नारायण रायमाझी साङ्गीतिक साँझ आयोजना हुने

नारायण रायमाझी साङ्गीतिक साँझ आयोजना हुने


वरिष्ठ लोकगायक, सङ्गीतकार तथा चलचित्र निर्देशक नारायण रायमाझीका आफ्ना गीत प्रत्यक्ष रुपमा प्रस्तुत गर्नका लागि ‘नारायण रायमाझी साङ्गीतिक साँझ’ आयोजना हुने भएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा यही भदौ १५ गते साङ्गीतिक साँझ आयोजना हुने भएको हो । प्रतिष्ठानले साङ्गीतिक साँझको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । 

प्रतिष्ठानका अध्यक्ष रीता थापामगरले स्रष्टाको सम्मानका लागि भदौ १५ गते दिउँसो १ देखि बेलुकी ७ बजेसम्म नेपाल प्रज्ञा प्रतिष्ठानमा साङ्गीतिक साँझ आयोजना गर्न लागिएको बताइन् ।

उक्त एकल साँझमा रायमाझीले आफूले गाएका उत्कृष्ट गीत प्रस्तुत गर्ने जनाइएको छ । उक्त साँझलाई प्रतिष्ठानले राष्ट्रकै गौरवका रूपमा चित्रण गरेको छ । रायमाझी लोकगीत, सङ्गीत, संस्कृतिको निरन्तर साधक छन् । रायमाझीले आफ्नो साङ्गीतिक यात्रा भने विसं २०४२ सालदेखि सुरु गरेका हुन् । उनले त्यति बेला कारगिल (रेलिमै) बाट आफ्नो साङ्गीतिक यात्राको सुरुआत गरेका हुन् ।

उनका फुलबुट्टे चोलीमा, राम्दीपुल तरने बित्तिकै, राम्दी पुल तर्ने, गेटमा वेली जाई, कालो केशमा रातो रिबन, शिरमा रिबन, तिनाउ खोलामा, पसिनाले पैसा साटेर, माया पैँचो नदेऊ साइँली, लाइछौ बेसन, नमुछे आमा दहीमा टीका, हाँसेर बोलिदेऊ माया, सान्नानीले झुक्यायो मलाईलगायत सयौँ गीत सबैका मन मुटुमा बसेका छन् । 

Logo