एसिया कप खेल्न सन्दीप लामिछाने पाकिस्तान प्रस्थान

एसिया कप खेल्न सन्दीप लामिछाने पाकिस्तान प्रस्थान


एसिया कप क्रिकेट खेल्नका लागि क्रिकेटर सन्दीप लामिछाने सोमबार पाकिस्तान प्रस्थान गरेका छन् । कतारको दोहा हुँदै लामिछाने पाकिस्तान पुग्ने बताइएको छ । 

अदालतले सन्दीपको अर्को पेशी भदौ २१ गतेका लागि तोकेको छ । नाबालिग बलात्कारको आरोपमा सन्दीपविरुद्ध गत कार्तिक १४ गते अदालतमा मुद्दा दायर भएको हो । बलात्कारको घटनाको साक्षी प्रमाणमा केन्द्रित भई न्याय निरुपण हुनुपर्ने मुद्दा पीडितको र उनको आमाको जन्म मितिको विवादसम्म पुगेको छ । सन्दीप लामिछानेले पीडितको जन्ममितिको शंकास्पद कागजात पेस गरेका थिए ।

सम्बन्धित निकायमा त्यो कागजात नभेटिएपछि गत सोमबार न्यायाधीश राजुकुमार खतिवडाको इजलासले सन्दीपलाई कागज गराई सम्बन्धित निकायबाट प्रमाणित विवरण मगाउनु भनी आदेश गरेका थिए । तर चार वटा मुद्दा सुनुवाइ भए पनि पाँचौँदेखि तलका सबै मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेका हुन् । अदालतमा चलिरहेको यही मुद्दाका कारण सन्दीप मानसिकरूपमा प्रतियोगिता खेल्न तयार देखिँदैनन्। यद्यपि क्यानले भने विरामी भएका कारण उनी टोलीसँग मंगलबार राति पाकिस्तान प्रस्थान नगरेको बताएको थियो।

तर, सन्दीपले भने आफू स्वास्थ्यका हिसाबले पूर्णरूपमा फिट भएको बताइसकेका छन्। उनले सञ्चारकर्मीसँग आफू विरामी भएको विषय होटल आएपछि मात्रै थाहा पाएको प्रतिक्रिया दिएका थिए। यसले के प्रष्ट पार्छ भने उनी स्वास्थ्यका कारण नभइ अदालतमा लम्बिरहेको मुद्दाको कारण तनावमा देखिन्छन्। गत जुन–जुलाईमा भएको विश्वकप छनोटका लागि पनि सन्दीप अदालतको मुद्दाको कारण टोलीसँगै दक्षिण अफ्रिका जान पाएका थिएनन्। सोही कारण उनले पर्याप्त अभ्यास पनि गर्न पाएनन्। फलस्वरूप सन्दीपले जिम्बाब्वेमा आयोजित विश्वकप छनोटको सुरुआती दुई खेलमा कमजोर प्रदर्शन गरे।

यसपटक पनि उनलाई अभ्यासबिनै अन्तिम समयमा एसिया कपका लागि पाकिस्तान पठाउने प्रयास हुँदैछ। प्रतियोगिता खेल्न पूर्णरूपमा फिट भएमा सन्दीपलाई पहिलो खेलअघि नै पाकिस्तान पठाउने क्यानको तयारी रहेको हो। यदि सन्दीप खेल्न तयार नभएमा प्रतियोगितामा नेपालको प्रदर्शन निकै कमजोर हुनसक्ने खेल विश्लेषकको अनुमान छ। पहिलोपटक एसिया कप खेल्न पाकिस्तान पुगेको नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा विश्व क्रिकेटकै सबैभन्दा बलियो राष्ट्रका रुपमा हेरिने भारत र पाकिस्तान छन्। त्यस्तै समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान रहेका छन्। नेपालले भदौ १३ गते पाकिस्तानसँग मुल्तान क्रिकेट रंगशालामा उद्दघाटन खेल खेल्दै एसिया कपको सुरुवात गर्ने छ। मुल्तान प्रस्थान गर्नुअघि नेपाली टोलीले कराँचीमा केही दिन अभ्यास गर्नेछ भने स्थानीय टोलीसँग अभ्यास खेल पनि खेल्नेछ। यस्तै दोस्रो खेल भदौ १८ गते भारतसँग श्रीलंकामा खेल्नेछ।

रोहितकुमार पौडेलको कप्तानीमा पाकिस्तान पुगेको नेपाली टोलीमा आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, करण केसी, गुलशन झा, सोमपाल कामी, किशोर महतो, प्रतिश जिसी, श्याम ढकाल, सन्दीप जोरा, ललित राजवंशी र अर्जुन साउँद रहेका छन्।

Logo