#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व73898735013547657156317
नेपाल5041

गणेश थापासित भर्जिनियामा जम्काभेट !

  • जयदेव गौतम-

गणेश थापा, एउटा नाम जसलाई सम्बोधन गर्नासाथ नेपालको फुटबल खेल र त्यो खेललाई व्यवस्थापन गर्ने आधिकारिक राष्ट्रिय निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) को चित्र आँखा अगाडि आइपुग्दछ । जसरी तत्कालीन राष्ट्रिय खेलकुद परिषद् सदस्य–सचिव शरदचन्द्र शाहको उल्लेख बेगर नेपाली खेलकुदको चर्चा सधैँ अधुरो र अपूरो हुन्छ, त्यसरी नै गणेश थापाको उल्लेखबिना नेपालको फुटबल खेलको चर्चा पूर्ण हुन सक्दैन ।

यस्तो चर्चा सकारात्मक–नकारात्मक जे जस्तो भए पनि, साँचो कुरा के हो भने सक्रिय खेलाडी जीवनमा एकजना उम्दा फरवार्डका रूपमा रहँदा थापाले कालान्तरसम्म सम्झना भइरहने गरी नेपाली फुटबललाई विशेष स्मरणीय अथवा दीर्घकालीन योगदान दिन सकेनन् तर एन्फा अध्यक्ष भएर उनले लगातार करिव बीस वर्ष फुटबल प्रशासकका रूपमा सक्रिय भइरहँदा चाहिँ नेपाली फुटबल खेल क्षेत्रमा आफ्नो दीर्घकालीन प्रभाव छोडे । यो यथार्थलाई भने अस्वीकार गर्न सकिँदैन र हुँदैन पनि ।

गणेश थापाभन्दा पहिले पनि र पछि पनि राष्ट्रिय फुटबल टोलीमा धेरैजना कप्तान भए तर ती सबैजना आए र गए मात्र हुन पुगे । अच्युतकृष्ण खरेल, रुपकराज शर्मा, स्वयम् गणेशकै दाइ कमल थापा, राजुकाजी शाक्य, उपेन्द्रमान सिंह, सागर थापा र अन्य अन्य पनि । कप्तान वा खेलाडी जो जे भए पनि कसैले गणेश थापाले जसरी फुटबल खेलको दुनियामा आफ्नो अमिट प्रभाव छोड्न सकेनन् । उनी खेलाडीका रूपमा पनि चम्किए र पछि एन्फा अध्यक्षका रूपमा फुटबल प्रशासक भएर पनि । उनी सेलिब्रेटीको दर्जामा उक्लिए । सक्रिय खेलाडी जीवनमा स्वदेशमा मात्र होइन, उनी पहिले बंगलादेशमा गएर र पछि भारत कलकत्ताको इस्ट बंगाल क्लबमा आबद्ध भएर प्रोफेसनल लिग फुटबल खेल्न सफल भए । (उनीभन्दा पहिले नरेन्द्रमान सिंह एकजना मात्र नेपाली खेलाडी भारतमा गएर प्रोफेसनल फुटबल खेलेका थिए) ।

छयालीस सालको जनआन्दोलनको सफलतासँगै उनको सक्रिय खेलाडी जीवनको ट्रयाजिडी सुरु भयो । बंगलादेशी राजधानी ढाकामा हुन लागेको छैटौं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुन जाने राष्ट्रिय फुटबल टोलीमा उनलाई सहभागी गराइएन, उनलाई राष्ट्रिय टोलीबाटै हटाइयो । उनी अपमानित महसुस भए किनभने एक किसिमले उनी त्योबेला आफ्नो खेलजीवनको प्राइममा थिए । लिगमा सबैभन्दा धेरै गोल गरिरहेका थिए, विदेशी क्लबमा पनि स्तरीय प्रदर्शन गरिरहेकै थिए । राष्ट्रिय टोलीका ती प्रशिक्षकविरुद्ध उनले असंयमित एवम् अभद्र व्यवहार दर्शाए जसले गर्दा उनी पछिसम्मै निकै आलोचित पनि भए ।

