न्युजिल्यान्डमाथि युएईको ऐतिहासिक जित

न्युजिल्यान्डमाथि युएईको ऐतिहासिक जित


घरेलु टोली युएईले टेस्ट टोली न्युजिल्यान्डमाथि दोस्रो टी-ट्वान्टी आई खेलमा ऐतिहासिक जित हात पारेको छ। दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा शनिबार राती भएको खेलमा युएई ७ विकेटले विजयी भएको हो। 

जितसँगै तीन खेलको टी-ट्वान्टी आई सिरिज १-१ को बराबरीमा पुगेको छ। युएईले कुनै पनि फम्र्याटको खेलमा पहिलो पटक न्युजिल्यान्डलाई पराजित गरेको हो। न्युजिल्यान्डले दिएको १ सय ४३ रनको लक्ष्य युएईले १५ दशमलब ४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। 

युएईको जितमा कप्तान मोहम्मद वासिमले २९ बलमा ४ चौका र ३ छक्कासहित ५५ रनको अर्धशतकीय ईनिङ खेले। पहिलो खेलमा उत्कृष्ट अर्धशतक प्रहार गरेका युवा ओपनर अर्यांश शर्मा पहिलो ओभरमै शुन्यमा आउट भए। 

आसिफ खान २९ बलमा ५ चौका र १ छक्कासहित ४८ रनमा अविजित रहे। वृत्य अरविन्द २१ बलमा ३ चौका र २ छक्कासहित २५ रनमा क्याच आउट भए। न्युजिल्यान्डका टिम साउथी, मिचेल सान्टनार र काइल जेमिसनले समान १/१ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ८ विकेटको गुमाएर १ सय ४२ रन बनाएको थियो। न्युजिल्यान्डका युवा ब्याटर मार्क च्यापम्यानले ४६ बलमा ३ चौका र ३ छक्कासहित ६३ रनको अर्धशतकीय ईनिङ खेले पनि जितको लागि पर्याप्त हुन सकेन। 

च्यापम्यान बाहेक कुनैपनि न्युजिल्यान्डका ब्याटरले सम्झन योग्य प्रदर्शन गर्न सकेनन्। युएईका लागि आयन खानले ३ तथा मोहम्मद जवादुल्लाहले २ विकेट लिए। अली नासिर, जहुर खान र मोहम्मद फराजुदीनले समान १/१ विकेट लिए। दुई देशबीचको तेस्रो तथा निर्णायक खेल आइतबार हुनेछ।

Logo