गठबन्धन बलियो हुँदासम्म कसैको दबाबमा राजीनामा दिनुपर्दैनः मन्त्री ज्वाला

गठबन्धन बलियो हुँदासम्म कसैको दबाबमा राजीनामा दिनुपर्दैनः मन्त्री ज्वाला


भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले कसैले माग्दैमा गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा नदिने बताएका छन् ।

आईतबार काठमाडौंमा आयोजित विशेष–साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले सरकारले अहिले भ्रष्टाचारको विरुद्धमा र सुशासनको पक्षमा निर्मतापूर्वक काम गरेको भन्दै यस्तो बेलामा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुको कुनै अर्थ नरहेको बताएका हुन् ।

‘अहिले राजीनामाको प्रसंग आउने गरिरहेको छ । एउटा कुरा त यो राजनीतिक स्टन्टबाजी पनि हुनसक्छ । अर्को पोलिटिकल कन्जम्पसन पनि हुनसक्छ। गठबन्धन बलियो हुँदासम्म र सरकारले शीर निहुराउने काम नगर्दासम्म कसैको दबाबमा राजीनामा दिनुपर्दैन । सरकारले एकातिर राम्रो काम पनि गरिहेको छ, अनि राजीनामा पनि दिनुपर्ने ? भ्रष्टाचारीलाई कारबाही गरेको बेलामा अनि राजीनामा गर्ने ? सुशासन कायम गर्नको लागि सरकारले यसरी काम गरिरहने, अनि राजीनामा दिनुपर्ने ? यो कुरा मिलेन ।’

मन्त्री ज्वालाले सरकारले राम्रो गरिरहेको अवस्थामा अर्थमन्त्री र गृहमन्त्रीको राजीनामाको प्रसंग आउनु नै गलत भएको बताए । उनले भने,‘अहिले राजीनामाको प्रसंग नै नआउनुपर्ने हो । राम्रो काम गर्नेले राजीनामा दिने होईन । कि त कोही भ्रष्टाचारमा मुछिनुपर्यो । बदनाम हुनुपर्यो । जनविरोधी काम गर्नुपर्यो । जनताले यो मन्त्री र प्रधानमन्त्रीले राजीनामा देउ भन्नुपर्यो । कुनै नेताले आफ्नो कुर्सीको निम्ति राजीनामा माग्नुको कुनै अर्थ हुँदैन् । जनताले यो सरकारलाई समर्थन गरेका छन् । सरकारका कामलाई जनताले प्रशंसा गरेका छन् । जनताले बल्ल सरकार भएको अनुभूति गर्न थालेका छन् । यतिवेला राजीनामाको प्रसंग आउनु बेमौसमको बाजा बजाउनु हो ।’

एक क्विन्टल सुन तस्करीबारे सिआईबीले छानबिन गरिरहेको उल्लेख गर्दै अनुसन्धान जरैसम्म पुग्ने र दोषीहरुमाथि कारबाही हुने मन्त्री ज्वालाले विश्वास दिलाए । 

Logo