#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32937094996174763007824310842
नेपाल718214671834153013

‘व्यक्तिगत स्वार्थका लागि संविधान संशोधन गरे मिलेर प्रतिवाद गर्छौं’

काठमाडौं ।

व्यक्तिगत स्वार्थका लागि संविधान संशोधन गरे मिलेर प्रतिवाद गर्ने नेपाली कांग्रेस र राजपा नेताहरुले बताएका छन् । मंगलबार रिर्पोर्टस क्लबमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेस नेता मिन विश्वकर्मा र राष्ट्रिय जनता पार्टी नेता लक्ष्मणलाल कर्णले प्रतिवाद गर्ने बताएका हुन् ।

संविधान कसैको स्वार्थ पूर्तिका लागि भन्दा पनि राष्ट्रिय आवश्यकता र जनताको चाहाना अनुसार हुने नेता कर्णको भनाइ छ । उनले भने–‘ लोकतन्त्रको मर्म अनुसार जनताको चाहाना र राज्यको आवश्यकतामा संविधान संशोधन गरिन्छ । हारेकालाई चोर बाटोबाट ल्याएर प्रधानमन्त्री बनाउँन होइन ।’

नेपाली कांग्रेस नेता मिन विश्वकर्माले केपी ओली नेतृत्वको सरकारले सत्तामा आएदेखि नै संविधान मिच्दै आएको आरोप लगाएका छन् । उनले सरकार यस्तै ढङ्गले अगाडि बढे राजपा र समाजवादी पार्टीसँग मिलेर कांग्रेसले प्रतिपाद गर्ने चेतावनी दिए । ‘नेपाली कांग्रेसले राजपा र समाजवादीसँग मिलेर संविधान संशोधनका लागि प्रस्ताव लग्यो’ उनले भने “नेकपाको असहयोगका कारण रोकियो, अहिले कसैको स्वार्थका लागि संशोधन गर्ने ? मिलेर प्रतिवाद गर्छौ ।”

त्यस्तै राजनीतिक विश्लेषक सुरेन्द्र केसीले अहिलेको संविधान अनुसार नेकपाले राष्ट्रिय सभा सदस्यलाई प्रधानमन्त्री बनाउन नसक्ने दाबी गरेका छन् । संविधानका सवै विषयमा बहुमतबाट संशोधन गर्न नसकिने उनको भनाइ छ । उनले भने–‘नेपालको संविधान अनुसार सवै विषयमा बहुमतबाट संशोधन गर्न मिल्दैन । यदी नेकपाले बहुमतका आधारमा संशोधन गर्ने भए फेरी निर्वाचनमा गएर स्पष्ट एजेण्डा राखी जितेर आउनुपर्छ ।’

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले संविधान संशोधन गर्ने विषयमा पूर्वाग्रह राखेर तर्क गर्न नहुने बताएका छन् ।

संविधानमा नै संशोधन गर्न सकिने धारा राखिएकाले आवश्यकता अनुसार संशोधन गरेर अगाडि बढ्न सकिने उनको भनाइ छ । उनले भने–‘ संविधानको धारामा संशोधनको व्यवस्था गरिएको छ । यो कुनै अपरिर्वतनिय दस्तावेज होइन । आवश्यकता अनुसार संशोधन गरी अगाडि बढ्न सकिन्छ ।’

गत शनिबार नेकपा स्थायी समिति बैठकले प्रतिनिधि सभा सदस्यलाई पनि प्रधानमन्त्री बन्न सक्ने व्यवस्था गर्न संविधान संशोधन सम्बन्धी गृहकार्य गर्न तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको थियोे ।

सम्बन्धित समाचारहरु