शिवम् सिमेन्ट्सको खुद नाफा ५६.२१ प्रतिशतले घट्यो

शिवम् सिमेन्ट्सको खुद नाफा ५६.२१ प्रतिशतले घट्यो


शिवम् सिमेन्ट्सको खुद नाफामा उल्लेख्य मात्रामा गिरावट आएको छ।

गत आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्ममा शिवमले ३० करोड २४ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको छ। जुन अघिल्लो वर्षको तुलनामा ५६.२१% थोरै हो। अघिल्लो आर्थिक वर्षमा यसले ६९ करोड ७ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

असार मसान्तसम्म सञ्चालन आम्दानी १६.२८% ले घटेर ७ अर्ब ७५ करोड रुपैयाँमा आएपछि खुद नाफामा असर परेको हो। अघिल्लो वर्ष उक्त आम्दानी ९ अर्ब २६ करोड रुपैयाँ रहेको थियो।

यसका साथै कम्पनीको वित्तीय लगात पनि अघिल्लो वर्षको ६ करोड ५३ लाख रुपैयाँबाट बढेर गत असार मसान्तसम्ममा ९ करोड ६६ लाख रुपैयाँ पुगेको छ। 

तेस्रो त्रैमासभर महंगो बैंक ब्याजदर, तरलता संकूचन, विश्व बजारमा इन्धनको अत्याधिक मूल्य वृद्धिको प्रभाव र नेपाल विद्युत प्राधिकरणको अघोषित लोडसेडिङका कारण कम्पनीको समग्र उत्पादन लागत वृद्धि भएको शिवमको व्यवस्थापन पक्षले विश्लेषण गरेको छ।

यसका साथै, विकास निर्माणमा आएको सिथिलता, नेपाल मागको तुलनामा सिमेन्टको उत्पादन अत्याधिक रहेका कारण बिक्री मूल्यमा आएको ह्रासलगायत कारणले कम्पनीको नाफा प्रभावित भएको रिपोर्टमा उल्लेख छ।

हाल शिवमको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ छ। यसको रिजर्भ कोषमा ३ अर्ब ७१ करोड रुपैयाँ रहेको छ। सेयर प्रिमियममा ९५ करोड ६२ लाख रुपैयाँ जम्मा भएको छ।

गत आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ६ रुपैयाँ ८७ पैसा (वार्षिक) रहेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ २०६ रुपैयाँ २३ पैसा छ।

Logo