#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32094034981962743572323676349
नेपाल678044361741449954

‘सरकारले औद्योगिक कानूनहरुमा सुधार गरेको छ’ : अर्थमन्त्री

फाइल फोटो

काठमाडौँ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले लगानी वृद्धि र लगानीकर्तालाई आकर्षित गर्न सरकारले औद्योगिक कानूनहरुमा सुधार गरेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित ‘इन्भेष्टमेन्ट क्लाइमेट रिर्फम इन नेपाल’ सम्बन्धी परामर्श कार्यशालालाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले विश्व भरका लगानीकर्तालाई आकर्षित गर्न औद्योगीक कानूनहरुलाई सहज बनाउँदै गएको बताए ।

उनले लगानीकर्ताको सहजताका लागि एकद्वार प्रणालीमार्फत उद्योग स्थापना गर्न सक्ने सुविधाको विकास गरिसकेको समेत बताए । नेपालको अर्थतन्त्रमा सुधार हुँदै गएकाले पर्यटन, जलविद्युत, सेवामूलक र उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन निजी क्षेत्रलाई आग्रह समेत गरे ।

उनले सरकारले कर प्रणालीलाई समेत पारदर्शी बनाएको र व्यवसायमा अप्ठ्यारो परेको अवस्थामा अर्थ मन्त्रालयले प्रत्येक वर्ष बजेट मार्फत करका विषयमा सुधार गर्दै जाने बताए । उनले निजी क्षेत्रका समस्याहरुलाई सरकारले विस्तारै समाधान गर्दै गइरहेको र उत्पादन बढाउन विभिन्न सुविधाहरु दिदै आएको समेत बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेपालको कस्ट अफ डुइङ बिजनेस अझैपनि उच्च रहेको बताए । यातायात खर्च बढी हुनु, करका दरहरु उच्च हुनु, दक्ष जनशक्तिको अभाव लगायतका कारणले नेपालको कस्टअफ डुइङ बिजनेस अझैपनि उच्च रहको तर्क उनको थियो । उनले करको दायरा र दरहरु बढाउँदै जाँदा साना उद्योगहरुलाई समस्या परेको समेत बताए ।

विश्व बैंकसँगको सहकार्यमा सरकारले आयोजना गरेको उक्त कार्यशाला गोष्ठी दुई दिनसम्म चल्नेछ । कार्यशालामा नेपालमा लगानीका लागि देखिएका चुनौती र सम्भावनाका विषयमा विस्तृत छलफल हुनेछ ।

सम्बन्धित समाचारहरु