दक्षिण अफ्रिकाविरुद्धको टी-२० शृङ्खला अस्ट्रेलियालाई

दक्षिण अफ्रिकाविरुद्धको टी-२० शृङ्खला अस्ट्रेलियालाई


दोस्रो खेलमा दक्षिण अफ्रिकालाई ८ विकेटले पराजित गर्दै अस्ट्रेलिया टी-२० शृङ्खलामाथि कब्जा जमाउन सफल भएको छ। तीन खेलको शृङ्खलामा अस्ट्रेलिया २-० ले अघि रहेको हो। पहिलो खेल अस्ट्रेलियाले १११ रनको विशाल अन्तरले जितेको थियो।

शुक्रबार साँझ भएको खेलमा अस्ट्रेलियाले जीतका लागि १ सय ६५ रनको लक्ष्य पाएको थियो। पाहुना टोलीले उक्त लक्ष्य ३१ बल बाँकी छँदै सफलतापूर्वक पछ्यायो। अस्ट्रेलियाको ब्याटिङमा पुनः एकपटक कप्तान मिचेल मार्स चम्किए। उनले मात्र ३९ बलमा ८ चौका र ६ छक्का हिर्काउँदै ७९ रन बनाए।

उनलाई ओपनर म्याथु सर्टले ६६ रन बनाउँदै राम्रो साथ दिए। सर्टले ७ चौका र ४ छक्का हिर्काए। ट्राभिस हेडले १८ रनको योगदान दिए। दक्षिण अफ्रिकाका लागि लिजाड विलियम्स र ताब्राइज साम्सीले १-१ विकेट लिए।

यसअघि कप्तान एडन मार्क्रमको ४९ रनको मद्दतले दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको थियो। टेम्बा बाभुमाले ३५ तथा ट्रिस्टन स्टब्सले २७ रन बनाए।अस्ट्रेलियाका लागि सन एबट र नेथन इलिसले ३-३ विकेट लिए। जेसन बेह्रेनडोर्फको खातामा दुई विकेट पर्‍यो।

Logo