#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32004058979117746583623559105
नेपाल678044361741449954

गाडीको सट्टा एम्बुलेन्स किन्ने उपाध्यक्ष भन्छिन्-“हामी लिनलाई होइन दिनलाई आएका हौं”

जनप्रतिनिधिहरुको एकपछि अर्काे बदमासी सार्वजनिक भइरहँदा सोमबार बिहान नेपाली अनलाइन मिडियाहरूमा प्रकाशित एउटा समाचार यतिबेला सामाजिक सञ्जालहरूमा धमाधम सेयर भइरहेका छन् । यसरी चर्चा पाउने व्यक्ति हुन् काभ्रेको रोशी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी बर्ताैला । उनले आफूलाई गाडी किन्न दिएको पैसाले एम्बुलेन्स किनेका थिए ।

वि.स २०७४ सालको स्थानीय निर्वाचनमा उनी नेपाली कांग्रेसको तर्फबाट विजयी भएकी थिइन् । निवार्चित भएदेखि नै सार्वजनिक बस, बोलेरो, भ्यानहरुमा यात्रा गर्दै कार्यालय आउजाउ गर्दै आएकी उनले आफूलाई प्राप्त गाडी सुविधा जनताका लागि सुम्पेकी हुन् । प्रस्तुत छ, उपाध्यक्ष बर्ताैलासँग केन्द्रबिन्दुका समाचार संयोजक रामजी बलामीले गरेको कुराकानीः

१. त्यहाँका वडाध्यक्षहरूलाई समेत गाउँपालिकाले मोटरसाइकल दिएको छ । तर, तपाईले भने आफूलाई दिएको रकमले गाउँपालिकाका लागि एम्बुलेन्स खरिद गर्नुभएछ, तपाई चाहिँ दैनिक कसरी कार्यालय आउजाउ गर्नु हुन्छ ?

मेरो घरबाट कार्यालय आउजाउ गर्न डेढदेखि २ घण्टा लाग्छ । कहिले बसमा आउँछु, कहिले बोलेरोमा आउँछु । कहिलेकाँही गाडी नपाउँदा भने समस्या हुन्छ । बिहानै कार्यालयको काम पर्दा सबेरै उठेर आउँछु । समयको व्यवस्थापन नै ठूलो कुरा हो । अहिलेसम्म यसरी नै आउजाउ गरिरहेको छु ।

२०७४/०७५ को बजेटमा नै गाउँपालिकाले अध्यक्ष र उपाध्यक्षलाई सवारीसाधनको सुविधाको व्यवस्था थियो । त्यसका लागि ५७ लाख रुपैंया छुटट्याइएको थियो । तर मैले गाडी नलिने प्रस्ताव लगेँ । त्यही रकमबाट कर छुटसहित २१ लाख पाँच सय २० रुपैयाँमा दुई वटा एम्बुलेन्स खरिद गरेका हौं ।

२. एम्बुलेन्सबाट कुन कुन ठाउँका वासिन्दा लाभान्वित हुनेछन् ?

एम्बुलेन्सहरु वडा नम्बर ५ र ११ को स्वास्थ्य चौकीलाई प्रदान गरेका छौं । एम्बुलेन्स सञ्चालन समितिका अध्यक्षलाई आइतबार एम्बुलेन्स हस्तान्तरण गरेका हौं । एउटा एम्बुलेन्स आज नै विरामी लिएर धुलिखेल अस्पताल गइसकेको छ । एम्बुलेन्सबाट रोशी गाउँपालिकाका साथै नमोबुद्ध नगरपालिका, महाभारत गाउँपालिका, तेमाल गाउँपालिका तथा छिमेकी जिल्ला सिन्धुलीको सुनकोशी गाउँपालिकालगायतका बासिन्दा लाभान्वित हुने छन् ।

३. जनप्रतिनिधिहरुलाई भ्रष्ट्राचार गरेको, आफ्नो सेवासुविधा आफै बढाएको, गैरकानूनी काममा संलग्न भएको जस्ता आरोपहरू लागिरहेका बेला तपाईंलाई कसरी यस्तो सोच पलायो ?

हामी पाँच वर्षका लागि जनताको सेवा गर्न आएका हौं । हामी हिजो जसरी नमस्कार गर्दै भोट माग्न गएका थियौं अहिले पनि त्यसरी नै नमस्कार गर्दै सेवा गर्न जानुपर्छ । यहाँ कोही राजा र कोही रैती हुनु हुँदैन । कि सबै राजा कि सबै रैती हुनु पर्छ । हामी लिनलाई होइन दिनलाई आएका हौं । हामी सेवासुविधा भोग्न होइन जनताको सेवा गर्न चुनेका हौं । आज राम्रो गरे पो भोलि जनताको नजरमा परिन्छ ।

४. तपाईंका यस्ता उदाहरणीय काम अरू पनि छन् कि ?

मैले आफ्नो कर्तव्य निभाएको मात्रै हुँ । गाउँपालिकाले हामीलाई गाडीसहित इन्धन खर्च समेत छुट्याइएको थियो । तर मैले त्यो पनि लिएको छैन । सार्वजनिक यातायात प्रयोग गरेवापत मैले भाडा पनि लिने गरेको छैन । इन्धन खर्चवापतको ३ लाख रुपैंयाबाट मैले गाँउपालिकाभरीका टुहुरा र फरक क्षमता भएका बालबालिकालाई ६ हजार दुई सय ५० रुपैंयाका दरले छात्रवृति वितरण गरेकी थिँए । म संयोजक रहेको ६ वटा समितिमा मैले भत्ता लिएको छैन ।

५. तपाईको बिचारमा जनप्रतिनिधिहरूले आन्तरिक स्रोतको कसरी सदुपयोग गर्न सक्छन् ?

स्थानीय क्षेत्रको विकास गर्ने पहिलो दायित्व स्थानीय सरकारको हो । त्यसकारण जनप्रतिनिधिहरू जनताप्रति उत्तरदायी हुनुपर्छ । आन्तरिक स्रोतलाई आफू अनुकुल होइन जनभावना अनुरुप सदुपयोग गर्नुपर्छ । अनावश्यक सेवासुविधा लिएर जनताबाट टाढिनु हुँदैन । स्रोतको पहिचान, व्यवस्थापन र सही सदुपयोग नै विकासको आधार हो ।

सम्बन्धित समाचारहरु