केटिएम भ्वाइस डटकमले सुरु गर्‍याे ‘वित्तीय साक्षरता’ टेलिभिजन कार्यक्रम

केटिएम भ्वाइस डटकमले सुरु गर्‍याे ‘वित्तीय साक्षरता’ टेलिभिजन कार्यक्रम


अर्थप्रधान अनलाइन पत्रिका केटिएम भ्वाइस डटकमले ‘वित्तीय साक्षरता’ टेलिभिजन कार्यक्रम सुरु गरेको छ । आइतबार काठमाडाैंमा एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ‘वित्तीय साक्षरता’ टेलिभिजन कार्यक्रमकाे समुद्धघाटन गरेका हुन् । 

नेपाल टेलिभिजनबाट हरेक शुक्रबार साँझ ७ः२५ बजे प्रशारण हुने उक्त टेलिभिजन कार्यक्रम २ वटा खण्डमा हुने छ । पहिलो खण्डमा गाउँ-गाउँ गएर वित्तीय साक्षरता अवस्थाबारे बुझ्ने बुझाउने र रिपोर्टलाई प्रथामिकता दिने र दोस्रो खण्डमा नेपाल राष्ट्र बैंकका अधिकारी, बैंकर तथा बैंकिङ क्षेत्रका विज्ञसंग वित्तीय साक्षरतासँग सम्बन्धित कुराकानी प्रस्तुत गर्ने योजना रहेको केटिएम भ्वाइसका सञ्चालक रोयल आचार्यले जानकारी दिए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफूले हस्ताक्षर गरेको नोट फ्रेममा सिमित भएमा आफू खुसी हुने बताए । आफू नोटमा हस्ताक्षर गर्ने मध्येकै बहालवाला गभर्नर भए पनि बैंकिङ कारोबार डिजिटल होस् भन्ने चाहाना आफ्नो रहेको उनले बताए । 

गभर्नर अधिकारीले दुई तिहाई नेपाली नागरिकले मोबाइल बैंकिङ प्रयोग गरिरहेको भन्दै खुसी समेत व्यक्त गरे । 

यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले चुनाव जित्ने र पपुलर हुने बाहनामा आफ्नै साथीहरुले बैंकको विरोध गरेर गल्ती गरेको बताएका छन् । सरकार राष्ट्र बैंकले आम सर्वसाधारणमा कन्फिडेन्स बढाउन भुमिका खेल्नुपर्ने धारणा राख्दै उनले भने- ‘अहिलेको समस्या कोरोना महामारीलगायत अन्य विश्वब्यापी समस्याका कारण आएको हो ।’

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले पछिल्लो ५–७ वर्ष यता वित्तीय साक्षरता बढेको जानकारी दिँदै गर्भनर अधिकारी र राष्ट्र बैंकको पहलको कारण क्युआर र डिजिटल प्रविधिको प्रयोग उहारणीय रुपमा बढ्दै गएको धारणा व्यक्त गरे । 

अध्यक्ष केसीले बैंकिङ क्षेत्रका विषयमा नकारात्मक धारण वित्तीय साक्षरताको कमीका कारण बढेको बताए । 

यसैगरी लघुवित्त बैंकर्स संघका कार्यबाहक अध्यक्ष रामबहादुर यादवले लघुवित्तलगायत बैंकिङ क्षेत्रमा नकारात्मक धारणा पैदा हुनुको कारण राजनीतिक भएको बताएका छन् । उनले राजनीतिक दलका माथिल्लो तहका ब्यक्तिहरुलाई नै वित्तीय साक्षरता दिनुपर्ने आवश्यकता रहेको औंल्याएका छन् । 

Logo