दुई कैदीको मृत्यु प्रकरणः प्रहरीसहित १३ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा

दुई कैदीको मृत्यु प्रकरणः प्रहरीसहित १३ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा


संखुवासभा सदरमुकाम खाँदबारीस्थित जिल्ला कारागारभित्र भएको दुईजना कैदीको हत्या प्रकरणमा प्रहरीसहित १२ जनाविरुद्ध कर्तव्य ज्यानमा मुद्दा दर्ता गरिएको छ।

कैदीको हत्या प्रकरणमा संलग्न भएको पाइएका प्रहरी सहायक निरीक्षकसहित ५ प्रहरी तथा चौकीदारसहित ७ जना कैदीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरिएको विराटनगरस्थित कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। 

उनीहरुविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धानलाई थप अघि बढाइएको संखुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए। कारागारमा रहेको सीसीटीभी फुटेज अध्ययन तथा प्रत्यक्षदर्शीहरुको बयानका आधारमा घटनामा प्रहरी र केही कैदीको संलग्नता देखिएको जनाइएको छ।

प्रारम्भिक अनुसन्धानपछि प्रहरीले ज्यान मार्ने मुद्दा दर्ता गरी थप अनुसन्धान सुरु गरेको जनाएको छ। दुई साताअघि भएको कुटपीटबाट कारागारमा रहेका संखुवासभाका विनोद तोलांगी र नुवाकोट, ककनीका आकाश बलामीको मृत्यु भएको थियो।

शौचालयको रड तोडेर राति कारागारबाट भाग्न खोज्दा ती दुईजना कैदीलाई प्रहरीले नियन्त्रणमा लिएका थिए। त्यसपछि उनीहरुमाथि कुटपिट भएको थियो। मृतकका आफन्त र अधिकारवादी संस्थाहरुले प्रहरीको यातनाका कारण उनीहरुको मृत्यु भएको भन्दै दोषीमाथि कारबाही गर्न माग गर्दै आएका छन्।

Logo