#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1119727852919743252316342850
नेपाल152593290846143

बिर्सन र पाउन नसकेकी प्रियसीलाई पत्र

‘न बिर्सें तिमीलाई न पाएँ तिमीलाई
बिना अर्थ दिलमा सजाएँ तिमीलाई’

सायद अन्जु पन्तले यो गीत मेरैलागि गाएकी हुन् । हो, तिमीलाई पाउन मैले के मात्रै गरिन र तर मेरो सारा अथक प्रयास बालुवामा पानी जस्तै सुकेर गयो । तिमीलाई पाउन नसक्नुको पीडाले भन्दा तिमीलाई भुल्न नसकेको पीडाले चर्चराइरहेको छ, यो मन ।

कुनै कुरा नपाउने पक्का भएपछि सम्झेर घिट्घिटाइरहनु भन्दा बिर्सिनु सही हुन्छ । हो, यही मन्त्रको मनन गर्दै तिमीलाई बिर्सिन अनेकन प्रयासहरु गरेँ । बरु म आफूलाई त्याग्न सक्ने भएँ तर अहँ तिमीलाई बिर्सिन नसक्ने भएँ । प्यार नै प्यारले भरिएको यो मनमा घृणा नै घृणाको भाव जगाउँदा पनि तिम्रो यादहरु तर्किएनन् । बरु झनै उर्लिएर यी मेरा नशा नशामा बग्न थाले ।

पहिले म तिम्रो प्रेमिल मिलनको क्रेजमा थिएँ तर अहिले विछोडको ‘डिप्रेशन’मा छु । मेरो परेलीको हरेक झिम्काइमा तिम्रो स्मृति सल्बलाउछ । यी नयनहरुले देख्ने रंगहरुमा पनि तिम्रै ‘ड्रेसअप’ झल्झल्ती आउँछ । तिमीले लगाएका कपडाको रंग मात्रै देख्दा पनि तिमी नै हो कि भनेर आँखाहरु झुक्किन्छन् र थप नियाल्न खोज्छन् विगतका स्मृतिहरु ।

पाइतालाका हरेक पदचापले तिम्रै बाटो पछ्याउँछ । तिम्रो याद आउनासाथ मेरो मुटुले धड्कनको गति नै बिर्सन्छ । यी नाकले तिम्रै सुवाशिनी खोजिरहन्छ । जता जे सुने पनि यी कानहरु तिम्रै स्वर झैं लागेर ठाडाठाडा हुन्छन् ।

मायाको पर्खाइमा रहेका मेरा निधार र गालालाई त प्याकप्याकी बनाएर गइहाल्यौ, त्यसैले सुकेका छन् तिनीहरु अचेल । तिमीलाई कसिलो र न्यानो स्पर्श दिन तम्तयार अंगालो, मिठो माया दिने यी हातका औंलाहरु पनि ‘तिमी खोई ?’ भनेर मलाई झस्काइरहन्छन् ।

मेरा हरेक अंग प्रत्यंगहरुको आशा, अभिलाषा, विश्वास, चाहनालाई विश्वाघात गरी निराशामा बदलिएर गएपछि मेरो हालत के होला ? म जस्तो अचानोको पीडा तिमी जस्ता वैगुणी खुकुरीलाई के थाहा ! कुनै बेला तिमीलाई प्यार नै प्यार गर्ने यो मन मष्तिस्कमा अचेल कहाँबाट कसरी आयो तिमीप्रतिको आवेश, आक्रोश, घृणा ?

तिमीले आफ्नो बाचा कसम नतोडेको भए, मेरो विश्वासमाथि विश्वासघातको तरवार नलगाइदिएको भए ममा यस्तो भाव आउदैनथ्यो कि ! हिमालबाट बग्ने कन्चन पानीमा मान्छेले फोहोर मिसाएपछि ‘दुषित पानी’ बने झै मेरो अटल मायामा तिमीले विश्वासघातको विष घोलेपछि ममा तिमीप्रतिको घृणाभाव जागेको हुनुपर्छ ।

त्यसैले त पहिले पहिले पत्र लेख्दा प्यार नै प्यारका शब्दहरु पोखिन्थे आज आवेश, गुनासो र असन्तुष्टीका शब्दहरु पोखिए । तिमीप्रति जूनीभर प्यारका शब्द खर्चिन चाहन्थे तर तिमीले नस्विकारेपछि मैले मात्रै चाहेर नहुने रहेछ ।

