#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व73898735013547657156317
नेपाल5041

शिवजी : हिन्दुका भगवान्, किरातीका पुर्खा

भगवान शिवको प्रमुख पर्व हो महाशिवरात्रि । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णन गरिएको छ ।

शिवरात्रि प्रत्येक महिनाको चतुर्दशीका दिन पर्दछ । त्यसैले प्रत्येक चतुर्दशी तिथिमा स्वामी शिवको पूजा गर्ने चलन छ । तर, फाल्गुन कृष्ण चतुर्दशीलाई सबै शिवरात्रिमध्ये विशेष भएकाले महाशिवरात्रि भनिएको हो । ज्योतिषशास्त्रमा यस तिथिलाई परम शुभ फलदायी तिथि भनिएको छ ।

महाशिवरात्रिका दिन आज भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दुध, गाँजा र बेलपत्र चढाउने गर्छन् । आरति, भजन र सेवामा दत्तचित्त भएर लाग्नेहरूका लागि शिवरात्रि दशैँभन्दा कम छैन । त्यसैले आज बिहानैदेखि सबै उमेरका मानिसहरू पशुपतिनाथलगायतका शिवमन्दिरमा शिवको समर्पणमा पूजा गर्न पुगेका छन् । महाशिवरात्रि मनाउनुका पछाडि एउटा लोककथा पनि छ ।

समुद्र मन्थन हुँदा निस्किएको ‘कालकूट’ नामक विष कसले पिउने भन्ने सवाल हुँदा न देउताहरूले पिउन माने, न राक्षसहरूले नै । अन्ततः देवादिदेव महादेवले सो ‘कालकूट’ नामक विष पिए । त्यसरी महादेवले सो विष नपिएको भए संसारमा ध्वंस हुन्थ्यो भन्ने कथन छ । यसरी देउता र राक्षसहरूबीच समुद्र मन्थन हुँदा निस्किएको ‘कालकूट’ नामक विष पिएर संसार बचाएको हुँदा फाल्गुन कृष्ण चतुर्दशीका दिन महाशिवरात्रि पर्व मनाउन सुरु गरियो भन्ने कथन छ ।

शिवरात्रीको दिन भगवान शिवको पुजा गर्दैगर्दा शिव को थिए ? उनी भगवान् हुन् कि होइनन् ? यी प्रश्नहरूको उत्तर थाहा छैन तर सुहागरातकै दिन वनमा गएर मृगको रुपधारण गरी वनमा मृगिणीहरूसँग सहवास गर्दै बसेका आफ्नो कामुक श्रीमान‍्काे पत्नीव्रता जाँच्न लागि पार्वतीले किरातिनीको रुपधारण गरेको कुरो पनि स्वस्थानी व्रत कथामै सुन्न पाइन्छ । महाभारत लगायतका पौराणिक ऐतिहासिक ग्रन्थहरूमा शिवले किरातको रुप लिएको कथाहरूको चर्चा निकै पाइन्छ ।

तर शिवजी किरात हुन् र पार्वती किरातिनी हुन् भन्ने कुरो चाहिँ कुनै पनि ग्रन्थहरूमा लेखेको भेटिन्न । तर पनि शिव महादेव किरात हुन् । लिम्बूका येहाङ र राईका पारुहाङ हुन् । लिम्बूका युमा र राईका सुम्निमा हुन् भन्ने जगदिश चन्द्रको ‘प्राचिन नेपालको संक्षिप्त किरात इतिहास’ नामक पुस्तकमा उल्लेख छ । त्यस्तै हिन्दू धर्म शास्त्र योगिनी तन्त्र अनुसार कुश दीपबाट आएकी कङ्कती नामकी एक कन्यासँग शिवजीको संसर्गबाट एउटा प्याउसो जन्मेछ त्यो प्याउसोको नाम किरात राखिएको इमानसिंह चेम्जोङको ‘किरात इतिहास’ नामक पुस्तकमा उल्लेख छ ।

किराती अनुसन्धानकर्ताका अनुसार शिवका बारेमा के भन्ने गरिन्छ भने ‘शिवका आमा र बाबु थिएनन् ।’ उनी आफैँ उत्पत्ति भएका अर्थात् भुइँफुट्टा थिए । त्यति मात्रै होइन, भगवान् शिवले नै ब्रह्मा र विष्णुको उत्पत्ति गराए । भगवान शिव संहारक थिए भने ब्रह्मा सृष्टिकर्ता थिए । त्यस्तै, विष्णु पालनकर्ता थिए । तैपनि हालसम्म लिखित रूपमा शिव किरात नै थिए भन्ने प्रामाणिक रूपमा केही भेटिँदैन । तथापि, भगवान् शिवले बोक्ने हतियार त्रिशूल, उनले बजाउने डमरु, उनले सेवन गर्ने भाङ, धतुरो, गाँजा तथा उनले रूप धारण गर्ने विभिन्न स्वरूपहरू र उनले वाहनको रूपमा प्रयोग गर्ने नन्दी र उनले लगाउने वस्त्र आदि हेर्दा उनी किराती नै हुन् भन्न सकिने आधार भने बलियो देखिन्छन् । शिव खासमा कैलाश पर्वतमा बस्थे । कैलाशबाटै ‘कैरात’ ‘किरियाड’ हुँदै ‘किरात’ भएको भन्ने धेरै खोजकर्ता, अनुसन्धानकर्ता, इतिहासकार, लेखक, विश्लेषकहरूको बलियो मत छ ।

हाल आएर भगवान् शिवको नाममा ‘महाशिवरात्रि पर्व’ अधिकांश हिन्दुहरूले मनाउने गरेको देखिए तापनि खासमा शिव भनेका किरातीहरूको आदि पुरुष पारुहाङ नै हुन् भन्ने किराती अनुसन्धानकर्ताहरूले दाबी गर्दै आएका छन् । यसको बलियो तथ्यसहितको आधार वा प्रमाण नभए पनि वैदिक आर्य बाहुन हिन्दुहरूले मद वा नशालु पदार्थ सेवन गर्दैनथे र गर्दैनन् । यो तथ्य सबैलाई थाहा भएकै हो । तर इतिहासमा अनार्य, व्रात्य, भिल्ल, कैरात्य, राक्षस आदि भनी चिनिएका वा चिनाइएका किरातीलगायत आदिवासी जनजातिहरू मद वा नशा सेवन गर्छन् । शिवलाई भगवानको रुपमा नै मान्ने गरिएको छ भने किराती सामुदायमा आफ्नै बाजेको मृत्यु भएको ७ वर्षपछि घरमा देवताको रुपमा राखेर पूजा गर्ने चलन अझै पनि छ । त्यसैले पनि किरातीहरूले पुरुहाङ नै शिव हुन् भन्दै आएका छन् ।

जे भएपनि शिवरात्रि युवा पुस्तालाई आकर्षित गर्ने पर्व बनेको छ । शिव भगवानको बिन्दास शैली र मस्त मगन स्वभाव धेरै युवापुस्ताले रुचाउँछ । त्यसैले पशुपतिमा प्रायजसो युवा पुस्ताको उल्लेख्य उपस्थिति छ ।

युवाहरू रातभर पशुपतिमा नाच्दै र गाउँदै समय बिताउने गर्छन् । यसपालि पशुपति क्षेत्रमा मदिरा, गाँजा, भाङलगायतका नशालु पदार्थ बेचबिखन निषेध गरिए पनि वर्षमा एक दिन ‘महादेवको प्रसाद’ भन्दै लुकीलुकी खाने युवाहरूको कमी पनि छैन ।

सम्बन्धित समाचारहरु

ताजा समाचार