उपसभामुखले संसदीय परम्परा तोडेर द्वन्द्व निम्त्याएको मुख्यमन्त्री थापाको आरोप

उपसभामुखले संसदीय परम्परा तोडेर द्वन्द्व निम्त्याएको मुख्यमन्त्री थापाको आरोप


कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाले उपसभामुख सिर्जना दनुवारले संसदीय परम्परा तोडेर द्वन्द्व निम्त्याएको आरोप लगाएका छन् । 

मुख्यमन्त्री थापाले साेमबार विश्वासको मत लिने कार्यसूची रहेपनि त्यसलाई अलपत्र छाडेर उपसभामुख दनुवार काठमाडौँ हिँडेपछि उनको यस्तो टिप्पणी आएको हो । 

विराटनगरस्थित होटेल स्टर्नस्टारमा आयोजित सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग मुख्यमन्त्री थापाले भने- ‘आफैंले तोकेको बैठकमा उपस्थित नहुनु सरासर गलत हो, उहाँले संसदीय परम्परालाई तोड्ने काम गर्नु भएको छ । विश्वासकाे मत लिने बैठकमा उपस्थित हुने मन थिएन भने उपसभामुखज्यूले समय नदिएकाे भए पनि हुन थियाे नि ? किन समय निर्धारण गर्नु ?’ 

साथै मुख्यमन्त्री थापाले आजै विश्वासको मत लिने समय टरेको पनि बताएका छन् । अब १३ गतेभित्र कुनै दिनलाई निश्चित गरेर फेरि विश्वासको मत लिने उनकाे भनाई छ । 

सत्ता गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनेका थापाको पक्षमा बहुमत ४७ प्रदेशसभा सदस्यको मात्र समर्थन रहेको छ। ९३ सदस्यीय प्रदेशसभामा काँग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीको एक गरी ४७ सांसद छन् । विपक्षमा एमालेका उपसभामुख बाहेक ३९ र राप्रपाको ६ जना सांसद छन्। 

Logo