डा. बालकृष्ण साहको ‘गर्भको गर्व’ लोकार्पण

डा. बालकृष्ण साहको ‘गर्भको गर्व’ लोकार्पण


प्रसूती तथा स्त्री रोग विशेषज्ञ डाक्टर बालकृष्ण साहको दोस्रो पुस्तक ‘गर्भको गर्व’ लोकार्पण भएको छ ।

सोमवार काठमाडौँस्थित नेपाल चिकित्सक सङ्घको सभाहलमा राष्ट्रिय चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठानका उपकुलपति डा भुपेन्द्रकुमार बस्नेत, लेखक डा साह, नारी मासिककी सम्पादक उपासना घिमिरे, नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा अनिल कार्की, महासचिव डा सजीव तिवारी, पूर्वअध्यक्ष डा लोचन कार्की, गर्भवती महिला भावना प्रधान न्यौपानेले संयुक्तरूपमा उक्त पुस्तकको लोकार्पण गरेका हुन् । 

साहित्यपोस्टले प्रकाशन गरेको यो सिर्जनात्मक पुस्तकमा नौ वटा कथा समेटिएका छन् । ती कथा महिलाले गर्भावस्थामा भोग्नुपर्ने विविध जटिलतामा आधारित छन् । 

साे अवसरमा लेखक तथा डा. बालकृष्ण साहले पुस्तकमा छोरी मानिसको जीवनलाई कथाको माध्यमबाट उतारेको बताए । उनले भर्खरै टिनएज अवस्थामा रहेको महिलाको महिनावारीको समयमा कस्तो स्वास्थ्य अपनाउने, छोरी मान्छेले भोग्नुपर्ने पिडाको विषयमा लेखिएको एउटा सुन्दर रचनाका रुपमा हेरिएको बताए । साथै उनले पुस्तकमा महिलाकाे गर्भवती अवस्थालाई वास्तविक सतहमा ल्याएको पनि बताए । 

डा. साहले हाल नेपालमा ५७ प्रतिशत गर्भवती महिलाहरु हस्पिटलमा र ४३ प्रतिशत महिलाहरु हस्पिटल नपुग्दै मृत्यु अंगाल्न बाध्य बनिरहेको कुरा खुलस्त पारे । उनले गर्भवती महिलाहरु मृत्युको मुखमा पर्नुको मुख्य कारण पर्याप्त स्वास्थ्य ज्ञानको कमी भएको बताए । उनले ‘गर्भको गर्व’ पुस्तकको अध्ययनपछि त्यो गम्भिर समस्याको हल हुने विश्वास व्यक्त गरे ।

उनले एउटा आमाबाट जन्मिने बच्चा घर, परिवार, समाज र देशकै गहना भएकाले ‘गर्भको गर्व’ पुस्तक ससुरा, श्रीमान, बुवालगायतले पढ्नै पर्ने पुस्तक भएको बताए ।

समारोहमा वक्ताहरूले कृतिका बारेमा प्रकाश पार्नुका साथै लेखक तथा डा. साहलाई बधाई तथा शुभकामना दिएका थिए ।

Logo