फोहोर पखाल्न त दुई हात चाहिन्छ भने एक हातले के नै पो हुन्छ र ! एकोहोरो त शंख मात्रै बज्छ, तर थाहा होला नि प्रिया त्यो अशुभको संकेत हो । माया पाउन माया दिनु पनि पर्छ र माया गर्नेले माया देखाउनु पनि पर्छ ।

कुनैबेला तिमीसँग एकपल टाढिँदा, फोन एसएमएस नुहँदा मेरा भोक प्यास, निद सबका सब हराम हुन्थे । तिमीलाई सन्चो नभएको सुन्दा मात्रै पनि म त्यसै त्यसै बिरामी हुन्थेँ । तिमीले खानपिन गरेको सुनाउँदा पनि म अघाउँथे । तिम्रो  रमाइलोपन सुन्दा मलाई मज्जा लाग्थ्यो ।

तिम्रो सफलता सुन्दा घर अफिसमा मिठाइ बाँड्न मन लाग्थ्यो मलाई । तिम्रो लागि जस्तोसुकै र जेसुकै गर्न पनि हरदम तयार थिएँ म । र त तिमीलाई मैले सक्दो सहयोग गरेकै थिएँ ।

तिमीसँग गर्लम्म अंगालो हालेर मनको बाँध फुट्ने गरी रुन मन लाग्थ्यो । तिमीले रुने मौका त दियौ तर मनको होइन मुटुको बाँध फुट्ने गरी ।

अरु नपाएर होईन तिमीलाई छोड्न नसकेर तिम्रो पिछा गरेको थिएँ । मलाई तिम्रो धन, ज्यान र योग्यता होईन मायाको बदलामा माया चाहिएको थियो । जुनीभरी पिरतीकै गीत गाउने मेरो रहरलाई गुनासो नै गुनासो पोखेर जीवन विताउनुपर्ने बनाइदियौ ।

सायद तिमीलाई ठूल्ठूला कुरामा थोर थोरै खुशी हुने बानी परेछ क्यारे । तर, म स–सानो कुरामा ठूल्ठूला खुशी दिन चाहन्थे । हुन त बु्झनेलाई इसारा नै काफी छ नबुझ्नेलाई महाभारत नै घोकाएपनि एउटा कानले सुनेर अर्काे कानले उडाउने त हो । तै पनि यो मनको जिनिश जति पोख्यो उति हल्का हुँदो रहेछ ।

त्यसैले ति अतितहरु नपोखी बस्नै सकिन । मैले तिम्रो कति रहर र ईच्छाहरु पूरा गरि दिएँ । ती सबै सहयोगका लागि धन्यवाद भन्यौ न त् दुई अक्षरको सरी नै भन्यौ  । यसरी एक्कासी चटक्कै बिर्सिन सक्ने तिमीलाई निस्वार्थी कसरी भनुँ म ?

यदि तिम्रो मन सफा थियो भने ति साथ र सहयोग सम्झेर पनि त एक ‘कल’ गर्न सक्थ्यौ होला नि । जूनीभर भान्छाको सम्बन्ध सम्भव नभए पनि बाटोको सम्बन्ध त सम्भव थियो होला नि । मैले तिम्रो साथ चाहेको थिएँ । त्यो बाहेक मैले तिमीबाट के स्वार्थ राखेँ र ?

तिमीले मेरो के नै रहर पूरा गरि दियौ र । तर, मेरा हर इच्छाहरु पूरा गरि दिन्छु भनेर तिमीले बाचा त गरेकी थियौ नि होइन ? आफ्नै बाचा कसम तोड्न तिमीलाई पनि कठिन हुनुपर्ने हो नि होइन र ? तिम्रो मुखबाट एउटै मात्रै कुरा सुन्न चाहन्छु, आखिर तिमी किन मलाई केही नभनि टाढियौ ? टाढिनुको एउटै कारण मात्रै भनिदिएको भए पनि त आफूलाई सम्हाल्न सक्थे नि म ।

