बैंकहरु साहुजी मात्र होइन, अप्ठ्यारोमा पर्दा थप ऋण पनि दिनुपर्छ -अध्यक्ष ओली

बैंकहरु साहुजी मात्र होइन, अप्ठ्यारोमा पर्दा थप ऋण पनि दिनुपर्छ -अध्यक्ष ओली


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैंकहरुले आफूलाई सुधार्नुपर्ने अवस्था रहेको टिप्पणी गरेका छन् । 

बुधबार काठमाडौंमा एमालेद्वारा आयोजित वर्तमान आर्थिक अवस्था समस्या र समाधान विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उद्यमीहरु नभए बैंकको व्यवसाय नचल्ने बताएका हुन् । उनले उद्योगहरु अप्ठ्यारोमा पर्दा थप ऋण दिएर तिर्नसक्ने अवस्थामा बैंकले फर्काउनु पर्ने बताए । 

उनले भने, ‘बैंकहरुले आफूलाई सुधार्नुपर्ने म देख्छु । बैंक खाली साहुजी मात्र होईन, उद्यमीहरुको सहयोगी हो । उद्यमी आसामी मात्र होईन उद्यमीहरु नभए व्यवसाय चल्दैनथ्यो उद्यमीले नै बैंकको कारोबार चलाएको छ । बैंकले आफूलाई मात्र हेर्ने होईन उद्योगहरु अप्ठ्यारोमा पर्दा ऋण तिर्न सक्दिनँ भन्ने अवस्थामा पुगेकोलाई थप ऋण दिएर तिर्न सक्ने अवस्थामा फर्काउनुपर्छ ।’  

अध्यक्ष ओलीले अहिले निजी क्षेत्र अगाडि बढ्न खोज्दा सरकारले निजी क्षेत्रलाई अनुकुलता प्रदान नगरेको दाबी गरे । उनले अगाडि भने,‘अहिले जब सम्भावना भयो तर अहिले समय अनुकुल निजी क्षेत्र अगाडि बढ्न खोज्दा सरकारले निजी क्षेत्रलाई अनुकुलता प्रदान गरिएको छैन । उद्योगहरु अप्ठ्यारोमा परेको बेलाहो सहयोग चाहिने । संकटको बेला सरकार उपस्थित हुनुपर्छ ।’

Logo