‘धरातल बिर्सिएर आलोचना गर्नु आफ्नै अनुहारमा हिलो छ्याप्नु हो’– महानायक हमाल (भिडियोसहित)

‘धरातल बिर्सिएर आलोचना गर्नु आफ्नै अनुहारमा हिलो छ्याप्नु हो’– महानायक हमाल (भिडियोसहित)


कोरोना भाइरसको असर र लकडाउनले चलचित्र उद्योगका गतिविधी ठप्प रहे पनि गसिप र विवादका विषय भने यतिबेला चर्चामा छन् । त्यसमा पनि केही समय अघि एक टेलिभिजन अन्तर्वार्तामा कलाकार तथा निर्देशक दीपाश्री निरौलाको कटाक्ष संवाद यतिबेला भाइरल बनेको छ । निरौलाले प्रसंगबस अभिनेता राजेश हमाललाई कटाक्ष गर्न पुगिन् ।

उनले नेपाली फिल्म उद्योगमा अभिनेता राजेश हमालको उपस्थिति शून्य रहेको भन्दै हमालले पाएको उपाधी (ट्याग) माथि नै प्रश्न उठाएकी थिइन् । उनले महानायकको उपाधीमाथि धावा बोल्दै भनेकी थिइन्, ‘महानायक पनि हुनुहुन्छ र ?’ दीपाले थपेकी थिइन्, ‘उहाँलाई महानायक बनाईयो, त्यसमा पनि अहिले हमाल हुनुहुन्छ जस्तो लाग्दैन । हो, हिजो उहाँ हुनुहुन्थ्यो तर आज हुनुहुन्छ जस्तो त लाग्दैन ।’ दीपाश्रीले बलिउडको उदाहरण दिदै थपेकी थिइन्, अमिताभ बच्चन त आज पनि अभिनयमै हुनुहुन्छ । तर, राजेश दाई खोइ ?’

दीपाश्रीले अर्कातर्फ हमालले आफ्नो पालामा जस्तासुकै फिल्ममा अभिनय गर्ने तथा गुणस्तरमा ध्यान नदिएकाले नेपाली चलचित्र उद्योगको अवस्था अझै गुणस्तरीय बन्न नसकेको धारणा व्यक्त गरेकी थिइन् ।

उक्त भनाई बाहिरिए पछि यतिबेला दीपाश्री निरौला चौतर्फी आलोचनाको पात्र बनेकी छिन् । हुन त समय समयमा राजेश हमालले पाएको उक्त ट्यागका विषयमा विवाद नभएको होइन । तथापि उनले चलचित्र उद्योगका लागि पुर्‍याएको योगदान र नेपाली चलचित्र क्षेत्रका लागि खर्चिएको समयलाई भने कम आँक्न मिल्दैन ।

यस विषयमा महानायक हमालले पनि आफ्नो २५ वर्ष लामो अभिनय यात्राले नै नेपाली चलचित्र उद्योगको आधार तयार गरेको हुँदा पछिल्लो समयमा आएर आफ्नो आलोचना गरिनु हाँस्यास्पद रहेको बताएका छन् । उनले भनेका छन्, ‘मेरो करियरको सुरुवातमा नेपाली चलचित्र उद्योगको जुन अवस्था थियो, त्यो आफैंमा मनन योग्य छ । एक पछि अर्को चलचित्र बन्ने आशा समेत शून्य भएको समयबाट करियर सुरु गरेको र पछि कयौं फिल्ममा अभिनय नगरेको भए हाम्रो सिनेमा उद्योग यहाँ सम्म आइपुग्नेमा शंका थियो ।’

महानायक हमालले आफूले हरेक चलचित्र निर्माता तथा निर्देशकको आग्रहलाई स्वीकार गर्दै, अधिकांश चलचित्रमा समय दिएर नै थुप्रै चलचित्रकर्मीहरूको जन्म भएको र थुप्रै चलचित्रकर्मीहरूले स्थान पाएको कुरा भुल्नु भनेको अध्ययनको अभाव रहेको उल्लेख गरेका छन् ।

