पूँजीपती वर्गले उद्योग व्यवसाय संभ्रान्त परिवारभन्दा बाहिर लैजान दिएनन्ः महेश बस्नेत

पूँजीपती वर्गले उद्योग व्यवसाय संभ्रान्त परिवारभन्दा बाहिर लैजान दिएनन्ः महेश बस्नेत


नेकपा एमालेको पोलिटव्युरो सदस्य महेश बस्नेतले दलालको पछाडी रहेर पूँजीपती वर्गले नेताहरुसँग कोसेटिङमार्फत नियतवस व्यापार, व्यवसाय र उद्योगधन्दा निश्चित संभ्रान्त परिवारभन्दा बाहिर लान नखोजेको आरोप लगाएका छन्। 

भक्तपुरमा आज आयोजित एक कार्यक्रममा नेता बस्नेतले एमालेलाई यति,ओम्नी जस्ता प्रकरणमा लागेको भ्रष्टाचारको आरोपबारे प्रष्टीकरण दिँदै नेपालमा दलालका पछाडी बसेका पूँजीपतीले उद्योगधन्दालाई उनीहरुको पहुँचभन्दा बाहिर लान नदिएको आरोप लगाएका हुन्। 

उनले भने,‘ओम्नी भनेको कमन हो। हिजो स्वास्थ्य विभागबाट सम्झौता गरेर चाइनाबाट औषधि खरिद गरियो, औषधिको अन्तर्राष्ट्रिय रुपमै सटेज थियो। चाइनाबाट फ्रान्स लान खोजेको औषधि अमेकिरकाले बीचैमा पाँच गुणा महंगो पैसा लिएर लियो। अनि हाम्रो स्वास्थ्य विभागले चाँही महंगो भनेर सम्झौता रद्द गर्‍याे। अनि ओम्नी ओम्नी ओम्नी भन्या छन्,गलत गरे छानबिन गर्नु भनिराछौँ हामी। यति मात्रै होइन गोकर्णको खेर गएको जमिनमा एउटा शेर्पाको छोराले यति होल्डिङ्स अरबौ लगानी गरेर आज गोकर्ण रिसोर्ट,इज्जतको ठाउँ बनाएको छ। कतिलाई रोजगारी दिएको छ कति स्थानीय बस्तुको प्रयोग भएको छ’, 

नेता बस्नेतले यति लिज प्रकरण तथा ओम्नी भ्रष्टाचार काण्डमा समेत जनता, मिडिया र सामाजिक सञ्जाल वास्तविकता नबुझी बहकिएको आरोप पनि लगाए। ‘एउटा नेपाली शेर्पाले यहाँ व्यवसाय गर्न खोज्छ, चन्द्र ढकालले चन्द्रागिरीमा त्यत्रो गरे यहाँ व्यवसाय गर्न खोजिराको छ,चाइने नचाइने हल्ला गरेको छ के भन्या छन्,यत्रो लिज भन्या छन् नियतवस निश्चित संभ्रान्त परिवारले बाहिर व्यापार,उद्योग र व्यवसाय लान खोजेको छैन र त्यसमा निश्चित दलाल व्यवसायी उद्योगपतिहरुले नेताहरुलाई सेटिङ गरिराछन्। हामी जनता कुरा बुझेका छैनौं त्यत्तिकै कराको छौँ,मिडिया त्यसै कराइदिया छ।सोसल मिडिया त्यसै बहकिएको छ’, उनले भने। 

त्यस्तै, नेता बस्नेतले सुन लगायतका प्रकरणमा एमालेलाई हल्लै हल्लाको जुठो बनाएको भन्दै भ्रमको पछि नलाग्न जिकिर गरे। उनले नेकपा माओवादी केन्द्रका प्रभावशाली मानिएका नेता तथा तिनका छोरालाई चोखो बनाइएको भन्दै त्यसप्रति व्यङ्य पनि गरे।

उनले आगामी निर्वाचनमा एमाले पहिलो शक्ति बन्ने र एमाले अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री हुने दाबी गरे। उनले नयाँ आएका पार्टीहरुलाई रछयानमा पलाएको मूलाको सागको संज्ञा दिए। 

नेता बस्नेतले भने,‘भविष्यको पार्टी पनि एमाले हो, यो क्षणिक पहिला पहिला हाम्रा बाआमाले भन्ने गर्नुहुन्थ्यो रछयानमा पलाएको मूलाको साग जस्तो नहुनु भन्नहुन्थ्यो। रछयानमा नरोपेका मूलाका साग ह्वारह्वार्ती आउँथे। आज आयो भोलि आयो दुई महिनापछि छैन। त्यहि भएर रछयानमा पलाएका मूलाका साग र रायोको सागले तरकारी बढ्छ भनेर परम्परागत दूध दही बन्द गर्ने प्रवृति युवाहरुमा देखिएको छ यो तोडौँ। परम्परागत व्यवसायिक उपभोगको खेती एमाले नै हो।’ 

Logo