ट्रयाजिडी त्यतिबेला मात्र भएन, (उनीबिनाको नेपाली टोलीले ढाकामा नेपालले जितेको एक मात्र स्वर्ण पदक जित्यो), त्यसपछि उनी कहिल्यै राष्ट्रिय टोलीमा परेनन् । केही समय लिग फुटबल खेले । यही क्रममा इस्ट बंगालका लागि खेलिरहेको बेला उनी घाइते भए जसपछि उनको सक्रिय खेलाडी जीवन नै सकियो । अहिले जस्तो मिडिया र सामाजिक सञ्जाल नभएको त्यो बेला उनका केही वर्ष निरुद्देश्य, निरर्थक र अर्थहीन भएर बिते । अनि आयो विक्रमाब्ध २०५२ जसले उनको अर्को भाग्योदय भयो, जीवनमा सुखद मोड आयो । प्रधानमन्त्री मनमोहन अधिकारीको मन्त्रिमण्डलमा शिक्षा तथा खेलकुद मन्त्री रहेका मोदनाथ प्रश्रित र राखेप सदस्य–सचिव केशव स्थापित भएको बेला अचानक गणेश थापा एन्फाको अध्यक्ष नियुक्त भए ।

राखेपको एउटा कोठामा सीमित एन्फा कार्यालय उनकै नेतृत्वमा अहिले आफ्नै सानदार कार्यालय, एन्फा एकेडेमी भवन र सानो फुटबल मैदानसमेतको एन्फा परिसरमा विस्तारित एवम् व्यवस्थित छ । दस वर्षदेखि रोकिएको लिग फुटबल उनकै अगुवाइमा फेरि सुरु भयो, चालीसभन्दा धेरै जिल्लामा फुटबल संघ गठन भए, राष्ट्रिय टोलीका खेलाडीलाई मासिक तलब दिन सुरु भयो, ए डिभिजन क्लबले पनि ‘गेट मनी’ पाउन थाले, खेलाडीलाई कार, मोटरसाइकल र अपार्टमेन्टसमेत पुरस्कार दिने प्रचलन सुरु भयो । स्वयम् गणेश थापा एसियाली फुटबल संघको उपाध्यक्ष बन्न पुगे, अन्तर्राष्ट्रिय फुटबल क्षेत्रमा आफ्नो बढ्दो प्रभाव प्रयोग गर्दै उनी फिफाका तत्कालीन अध्यक्ष सेप ब्लाटरलाई नेपाल ल्याउन पनि सफल रहे…आदि आदि । यस्ता सकारात्मक कुराहरूको लामै फेहरिस्त बन्न सक्छ ।

तमाम सकारात्मकता र उपलब्धिका बावजुद गणेश थापाको आलोचना पनि उत्तिकै हुँदै रह्यो । झट्ट रिसाइहाल्ने बानी, क्षमतावान भए पनि मन नपरेको मानिसलाई कहिल्यै माथि बढ्न वा कुनै अवसर नदिने, छिट्टै मुख मात्र होइन हातै पनि छाडिहाल्ने, एन्फालाई कम्पनी जस्तो गरी चलाउने गरेको, मन परेकालाई काखा र मन नपरेकालाई पाखा पार्ने व्यवहार गरेको, अधिनायकवादी–निरंकुश–एक्लौटी तरिकाले एन्फा चलाउने गरेको, वैदेशिक सम्बन्ध आफूमा सीमित राखेको…र यस्तै यस्तै अनेक आलोचना हुँदै रहे ।

यीभन्दा अझ माथि उठेर उनीमाथि भ्रष्टाचारको आरोप लाग्यो, एन्फाको ५८ करोड रुपैयाँ भ्रष्टाचार गरेको, रंगशालामा टिकटबाट उठेको लाखौं रुपैयाँ हिनामिना गरेको, फिफा पदाधिकारीमा उठ्न लालायित एएफसीका पदाधिकारी कतारी शेख बिन हमामसित अवैध रूपमा व्यक्तिगत हितका लागि लाखौं डलर रकम लिएको, उनका छोरा गौरव थापाको व्यक्तिगत खातामा स्रोत नखुलाइएको एक लाख डलर रकम रहेको आदि आरोप उनीविरुद्ध लगाइए । उनीविरुद्ध एएफसी र फिफामा भ्रष्टाचार सम्बन्धमा उजुरी प¥यो । नेपालभित्रै पनि अख्तियारमा उजुरी पर्यो । उनले संसदीय लेखा समितिमा बयान दिनु पर्यो ।

