कांग्रेस रुपान्तरण र सुधारको काम आफैँबाट सुरु गरौँः उपसभापति खड्का

कांग्रेस रुपान्तरण र सुधारको काम आफैँबाट सुरु गरौँः उपसभापति खड्का


नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टी  रुपान्तरण र सुधार आफैबाट सुरु गर्नुपर्नेमा जोड दिएका छन् । 

काठमाडौँ क्षेत्र नम्बर ३ को क्षेत्रीय भेलामा उपसभापति खड्काले गाँउ तहदेखि केन्द्रीय तहसम्मका सबै नेतालाई पार्टी रुपान्तरण र सुधारका लागि आफैँबाट सुरु गर्न सुझाव दिएका हुन् । “अरुलाई भन्नुभन्दा हरेक नेता तथा कार्यकर्ताले आफैँबाट सुधार सुरु गर्नुपर्छ”, उनले भने, “पार्टीलाई जीवनका  लागि टोल तहको नेतृत्वदेखि केन्द्रीय तहका सबैमा सुधार जरुरी छ ।” 

उपसभापति खड्काले आम नेपाली जनता, मतदाता र पार्टी कार्यकर्ताले मन नपराएको र नगर भनेको कुरा नगर्दा मात्रै पनि पार्टीमा सुधार देखिने धारणा राखे । उनले जनताले औँल्याएका कमी कमजोरी सुधार गरी जाने संकल्प बोकेर काम गरे पार्टी सुधार र रुपान्तरण हुने बताए । 

पार्टीमा स्थापनाकालमा काम गरेका र नयाँ पुस्ता पनि रहेको भन्दै उनले पार्टीको निर्णय पनि त्यसैअनुसार व्यवस्थापन हुनुपर्ने भनाइ राखे । उनले केन्द्रीय तहबाट हुनुपर्ने विभाग गठनमा केही ढिलाइ भएपनि चाँडै त्यसलाई पूर्णता दिने जानकारी पनि दिए । 

उपसभापति खड्काले एउटा उमेर समूहले अर्को उमेर समूहलाई पार्टीमा औंला उठाउने मात्र गरे पार्टी बलियो हुन नसक्ने भन्दै सबै मिलेर जानुपर्नेमा जोड दिए ।

नेपाल सरकारका उपप्रधानमन्त्री एवम् रक्षामन्त्री समेत रहेका खड्काले सरकारले सुशासनको अभियानलाई निरन्तरता दिने समेत स्पष्ट पारे । उनले भ्रष्टाचार अन्त्य गर्ने र सुशासनका लागि वर्तमान सत्ता गठबन्धन बनेकाले सरकार पनि त्यही संकल्पका साथ अघि बढेको बताए । उनले सरकारले चाँडै लम्की स्कीन रोगबाट पीडित किसानलाई राहत दिने र त्यसका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले काम गरिरहेको जानकारी पनि दिए । 

Logo