व्यवस्थापन संघद्वारा गभर्नरलाई सुझाव प्रतिवेदन हस्तान्तरण

व्यवस्थापन संघद्वारा गभर्नरलाई सुझाव प्रतिवेदन हस्तान्तरण


काठमाडौं ।

नेपाल व्यवस्थापन संघले आर्थिक वर्ष २०७७/७८ को नेपाल राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीति तथा कार्यक्रम तर्जुमा सम्बन्धी कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले अनलाइनमार्फत आयोजित मौद्रिक नीति छलफल कार्यक्रमको प्रतिवेदन सोमबार गर्भनरलाई हस्तान्तरण गरेको छ ।

नेपाल व्यवस्थापन संघले मौद्रिक नीतिमा छलफल गर्न अनलाइनमार्फत नै असार ५ गते नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा नीजि क्षेत्रका प्रमुख तथा प्रतिनिधि, प्रशासक, वित्त विज्ञ र सरोकारवालाहरुसँग छलफल गरेको थियो । सो छलफलबाट तयार पारिएको प्रतिवेदन संघले राष्ट्र बैंकलाई बुझाएको हो । राष्ट्र बैंकका पूर्र्व कार्यकारी निर्देशक नर बहादुर थापाको कार्यपत्रमा आधारित विषयगत छलफल र यसमा नीजि क्षेत्र र विज्ञहरुका सुझावलाई समेटर तयार पारिएको परिस्कृत प्रतिवेदन गभर्नर अधिकारीलाई हस्तान्तरण गरिएको व्यवस्थापन संघका सभापति तथा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बताए ।

सभापति श्रेष्ठका अनुसार पेश गरिएको प्रतिवेदनमा वर्तमान अवस्थामा निजि क्षेत्रसँगै बैंक तथा वित्तिय संस्थाले भोगिरहेका समस्याहरु र तिनिहरुको उपयुक्त समाधानका लागि सहजीकरण गर्ने गरी आगामी २०७७/०७८ को मौद्रिक नीति केन्द्रित हुनुपर्ने विषयवस्तुहरु समेटिएका छन् । त्यसैगरी, आगामी मौद्रिक नीतिले समेट्नु पर्ने थप विषय, आवश्यकता, कार्यान्वयन पक्ष र चुनौतीहरुलाई समेत प्रतिवेदनमा समावेश गरिएको श्रेष्ठले बताए । सो कार्यक्रममा संघका सभापति श्रेष्ठसहित संघका उपसभापति सुमन पोख्रेल, संघका कोषाध्यक्ष अनु जोशी र कार्यकारी निर्देशक अनिल उपाध्याय सहभागी थिए ।

Logo