उनले आफ्नो बचाउ गर्दै रहे, आफूले भ्रष्टाचार नगरेको जिकिर गर्दै रहे तापनि उनले विक्रमाब्ध २०७१ मा एन्फा अध्यक्ष पद छोड्नु पर्यो । यही बीच फिफाले उनलाई भ्रष्टाचार आर्थिक अपचलनको दोषी ठहर गर्दै दस वर्ष फुटबलका कुनै पनि गतिविधिमा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाइदियो ।

यो उनको अर्को, र सबैभन्दा ठूलो, ट्रयाजिडी हुन गयो । उनले सबै राम्रो गर्छु भन्दा भन्दै एकपछि अर्को वातावरण यसरी तयार हुँदै गयो जसले उनलाई आफूले सर्वस्व ठान्दै आएको खेलबाटै टाढा हुत्याइदियो !

एक समय खेलकुद सेलिब्रेटीका रूपमा चर्चा र प्रसिद्धिको चुलीमा रहेका गणेश थापा अहिले गुमनाम नै त भइसकेका छैनन् तर सार्वजनिक जीवनबाट पूर्णतः ओझेलिएका भने छन् । पहिले जस्तो उनले बोलेको अचेल कसैले सुन्दैन जसले गर्दा उनका अभिव्यक्तिहरूले अर्थ बोक्न छाडेका छन् । बरु उनले फेसबुकलाई आफ्ना कुरा सुनाउँछन् । त्यसैले अचेल उनको सबैभन्दा मिल्ने साथी सामाजिक सञ्जाल (फेसबुक) देखिएको छ जसबाट उनी आफू र आफ्नो फुटबल प्रेम निरन्तर अभिव्यक्त गरिरहेका हुन्छन् । (त्यसो त उनले आफूलाई व्यस्त राख्न र खेलकुद क्षेत्रसितको सम्बन्ध बहाल राखिराख्न एकाध वर्षपहिलेदेखि नक्सालमा फुटसल र पौडीपोखरीसहितको एउटा खेलकुद कम्प्लेक्स सञ्चालन गर्दै आएका छन्) ।

गणेश थापाको खेलजीवन हेर्दा उनी नेपाली खेलकुद क्षेत्रका एकजना त्यस्ता ट्रयाजिक पात्र प्रतीत हुन्छन् जसले जीवनको पूर्वाद्र्धमा सफलता र सम्मानको जति रहरलाग्दो स्वाद चाखे, जीवनको उत्तराद्र्धमा त्यसभन्दा धेरै बढी त असफलता र अपमानका घुट्कीहरू पिउन बाध्य भए, पारिए र पारिएका छन् ।

उनै गणेश थापासित धेरै वर्षपछि अचानक अमेरिकी राज्य भर्जिनियाको सेन्ट्रलभिल क्षेत्रमा जम्काभेट भयो । थापा बिरामी भएर मुटुको शल्य चिकित्सा –ओपन हार्ट सर्जरी– गराउन अमेरिका आएका रहेछन् । खासमा तीन अमेरिकी राज्य वासिङ्गटन डिसी, भर्जिनिया र मेरील्यान्ड क्षेत्र (जसलाई संयुक्त रूपमा डिएमभी एरिया भनिन्छ) मा बसोबास गरिरहेका भूतपूर्व चर्चित नेपाली खेलाडीहरूको एक समूहले गणेश थापा अमेरिका आएको अवसर छोपेर यही फेब्रुअरी १ तारिख शनिबारका दिन उनीसित अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।

नेपालमा मार्सल आर्ट उसु खेलको सुरुआत र विकासमा निर्णायक भूमिका निर्वाह गरेका चन्द्र लामा, राष्ट्रिय भलिबल टोलीका पूर्वकप्तान सुनील चौधरी र उसु खेलमा नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक जित्ने कीर्तिमान कायम गरेकी बीना खड्का लामाले यो कार्यक्रम आयोजनाको अगुवाइ गरेका थिए ।

