सिनेमाघर एपमा आजबाट फिल्म रिलिज सुरु, महापुरुष हेर्न पाइने

सिनेमाघर एपमा आजबाट फिल्म रिलिज सुरु, महापुरुष हेर्न पाइने


सन् २०१६ देखि सञ्चालनमा आएको सिनेमाघर एपमा आजबाट फिल्म रिलिज हुन थालेको छ । 

शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच फिल्म रिलिजबारे जानकारी गराइएको हो ।  गत वर्षको सुपरहिट फिल्म ‘महापुरुष’ पनि अब सःशुल्क रुपमा ओटीटी प्लेटफर्ममा उपलब्ध भएको छ ।  

उक्त कार्यक्रममा कलाकार खगेन्द्र लामिछानेले ‘महापुरुष’ लाई हलमा जस्तै एपमा पनि दर्शकको राम्रो साथ मिल्ने विश्वास व्यक्त गरे । उनले नेपालमा एपमा फिल्म हेर्ने दर्शकको संख्या निकै बढ्न थालेको पनि बताए । उनले भने, ‘हामी हरेक १५ दिनमा फिल्महरु रिलिज गर्ने तयारीमा छौँ, केही महिनापछि हामी त्यो प्रक्रियामा अगाडि बढाउछौँ । भविष्यमा एपको प्रयोग बढेपनि एपमा मात्रै रिलिज गर्दा फाइदा हुन्छ भनेर रिलिज गर्ने प्रक्रिया पनि अगाडि बढ्न सक्छ ।’ 

अघिल्लो वर्ष सिनेमाघर एपमा फिल्म ‘कबड्डी ४’ रिलिज भएको थियो । दर्शकको अत्याधिक चापका कारण एपको सर्भर १२ घण्टासम्म डाउन भएको थियो । त्यसपछि सर्भरलाई अपग्रेड पनि गरिएको थियो । 

उनले एपमा ‘कबड्डी ४’ले युट्युबमा भन्दा राम्रो कमाई गरेको समेत दाबी गरे । 

‘महापुरुष’का अभिनेता हरिवंश आचार्यले पहिलो पटक ओटीटी प्लेटफर्ममा आफ्नो फिल्म रिलिज भएकोमा खुसी व्यक्त गर्दै अहिले डिजिटल मार्केट फराकिलो भैसकेको र यसले कलाकारलाई जीवित बनाइराखेको बताए । उनले भने, ‘डिजिटल बजार यति फराकिलो भएको छ, नेपाली चलचित्रको लागि बरदान नै सावित भएको छ ।’  

कार्यक्रममा फिल्मका निर्देशक प्रदीप भट्टराई, अभिनेता अरुण क्षेत्री, निर्माताद्वय म्यास दिपेश खत्री र रबीन्द्र सिंह बानियाँ, अभिनेत्री गौरी मल्ल, कलाकारहरु राजाराम पौडेल, नरेश पौडेललगायतको उपस्थिति थियो । 

एन्ड्रोइड मोबाइल, ट्याब्लोईड, एन्ड्रोइड तथा स्मार्ट टीभी, अमेजन फायर टीभी, सामसुङ जस्ता टीभीमा सिनेमाघर एप उपलब्ध छ भने मोबाइलमा एप ‘लगइन’ गरेर त्यसबाट अरु डिभाइसमा पनि फिल्म हेर्न सकिने व्यवस्था गरिएको छ । नेपालमा इसेवा र खल्ती तथा विदेशबाट डेबिट कार्ड र क्रेडिट कार्डबाट भुक्तानी गर्न सकिने बताइएको छ । 

Logo