पैसा र बैश क्षणिकको वरदान हो कान्छी । यसकोे प्रयोग गर्ने होइन सदुपयोग गर्ने हो ।

पैसा र वैशलाई च्याखे थाप्दै अरुलाई ‘युज एण्ड थ्रो’ गर्ने बानी त नराम्रो होइन र ? यस्तो बानी परेकाहरुलाई त माया, प्रेम, विश्वास, बाचा कसम पनि नाटक लाग्दो हो क्यार । आपतमा साथ दिने, आफ्नो बोली बचन नतोड्ने, धोका नदिने, विश्वासघात नगर्नेलाई पो राम्रो मान्छे भन्छन् होइन र ? फिस्स हाँसेर ठिस्स पार्ने तिम्रो स्वभावले अरुको मात्रै होइन तिम्रै जीवन पनि खाल्डोमा जाकिन सक्छ प्रिया ।

‘जीवनमा पहिलो पटक खुशीको आँसु झर्याे’, ‘तपाईले साँच्चै माया गर्दाे रहेछ’ आदि इत्यादि । तिमीले भनेका यी र यस्ता कुराहरु सम्झिँदा पनि अहिले भाउन्न हुन्छ । यस्तो नाटक मेरो जीवनमा होइन रंगमञ्चमा मञ्चन गरे पो राम्रो हुन्थ्यो निस्ठुरी । कति कठोर हृदय, कति निर्दयी मन, कति धोकेवाज सोच तिम्रो ।

तर जे होस् तिमीलाई मैले ती दुई विशेष सहयोग गर्ने अवसर पाँए । जुन अहिले सम्झिँदा पनि आनन्द लाग्छ । भौतिक शरिर र भावनात्मक मन नजिकिएर लाइफ पार्टनर बन्न नपाए पनि तिम्रो लाइफको एउटा ‘पार्ट’ बन्ने सौभाग्य पाएको छु । जब जब तिम्रो यादले आँशु तिल्पीलाउँछ तब तब म ति कुरा सम्झेर मनलाई शितलता दिने कोसिस गर्छु अचेल ।

अन्त्यमा, तिमीलाई ‘वाइफ’ बनाउने आशालाई तुषारापात गरी तिमीले मेरो ‘लाइफ’माथि जे जति ‘ब्ल्याकमेल’ गर्‍यौ त्यसबाट पाठ सिकेको छु । हुन्छ, हुन्छ भन्दा भन्दै तिमीले मलाई जुन खाल्डोमा जाक्यौ म त्यहाँबाट उत्रिने कोसिस गर्दैछु । तर बेला बेला तिम्रो यादरुपी मायाहरुले ढकनी लगाइदिन खोज्छ र पो स्वास रोकिएला कि भन्ने डर लाग्छ ।

तिमीलाई जे जति माया गर्थें नि, अझै पनि उत्तिकै गर्छु । जीवन पर्यन्त गरिरहने छु । मेरो मायामा घृणा घोलिएको तिम्रै विश्वासघाती स्वभावले हो । तर, तिमी आफ्नो गल्ती महशुस गर्न तयार भएमा म पनि ती घृणाहरु पन्छाउन तम्तयार नै छु ।

हुन त म सदा झै हरेक भ्यालेन्टाइनमा तिमीलाई उपहार टक्राउँन चाहन्थें तर यो पटक यही पत्र उपहारस्वरूप कोरेको छु । भ्यालेन्टाइन उपहार दिन तिमी नजिक पनि त हुनुपर्याे नि होइन र ?

गन्थन मन्थन कति गर्नु । म तिम्रो लागि फाटेको जुत्तासरी भएँ । तिम्रा थुप्रै जुत्ताहरुमध्ये म एक थोत्रो जुत्ता । नखिइएसम्म घिसार्नु घिसार्‍यौ र खिइसकेपछि मिल्कायौ । तिमीलाई बाल मतलव !

आफूले मन पराएकालाई ज्यान दिनुभन्दा आफूलाई मन पराउनेलाई ध्यान दिनुपर्ने रहेछ । म कुनै दिन तिमीलाई ‘सरप्राइज’ माया दिनेछु, त्यो दिन तिम्रो आँखाबाट हर्ष र पश्चातापको आँशु बग्नेछ ।

जब म मायाको भवसागरबाट उत्रेर आउनेछु तब काँडाको बदला गुलाफको फूल लिएर तिमीलाई भेटी प्रायश्चित गर्न चाहन्छु ।

 

उही
तिम्रो बन्न नसकेको प्रेमी

यो पनि 

‘भ्यालेन्टाइन्स डे’ को शाब्दीक अर्थ

सम्बन्धित समाचारहरु

ताजा समाचार