१५५ केजी रहेको भनिएकाे सुन ब्रेक प्याडबाट निकाल्दा ६० केजी मात्रै, गाल्दा अझै घट्ने

१५५ केजी रहेको भनिएकाे सुन ब्रेक प्याडबाट निकाल्दा ६० केजी मात्रै, गाल्दा अझै घट्ने


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको झण्डै डेढ क्विन्टल परिमाणको ‘ब्रेक शु’ भित्रको सुन ६० केजी ७७९ ग्राम मात्रै रहेको पाइएको छ । 

आजदेखि सुनको मात्रा जाँच सुरु गरेको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले बरामद ‘ब्रेक शु’भित्रको सुन निकाल्दा सुनको परिमाण ६० केजी ७७९ ग्राम रहेको पाइएको जनाएको हो । अब गालेर जोख्दा तौल थप घट्ने बताइएको छ।

राजस्व अनुसन्धान विभागले यही साउन ३ गते विमानस्थलको भन्सार कार्यालय अगाडिबाट ‘ब्रेक शु’मा हालेर ल्याइएको ठूलो परिमाणको सुन बरामद गरेको थियो । त्यसको भोलीपल्ट ८ वटा पोकामा १६० ढिक्का बरामद गरिएको सुन नापजाँचका लागि महाशाखामै जोख्दा सुन १५५ केजी रहेको पाइएको थियो । तर, उक्त सुन जोख्ने क्रममा बेरिएको कपडा, कार्टुन, ब्रेक सु पनि समावेश थियो । अहिले ब्रेक प्याड निकाल्दा झण्ढै सय केजी तौल घटेको हो । 

सुन बरामद भएको १९ दिनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा सुन प्रकरणको अनुसन्धानको जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबीलाई दिइएको थियो । सिआइबीको पत्रपछि आजदेखि सुन गाल्नेलगायतका प्रक्रिया सुरु गरिएको हो । 

उक्त प्रकरणमा एकजना प्रहरी उपरीक्षकको सहयोग लिएर विभाग आफैँले अनुसन्धान गरिरहेकामा आइतबार १८ दिनपछि अनुसन्धानको जिम्मा सिआइबीलाई दिइएको छ। अहिलेसम्म उक्त घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका १७ हिरासतमा छन् । भन्सार एजेन्ट रूक्मिना सुब्बा भने स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा रिहा भएकी थिइन्। यो अनुसन्धान तस्करीका मूल नाइकेसम्म अझै पुगेको छैन । 

टक्सारमा जोखियो विमानस्थलबाट बरामद गरिएको सुन, ‘ब्रेक सु’सहित भेटियाे १५५ केजी

Logo