करिव छ फुट अग्लो शरीर, गोरो वर्ण, लाम्चो अनुहार, बाक्लो कालो कपाल र बाक्लै कालो जुँगा । अक्सर टी–सर्ट, जिन्स प्यान्ट र कोट लगाउन मन पराउने चिरपरिचित गणेश थापा बिरामी भएर भर्खर शल्यचिकित्सा गराएर आएको भए पनि पूर्ण स्वास्थ्य देखिएका थिए । वाकरको सहायताले विस्तारै हिँड्दै ढोकाबाट भित्र प्रवेश गर्दै गरेको मलाई देख्ने बित्तिकै टाढैबाट आफ्नो परिचित मुस्कानसहित मञ्चनिरको कुसीबाट उठेर आइपुगे, हात मिलाउँदै भलाकुसारी गरे अनि मेरो वर्तमान अस्वस्थताप्रति चासो र चिन्ता व्यक्त गर्दै स्वास्थ्यलाभको कामना पनि गरे । मलाई उनको यो विनम्रता र हार्दिकता औधि मन पर्यो ।

खासमा गणेश थापालाई मुटुरोग समस्या देखिएको भए पनि –उनले आफैँले बताएअनुसार– त्यो हृदयाघात भएको अथवा मुटु नै फेर्नुपर्ने किसिमको संगीन समस्या थिएन छ । उनलाई लागेको मुटुसम्बन्धी समस्यालाई ‘एन्जिना अउर्टा’ समस्या भनिँदो रहेछ । यो समस्या आफैँमा दुर्लभ किसिमको समस्या हो रहेछ, थोरै मानिसमा मात्र देखा पर्न सक्ने । हत्पति यसका लक्षणहरू देखा पर्दैनन् । यो समस्या भएमा मुटुमा जाने रक्तनलीमा रगत बग्न बाधा उत्पन्न हुने, मुटुसम्म पुग्न अगावै रगत जम्ने (ब्लड क्लट्स हुने), शरीरको सबैभन्दा ठुलो रक्तनलीमा रगत जान नसक्ने हुन्छ, अर्थात्, रक्तप्रवाहमा बाधा हुन थाल्दछ । यो क्रम बढ्दै गएमा मुटु सुन्निने अथवा मुटुको आकार असामान्य तरिकाले बढ्दै जाने हुन सक्छ । यो समस्या बढ्दै गएमा रक्तनली अथवा धमनी नै फुट्न सक्छ, अथवा, पीडितलाई कडा हृदयाघात नै पनि हुन सक्छ । यस रोगको उपचार मुटुरोगसम्बन्धी उपचार केन्द्र भए पनि सबै ठाउँमा हुन नसक्ने रहेछ ।

यस मामिलामा गणेश थापा भाग्यशाली ठहरिए । समयमै उनी समुचित उपचार केन्द्रमा पुग्न सफल भए । अमेरिकाको ओहायो राज्यस्थित क्लीभल्यान्ड क्लिनिक (अस्पताल) मा उनको सफल शल्यक्रिया भयो । उनको मुटुलाई बिगार गर्न सक्ने एउटा रक्तनली नै अप्रेसन गरी फ्याँकियो । थापाको भनाइ थियो, ‘यो शल्यक्रिया सानो भए पनि ‘मेजर अप्रेसन’ मानिँदो रहेछ । अब मेरो स्वास्थ्य ठिक छ । अब मैंले खानपान र नियमित एक्सरसाइज गर्ने कुरामा भने थप विचार पु¥याउनु पर्छ, यी लगायतका कुराहरूमा सन्तुलन कायम गर्नुपर्ने आवश्यकता रहने छ ।’

अन्तरक्रिया कार्यक्रममा उनले करिब आधा घण्टाभन्दा केही बढी समय आफ्नो मन्तव्य राखे । जस्तासुकै सोधाइँको जवाफ दिन तयार बसेको भए पनि उनले अपेक्षा गरे जसरी उपस्थित स्रोताबाट कुनै थप प्रश्न सोधिएन। उनले आफ्नो फुटबल खेलजीवन र एन्फा–जीवनबारे छोटकरीमा बताए । उनले आफू पूर्णतः निर्दोष रहेको दावी गर्दै आफूविरुद्ध लगाइएको भ्रष्टाचारको गलत आरोप प्रमाणित गर्न फेरि पनि सम्बन्धित सबैलाई चुनौती दिए । नेपालमा संसदीय लेखा समितिमा बयान दिएर सफाइ पाएको र अख्तियारले पनि भ्रष्टाचार प्रमाणित गर्न नसकी उन्मुक्ति दिएको उनले सगर्व सुनाए । उनले सम्पूर्ण समय आफू र फुटबल खेलकै विषयमा कुरा गरे ।

