मकवानपुरमा उद्योगको अनुगमन

मकवानपुरमा उद्योगको अनुगमन


मकवानपुरमा अनुगमन समितिले जिल्लाका विभिन्न उद्योगमा अनुगमन गरेको छ । यस क्रममा तोकिएको मापदण्डअनुसार खाद्य सामग्री उत्पादन नगर्ने एक वेकरी उद्योगमा सिलबन्दी गरिएको छ । यसका साथै तीन व्यावसायिक फार्मलाई जरिवानासहित कारबाही गरिएको छ ।

 जिल्ला प्रशासन कार्यालयसहित घरेलु तथा साना उद्योग कार्यालयको नेतृत्वमा खटिएको टोलीले हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरमा रहेको खश्बु बेकरी उद्योगमा सिलबन्दी गरेको हो । सो उद्योगले नापतौल यन्त्रको अनुमतिपत्र नलिएको, उत्पादित खाद्यपदार्थमा लेबल नलगाएको, उद्योगमा सरसफाइ नगरेको र उत्पादित खाद्य सामग्रीको अनुज्ञापत्र नलिएको पाइएपछि टोलीले उद्योगमा सिलबन्दी गर्नुका साथै  जरिवानासमेत गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख टीका शर्माले जानकरी दिए ।
  
अनुगमन टोलीले सो उद्योगले गैरकानुनी तथा उपभोक्ता हितविपरीत काम गरेकाले रु दुई लाख ५० हजार जरिवाना गर्नुका साथै तीन दिनभित्र कार्यालयमा आवश्यक कागजातसहित उपस्थित हुन निर्देशन दिएको छ । टोलीले बस्तीपुरस्थित सन्तोष किराना पसल, न्यू पराजुली स्टोर्स र दोर्जे सिन्तानको किराना तथा मासु पसललाई जनही रु १० हजारका दरले  जरिवाना गरेको छ । 

अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडा, हेटौँडा उपमहानगरपालिका, उपभोक्ता हित संरक्षण मञ्चका पदाधिकारीलगायत सहभागी थिए ।  

Logo