श्रीलङ्कामा आर्थिक सङ्कटपछिकै सबैभन्दा कम मुद्रास्फीति

श्रीलङ्कामा आर्थिक सङ्कटपछिकै सबैभन्दा कम मुद्रास्फीति


सङ्कटग्रस्त श्रीलङ्काको मुद्रास्फीति अगस्टमा ४.० प्रतिशतमा झरेको छ । यो गत वर्षको अकल्पनीय आर्थिक सङ्कटपछिको सबैभन्दा कम भएको सरकारी तथ्याङ्कले शुक्रबार देखाएको छ ।

गत सेप्टेम्बरमा ६९.८ प्रतिशत रहेको मुद्रास्फीति दर जुलाईमा ६.३ प्रतिशत भएको र अगस्टमा आइपुग्दा ४.० प्रतिशतमा झरेको हो । श्रीलङ्काको केन्द्रीय बैंकले यो आँकडाले आफ्नो देशको मुद्रास्फीतिको घट्दो प्रवृत्तिलाई निरन्तरता दिने अपेक्षा गरेको छ ।

आर्थिक सङ्कटका कारण श्रीलङ्काले गत वर्ष ४६ अर्ब अमेरिकी डलरको विदेशी ऋण तिर्न पनि नसकेपछि मार्चमा अन्तर्राष्ट्रिय मुद्रा कोषबाट चार वर्षको लागि २.९ अर्ब अमेरिकी डलर कर्जा प्राप्त गरेको थियो ।

आईएमएफको एक टोली यसै महिना कोलम्बोमा श्रीलङ्काको सङ्कटग्रस्त वित्तको प्रगतिको समीक्षा गर्न र थप ३३ करोड अमेरिकी डलर ऋण किस्ता जारी गर्ने निर्णय गर्न कोलम्बोमा आउनेछ । खराब आर्थिक सङ्कट व्यहोरेको पछिल्लो अवस्थामा ‘सुधारको अस्थायी सङ्केत’ देखिएको अन्तर्राष्ट्रिय ऋणदाताले जनाएको छ भने कोलम्बोलाई अझै कडा सुधारहरू अगाडि बढाउन आवश्यक रहेको चेतावनी दिएको छ । 

गत वर्षको आर्थिक सङ्कटका कारण महिनौंसम्म नागरिक अशान्ति मच्चिएको थियो जसले अन्ततः तत्कालीन राष्ट्रपति गोटबाया राजापाक्षेलाई अपदस्थ गरेको थियो ।

उनका उत्तराधिकारी रानिल विक्रमासिङ्घेले आर्थिक सुधारका लागि करको दायरा दोब्बर पारेका थिए , ऊर्जा क्षेत्रमा दिइएको उदार अनुदान हटाएका थिए र राज्यको राजस्व बढाउनका लागि प्राय वस्तु तथा सेवाहरूको मूल्य बढाए । सुधारको यथस्तै प्रयास स्वरूप सरकारले शुक्रबारदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्यमा ११.२ प्रतिशतसम्म वृद्धि गरेको छ । -एएफपी

Logo