विशेष गरेर कलाकार तथा निर्देशक दीपाश्रीको अभिव्यक्तिलाई केन्द्रमा राखेर हमालले भनेका छन्, ‘मलाई लाग्दैन कि, त्यो बेला धेरै चलचित्रमा काम गरेर वा म आफूले छनोटका आधारमा चलचित्रमा काम गरेर गल्ति गरेँ । बरु जसले मेरो विरोधमा आवाज उठाउनु भएको छ, उहाँ आफैंले सोेचे हुन्छ कि, त्यो बेला हमालले चलचित्र वा कलाकार छनौट गरिदिएको भए चलचत्रि ‘गाँउले’ र गीत ‘गोलीशिसा’मा उहाँले अवसर पाउने अवस्था हुन्थ्यो जस्तो लाग्दैन । आज उहाँको परिचयको परिधी यति वृहत बन्थ्यो जस्तो लाग्दैन । ’

नेपाली चलचित्र उद्योगका लागि हिजो, आज र भोलि सधैं सकारात्मक रहेको र आवश्कता अनुसार आफ्नो उपस्थिति कायमै रहने बताउँदै हमालले कोही कसैले व्यक्तिगत कुण्ठा पोख्ने वा अरूलाई होच्याउने कार्य नगर्न आग्रह गरेका छन् । यससँगै बरु अरुको कुरा काट्न भन्दा पनि आफू कसरी माथि जान सकिन्छ वा कसरी राम्रो गर्न सकिन्छ ? त्यसको बारेमा सोच्न सल्लाह दिएका छन् ।

हमालले पछिल्लो समय नेपाली चलचित्र उद्योगमा बहसको विषय बेनेको ‘नेपोटीजम’का बारेमा पनि आफ्नो धारणा राखेका छन् । उनले हलिउड, बलिउड जस्ता उद्योगलाई केन्द्रमा राखेर नेपाली चलचित्र उद्योगलाई तुलना गर्न नमिल्ने बताँउदै नेपोटीजम जस्ता विषय पनि नेपालमा खासै हावी भइनसकेको उल्लेख गरे । उनले प्रतिभाका आधारमा कलाकार वा मानवस्रोतको छनौट गरिनु स्वाभाविक रहे पनि नेपालमा नेपोटिजमको बहसले स्थान लिइहाल्नु पर्ने अवस्था नरहेको बताए ।

यता, कोरोना भाइरसले थलिएको लचचित्र उद्योगलाई उकास्न सम्पूर्ण चलचित्रकर्मीले फरककोणबाट सोच्नु पर्ने बेला आएको हमालको भनाइ छ । उनका अनुसार अब, चलचित्र उद्योगमाथि लैजाने भन्दा पनि यसलाई कसरी बचाउने त्यस तर्फ ध्यान जानु पर्छ । सानु समूहमा रहेर वा सानो बजेटमा चलचित्र निर्माण गर्ने तथा प्रदर्शनका विकल्पको खोजी गर्दै चलचित्र उद्योग बचाइराख्नु पर्ने हमालको भनाइ छ ।

उनले भनेका छन्, ‘इतिहासलाई हेर्ने हो भने, विभिन्न कालखण्डमा धेरै उतारचढाव भोग्दै अघि बढेको नेपाली चलचित्र उद्योग धैर्य गरे फेरि पनि विस्तारै उठ्नेमा आशाबादी रहनुको विकल्प छैन ।’ केन्दूविन्दु टक सोमा कुरा गर्दै हमालले अझै पनि आफ्नो कलाकारिताको भोक नमिटिएकाले फेरि पनि अभिनयमार्फत ठूलो पर्दामा फर्कने संकेत गरेका छन् । लाखौं प्रशंसकको चाहना पनि त्यही भएको तर अब नयाँ मोडबाट नयाँ स्वादमा रहेर चुनौति बेहोर्दै अघि बढ्ने हमालको भनाइ छ ।

Logo