वर्षमान पुनद्वारा रोल्पा बस दुर्घटनाप्रति दुःख व्यक्त, घाइतेको उपचार र मृतकलाई राहत दिन निर्देशन

वर्षमान पुनद्वारा रोल्पा बस दुर्घटनाप्रति दुःख व्यक्त, घाइतेको उपचार र मृतकलाई राहत दिन निर्देशन


नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले आफ्नो गृहजिल्ला रोल्पामा भएको बस दुर्घटनामा चार जनाको ज्यान गएकामा दुःख व्यक्त गरेका छन् ।

पुनले सामाजिक सञ्जालमार्फत दुर्घटनामा ठूलो मानवीय क्षति भएकामा मर्माहत भएको बताएका छन् । पुनले दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै मृतक परिवारमा समवेदना व्यक्त गरे । पुनले दुर्घटनाका घाइतेको शिघ्र स्वास्थ्लाभको कामना गर्दै बढ्दो सडक दुर्घटना र त्यसबाट भइरहेका मानवीय क्षति न्यूनीकरणका लागि गम्भीर ध्यान दिन सरोकारवाला निकायसँग आग्रहसमेत रहेका छन् ।

उनले घाइतेको उपचारमा कुनै समस्या परे आफू र आफ्नो सचिवालयमा सम्पर्क राख्नसमेत भनेका छन् । रोल्पाबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका पुनले प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेलाई घाइतेको उपचार र मृतकलाई क्षतिपूर्तिको व्यवस्था मिलाउन निर्देशन दिनुका साथै उक्त कार्यमा आफ्नो समन्वय आवश्यक भए जानकारी गराउन भनेका छन् ।

रोल्पाको बाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना५ख २६१२ नम्बरको बस दुर्घटना त्रिवेणी गाउँपालिका–७ रिचीमा मंगलबार दुर्घटनामा परेको थियो । दुर्घटनामा माडी गाउँपालिका–४ का ५० वर्षका गोरख डाँगी, उनकी श्रीमती ४६ वर्षीया हस्ता डाँगी, माडी–२ का २२ वर्षीय प्रकाश बाँठा र परिवर्तन गाउँपालिका–३ का ४५ वर्षका भक्तबहादुर विकको ज्यान गएको थियो । दुर्घटनामा ११ महिने शिशुसहित १५ जना घाइते भएका छन् । प्रहरीले दुर्घटनामा चालकको लापरबाही देखिएको भन्दै चालक दाङको घोराहीका २४ वर्षीय हुमराज बस्नेतलाई नियन्त्रणमा लिएको छ ।

Logo