नेपालविरुद्ध पाकिस्तानका कप्तान बाबरको शतक, इफ्तिकरको अर्धशतक

नेपालविरुद्ध पाकिस्तानका कप्तान बाबरको शतक, इफ्तिकरको अर्धशतक


एसिया कप २०२३ अन्तर्गत नेपालविरुद्ध घरेलु टोली पाकिस्तानका कप्तान बाबर अजामले उत्कृष्ट शतक प्रहार गरेका छन्। 

मुल्तान रङ्गशालामा टस जितेर पाकिस्तानले पहिला ब्याटिङ रोजेको पाकिस्तानका लागि कप्तान बाबरले शतक प्रहार गरेका हुन् । १०९ बलको सामना गरेका उनले १० वटा चौका प्रहार गरे ।

हाल पाकिस्तान ४१ ओभरको खेल सकिँदा चार विकेटको क्षतिमा २२७ बनाएको छ । क्रिजमा कप्तान बाबरलाई इफ्तिकर अहमदले साथ दिइरहेका छन् । इफ्तिकरले पनि अर्धशतक प्रहार गरिसकेका छन् । 

पहिलो पावर प्लेमा नेपालले पाकिस्तानका दुवै ओपनरलाई आउट गर्न सफल भएको थियो । नेपालका लागि पहिलो विकेट करण केसीले लिए । उनले छैटौँ ओभरको तेस्रो बलमा फखर जमानको विकेट लिएका थिए । त्यतिबेला पाकिस्तानको कूल स्कोर मात्र २१ रन थियो । जमानले २० बल खेल्दै तीन चौकाको मद्दतमा १४ रन बनाए । 

पाकिस्तानले लगत्तै इमाम उल हकका रूपमा दोस्रो विकेट गुमाएको थियो । सातौँ ओभरमा सोमपाल कामीले बलिङ गरिरहेका बेला उनलाई कप्तान रोहितकुमार पौडेलले रनआउट गरे । हकले १४ बल खेल्दै एक चौका हिर्काएर मात्र पाँच रन बनाए । 

त्यसपछि पाकिस्तानले २३ दशमलव चार ओभरमा मोहमद रिजवानलाई तेस्रो विकेटको रूपमा गुमाएको थियो । रिजवानले ५० बलमा छ चौकाको मद्दतमा ४४ रन बनाए । उनलाई सन्दीप लामिछानेको बलमा दिपेन्द्रसिंह ऐरीले रन आउट गराएका हुन् । पाकिस्तानले २८औँ ओभरको पाँचौँ बलमा आगा सलमानका रूपमा चौथो विकेट गुमायो । उनलाई सन्दीप लामिछानेले कुशल भुर्तेलद्वारा क्याच आउट गराएका थिए । 

Logo