#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व73938535018547828156539
नेपाल5041

भारतमा के गरेर फर्किए डोनाल्ड ट्रम्प ?

काठमाडौं ।  राजधानी नयाँ दिल्लीमा भड्किएको हिंसाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो भारत भ्रमण खल्लो बनाइदिएको छ ।

विश्वका दुई ठूला प्रजातान्त्रिक मुलुकका नेताबीच भेटवार्ता भइरहँदा दिल्लीमा अप्रिय घटनाहरु मात्र घटेनन्, त्यसबाट भारतले कस्तो प्रजातान्त्रिक अभ्यासलाई मलजल गरिरहेको छ भन्ने विश्वसामु छर्लङ बनायो ।

सडकमा मोदी सरकारविरुद्ध जस्तोसुकै क्रियाकलापहरु देखिएपनि प्रधानमन्त्री निवासभित्र भने दुई नेताबीचको भेटवार्ताले केही महत्वपूर्ण सन्देश छोडेको छ, जसले दक्षिण एशियाली राजनीतिमा आउँदा केही वर्षसम्म प्रभाव पार्ने देखिन्छ ।

यो भ्रमणबाट ट्रम्प र मोदी दुबै नेताले आ–आफ्नो स्वार्थ अनुसार फाइदा लिन खोजेको देखिन्छ । ट्रम्पलाई अमेरिका बाहिर आफू कति लोकप्रिय छु भनेर देखाउन यो भन्दा ठूलो मौका आउँदो निर्वाचनअघि पक्कै मिल्ने छैन । त्यस्तै, एकपछि अर्को विवादास्पद कानून ल्याइरहेका मोदीलाई भारतभित्रै आफ्नो लोकप्रियता खस्केको छैन भन्ने देखाउन ट्रम्प उपयुक्त माध्यम बने ।

तर, दिल्लीमा बढिरहेको हिंसाले दुबै नेताका सपना पुरा भएन । बरु दक्षिणपन्थी राजनीतिले लोकतन्त्रलाई कति कमजोर बनाउदै लगेको छ भन्ने चाहीं छर्लङै बनाइदियो ।

ट्रम्पले आफ्नो राजनीतिक जीवनकालमै पहिलो पटक एकलाख भन्दा ठूलो जनसभालाई सम्बोधन गर्ने मौका पाए । आफ्नो गृहनगर अहेमदावादमा यस्तो मौका जुराइदिएका मोदीको मुक्त कण्ठले प्रशंसा गर्दै ट्रम्पले दक्षिण एशियाको राजनीतिमा भारतको स्थान सबैभन्दा माथि रहेको भन्न भ्याए ।

आफ्नो भाषणमा ट्रम्पले यो क्षेत्रमा आतंकवादविरुद्ध लड्न बाँकी मुलुकले भारतसँग सिक्नुपर्ने जिकिर गरे । आतंकवादविरुद्धको लडाईमा मोदीले खेलिरहेको भुमिका अब्बल रहेको समेत उनले बताए । तर, लडाई अझै नसकिएको र त्यसलाई टुंगोमा पुर्याउन आफूलाई मोदीजस्तै नेताको साथ भविष्यमा पनि चाहिने उनले सुनाए ।

ट्रम्पको यो भाषण अमेरिकामा आउँदो नोभेम्बरमा हुन गइरहेको राष्ट्रपति निर्वाचनमा केन्द्रित रहेको प्रस्ट थियो । अमेरिकामा आठ लाखभन्दा बढी भारतीयको उपस्थिती छ । यी सबै अमेरिकी–भारतीय मोदीका प्रशंसक हुन् । आफ्नो दोस्रो कार्यकालका लागि बलियो भारतीय डायस्पोराको साथ ट्रम्पले भारत आएर खोजेका छन् ।

ट्रम्पले दक्षिण एशियामा शान्ति र स्थिरता हेर्न चाहेको पनि उल्लेख गरे । । पाकिस्तानसँग पनि वासिंटनको राम्रो सम्बन्ध रहेको बताउँदै उनले इस्लावादसँग पनि मिलेर यस क्षेत्रमा आतंकवादविरुद्ध लडिरहेको उनले बताए । तर, पाकिस्तानले अझै धेरै गर्नुपर्ने उनको धारणा थियो ।