कार्यक्रममा चन्द्र लामा, सुनील चौधरी, बीना खड्का लामाका साथै पूर्व राष्टिय खेलाडीहरू फुटबलर उमेश प्रधान, विनोद खरेल, राजीव श्रेष्ठ, बक्सर मनोज श्रेष्ठ, पावर लिफ्टर रुप कार्की, कबड्डीकी केमिका भण्डारी, तेक्वान्दोका कुमार कार्की, कल्पना कार्की, राखेपकी वरिष्ठ अधिकृत सीता पाण्डे आदिका साथै स्थानीय गन्यमान्यहरूको राम्रै उपस्थिति थियो ।

गणेश थापा अब फेरि फुटबल खेलको दुनियामा फर्किने हुन् अथवा होइनन् । यस विषयमा उनले केही भनेनन् । कदाचित् उनी फर्की नै हाले भने पनि अब उनलाई पहिले जस्तो सहज हुने छैन किनभने पहिले उनलाई सुख–दुःखका जस्तासुकै पलहरूमा सतिसाल भएर साथ–सहयोग दिइरहने थ्रीस्टार क्लब पाटनका तत्कालीन अध्यक्ष एवम् उनीपछि एन्फाका कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठ अब यो दुनियामै छैनन् । ललितकृष्णको अनुपस्थिति त्यस्तो अभाव हो जुन हत्पति पूर्ण हुनै सक्दैन र जुन अभाव उनले सधैँ अनुभव गरिरहने छन् ।

अवस्था यस्तो रहेको भए पनि गणेश थापा परिस्थितिसित हार मानेर बस्ने स्वभावका व्यक्ति होइनन् । यदि त्यस्तो हुँदो हो त भ्रष्टाचारको आरोप र त्यसको सुनुवाइपछि उनी थाकेर गुमनामीको संसारमा रमाउँथे होलान् । तर त्यस्तो छैन । गणेश थापाको नशा–नशा र धमनीहरूमा रगतसँगै फुटबल पनि बगिरहेको छ । जे जति समस्याहरू उनले अहिले ब्यहोरिरहेका छन्, ती सबै उनले मुलुकभित्र फुटबल खेलको विकास र विस्तार गर्ने प्रयासमै उनीमाथि आइपरेका हुन् । त्यसैले त उनी अझै खुलेर आफूलाई भ्रष्टाचारी साबित गर्न सम्बन्धितहरूलाई चुनौती दिइरहेकै छन्, आफू निर्दोष रहेको दावी गर्दै उक्त आरोप लगाउनेहरूले सार्वजनिक तवरले माफी माग्नुपर्ने माग पनि गरिरहेका छन् । आफूलाई सार्वजनिक तवरले सफाइ दिइनुपर्ने उनको आवाज कमजोर छैन किन पनि भने स्वयम् गलत भएको अथवा दोषी रहेको व्यक्तिले यसरी हाकाहाकी सबैलाई सार्वजनिक रूपमा चुनौती दिने हिम्मत गर्नै सक्दैन ।

अहिले गणेश थापा मुलुकभित्र जुझिरहेका छन् । कदाचित् भोलि कुनै दिन उनले मुलुकभित्रको यो लडाइँ जिते –जुन सम्भावना अत्यन्त पातलो छ– भने पनि उनी यो ट्रयाजिडीबाट मुक्त हुन पाउने छैनन् । किनभने, मुलुकभित्र सफाइ पाए पनि अन्तर्राष्ट्रिय स्तरमा फिफाद्वारा उनीमाथि लागेको भ्रष्टाचार आर्थिक अपचलनको अभियोग र त्यसको सजायस्वरूप फुटबलका सम्पूर्ण गतिविधिबाट पूर्णतः अलग रहनुपर्ने दस वर्षे प्रतिबन्धको छाप कहिल्यै मेटिने छैन । नतिजा ? सायद आफ्नै नैतिकताले पनि उनलाई फेरि फुटबल क्षेत्रमा फर्किने अनुमति दिने छैन ।

सम्बन्धित समाचारहरु

ताजा समाचार