संस्कार र संस्कृतिले सम्पन्न नेपाल ज्ञानभूमि होः अध्यक्ष ओली

संस्कार र संस्कृतिले सम्पन्न नेपाल ज्ञानभूमि होः अध्यक्ष ओली


 नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल विभिन्न चाडपर्व, संस्कृति र सम्पदाले सम्पन्न मुलुक भएको बताएका छन्। विश्वका कतिपय देशहरू ठूला र विकसित भए पनि नेपालमा जस्तो संमृद्ध संस्कृति र परम्परा अन्त नभएको दाबी उनले गरेका हुन्।

साउनको अन्तिम सोमबार पारेर भक्तपुरस्थित डोलेश्वर महादेवको दर्शन गर्न हिजो साँझ त्यहाँ पुगेका एमाले अध्यक्ष ओलीले नेपालमा गौरवपूर्ण सनातन परम्परा, संस्कृति रहेको स्मरण गरे।

त्यसको संरक्षण गर्दै नेपाल र विश्वसलाई नै अघि बढाउन देशका महान विभूतिहरूले महत्वपूर्ण योगदान गरेको चर्चा गरेका छन्। एमाले अध्यक्ष ओलीले भने,‘कतिपय विकसित देशहरूमा सनातन परम्परा भन्ने कुरा नै छैन। कति देश ठूला छन् तर भर्खर बनेका छन्। जसमा कुनै संस्कृति विकास हुनै पाएको छैन। तर हाम्रो देश अत्यन्तै गौरवपूर्ण छ।’

प्राकृति पक्ष बाहेक प्रारम्भ देखि नै नेपालमा शिव, पशुपतिनाथ, रुद्र, शंकर, महादेव, केदारनाथ आदि मान्दै आएको पनि बताए । साउनको सोमबारलाई सैव समुदाय र नाथ सम्प्रदायले विशेष दिनका रुपमा मनाउने गरेको पनि ओलीले चर्चा गरे।

डोलेश्वरलाई केदारनाथको शिर मानिने गरेको बताउँदै ओलीले शंकराचार्यले त्यसलाई प्रमाणित गरेको दाबी गरे। नेपाल देवभूमि, अत्यन्तै पावनभूमि, यो तपोभूमि, ध्यानभूमि, ज्ञानभूमि भएको जनाउँदै ओलीले थपे,‘उहाँबाट यो धर्तीमा सभ्यताको सुरुवात शम्भुनाथबाट भएको छ। शम्भुनाथकै एउटा रुप केदारनाथ, यस ठाउँलाई, उहाँको शिवलिंगलाई प्राकृतिकरुपमै केदारनाथको शिर भनेर मानिएको छ। र, शंकर आचार्यले यसलाई केदारनाथको शिर भनेर उहाँले प्रमाणित गर्नुभएको छ।’ 

हाम्रा परम्परागत, सांस्कृति तथा संस्कारजन्य कार्यहरुमा सरिक हुन पाएकोमा प्रसन्नता व्यक्त गर्दै एमाले अध्यक्ष ओलीले देशको संस्कृति र परम्परा संरक्षणमा लाग्न पनि अनुरोध गरे।

केदारनाथको शिर मानिने डोलेश्वरमा आरती दर्शन तथा टिका ग्रहण गरेका ओलीले त्यसक्षेत्रको विकास र संमृद्धिमा विगत देखि नै सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्। 

Logo