुनासा खोलाका गीत बनिरहनु लज्जास्पद विषय हुन् । उपलब्धिलाई पोल्टामा राखेर सबैजसो पार्टीले आफू क्रान्तिकारी, परिवर्तनकारी, जनमुखी भएको घोषणापत्र बोकेर घरदैलोमा भोटको भिख माग्न पुगे तर ती गुनासा कहाँ अड्किए थाहा छैन ।

पीडकको पहिचान र पीडितलाई न्याय दिने कानुनको दर्बिलो आधारमा देशको उच्च वर्गले कानमा तेल हालेर बस्दा आज भनिएका लोकतन्त्र, गणतन्त्रका उपलब्धिलाई गम्भिर भएर विश्लेषण गर्ने बेला आएको छ । संयुक्त राष्ट्र संघले सर्वोच्चको आदेशानुसार ऐन संशोधन नभएसम्मका लागि आयोगलाई मान्यता नदिनुका साथै सहयोग नगर्ने विज्ञप्ति दिएको पनि थियो । फेरि एउटा अचम्मको विषय सरकार किन जागरुक बन्न सकेन ?आखिर दोषी कसरी पत्ता लाग्ने हो अनि त्यसका लागि कानुन के बनेको छ, कारबाही कसरी हुन्छ ? के यस विषयमा पनि पार्टीले दोषीलाई काँध हालेर पीडितलाई मुर्गा बनाउने खेल रच्ने त होइन?

द्वन्द्वपीडित परिवार शिक्षा कार्यक्रम, घाइतेहरूको सरकारी अस्पतालमा निःशुल्क उपचार गराउने, उच्चस्तरीय सिफारिस समिति गठन गरी शहीदको मापदण्ड निर्धारण, सहीद पहिचान तथा सिफारिस गरी घोषणा गर्नेसम्मका प्रतिबद्धता चार वर्ष अघि नै भएका हुन् ।सङ्क्रमणकालीन न्यायका लागि सत्य निरूपण तथा मेलमिलाप आयोग तथा बेपत्ता छानबिन आयोगद्वारा शहीद तथा बेपत्ता व्यक्तिका परिवारलाई परिचय पत्र उपलब्ध गराउने नीति पनि त्यति बेलै बनेको हो । यसमा द्वन्द्वका कारणबाट क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणका विषय पनि समाहित हुनुपर्ने विषय लुक्दैन ।

तर, कतिपय विस्तृत छानबिन भएका विषयमा समेत् उचित कानुन नहुँदा सोधपुछ गर्ने स्थिति समेत् नरहनु दुःखद् र लज्जास्पद विषय बनेको छ । बेपत्ता बनाइने कार्यको अपराधिकरण बनाइनेसम्मका विषय नहुनु पीडाप्रद पक्ष हो । हिजो जानाजान या अनजानमा भएका कमजोरीलाई अब पनि कुनै सरोकारवालाले ढोकर बस्नु न्यायसङ्गत हुन सक्दैन । पीडितका गुनासासँग हातेमालो गर्ने स्थितिको अभाव हुनुको पछाडि असंवेदनाको पराकाष्ठा भेटिन्छ ।

आज देखिएका र भन्दै आएका उपलब्धिमा बाठाले नै फाइदा लिए तर कमसेकम मर्ने त मरिगए बाँचेकाहरूको आवाजमा आँसुमा होली खेलिनुहुन्न । ती सबै हाम्रै नेपाली सन्तति हुन् । युद्धले पोलेको घाउमा मलम लगाइनु आवश्यक छ । तिनका आवाज खोलाको गीत नबनून् । यस्तो गम्भिर विषयलाई सम्बोधन गर्नु आजको अवस्थामा सरकार र सरोकारको दायित्व हो । यसो नहुँदा यो देशले पाएको सिङ्गो उपलब्धिलाई उपहास गरे सरह हुन्छ भन्दा फरक नपर्ला ।

सम्बन्धित समाचारहरु

ताजा समाचार