अमेरिकाले भारतसँग अत्याधुनिक रक्षा प्रणालीमा तीन अर्ब डलर बराबरको सम्झौता गरेको छ । यो सम्झौता भित्र के–के छ भन्नेवारे विस्तृत रुपमा केही खुलाइएको छैन । तर भारतले अमेरिकासँग आधुनिक हेलिकोप्टर किन्न चाहेको ट्रम्पले आफ्नो भाषणकै क्रममा बताएका थिए ।

दुई मुलुकबीच पछिल्लो समय चर्किरहेको व्यापारिक मतभेद कम गर्ने विषयमा ट्रम्प सकारात्मक देखिए । अघिल्लो वर्ष अमेरिकाले भारतलाई दिंदै आएको विशेष सुविधायुक्त व्यापार सहुलियतको अन्त्य गरिदिएपछि दुई मुलुकबीच व्यापारिक तनाव चर्केको थियो । अमेरिकाको उक्त कदमपछि भारतले पनि विभिन्न २८ वटा अमेरिकी उत्पादनको आयातमा जवाफी कर लगाएको थियो । तर, यो भ्रमणमा दुई मुलुकबीच कुनै ठोस व्यापारिक सम्झौता भने हुन सकेन । उर्जा सुरक्षा खोजिरहेको भारतलाई अमेरिकाले प्राकृतिक ग्यास उपलब्ध गराउने प्रतिबद्धता भने जनायो ।

चीन चिन्ता

दुबै नेताको संयुक्त पत्रकार सम्मेलनमा चीनको बढिरहेको सामरीक क्षमतामाथिको चिन्ता प्रस्ट देखिन्थ्यो । विश्व अर्थतन्त्रमा बढिरहेको चीनको प्रभावले नै विश्व शक्ति राष्ट्र अमेरिका र क्षेत्रिय शक्ति राष्ट्र भारतलाई साझा मञ्चमा उभ्याएको हो ।

ट्रम्पले मोदीसँगका संवादमा यो क्षेत्रलाई इण्डो–प्यासिफिक क्षेत्र भनि सम्बोधन गरिरहे । चीनले इण्डो–प्यासिफिक भन्ने शब्दलाई कुनैपनि स्थान दिएको छैन । चीन यो क्षेत्रलाई एशिया प्यासिफिक भनेर चिन्दछ । यसबाट पनि चीनको बढिरहेको प्रभाव स्वीकार्न यी दुबै मुलुक तयार छैनन् भन्ने प्रस्ट हुन्छ ।

ट्रम्पले भारत भ्रमणका क्रममा निरन्तर प्रयोग गरेको अर्को शब्द ‘क्वाड’ हो । वासिंटनले प्रयोगमा ल्याएको ‘क्वाड’ अवधारणा मूलतः चीन घेर्न लक्षित छ । यो मुख्यतः अनौपचारिक सुरक्षा रणनीतिमा केन्द्रित छ । अमेरिकाको अगुवाइमा अष्ट्रेलिया, जापान र भारत यसका सदस्य राष्ट्र छन्, जसले सहजै हिन्द–प्रशान्तसम्म पहुँच राख्छन् ।

अन्तर्राष्ट्रिय राजनीतिका जानकारहरु यसलाई मूलतः चीनविरुद्ध केन्द्रित सुरक्षा रणनीति मान्छन् । ट्रम्पले दिल्लीमा छँदा ‘क्वाड’मा भारतको महत्वपूर्ण उपस्थिती हुनुपर्ने इच्छा राखे । चीनले आफ्नो महत्वाकांक्षी परियोजना ‘वेल्ट एण्ड रोड इनिसिएटिभ’, (बीआरआई)लाई प्रत्युत्तर दिन ‘क्वाड’को अवधारणा अघि आएको बुझेको छ ।

दिल्लीमा रहँदा ट्रम्पले त्यहाँ जारी हिंसा र बढिरहेको धार्मिक असहिष्णुतावारे प्रतिक्रिया दिन मानेनन् । बरु उल्टै उनले मोदीले भारतमा धार्मिक स्वतन्त्रता बढाएको र सबै समुदायलाई संगै लिएर हिंडेको भन्दै प्रशंसा गरे ।

ट्रम्प प्रशासनको सबैभन्दा ठूलो जोखिम भनेको त्यसको अस्थिरता हो । यूरोप पछिल्ला चार वर्षमा पटक–पटक यो अस्थितरताको शिकार भइसकेको छ । भारत पनि ट्रम्प प्रशासनको अस्थिरताको शिकार भए त्यसले दिल्लीलाई मात्र होइन, समग्र दक्षिण एशियाकै राजनीतिमा प्रभाव पर्ने निश्चित छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार