माओवादी भएकै कारण कुनै अपराधीले छुट पाउँदैनः गृहमन्त्री श्रेष्ठ

माओवादी भएकै कारण कुनै अपराधीले छुट पाउँदैनः गृहमन्त्री श्रेष्ठ


उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले माओवादी भएकै कारणले कुनै अपराधीले छुट नपाउने दाबी गरेका छन् ।  

शनिबार जनतासँग माओवादी बिशेष रुपान्तरण अभियान समुद्घाटन कार्यक्रमलाई ललितपुरको बाँडेगाउँमा सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले अनुसन्धानले अपराधी पुष्टि गरेमा माओवादी नै भएपनि कानूनको कठघरामा ल्याउने भन्दै माओवादीको नेतृत्वको सरकार छ बाचिन्छ भन्ने भ्रममा नपर्न चेतावनी दिए । 

उनले भने,‘अहिले ६० किलो सुनको तस्करी र ९ किलो सुनको तस्करीको अनुसन्धान गरिरहेका छौं । सरकारको कुरा के छ भने जो सुकै परोस् दोषी र अपराधी छन् भने अनुसन्धानले त्यसको पुष्टि गर्छ भने कानूनको कठघरामा ल्याउने छौं । कुन पार्टीको, कोसँग कस्तो सम्बन्धको मान्छे मतलब छैन । कोही माओवादी भएपछि अपराध गरेनी बाँचिन्छ होला माओवादीको नेतृत्वको सरकार छ सोच्नुपर्दैन अपराधी माओवादी भएपनि कारबाही हुन्छ ।’

माओवादी नै नेपालको सबैभन्दा अग्रगामी र राम्रो पार्टी भएको गृहमन्त्री श्रेष्ठको दाबी छ । उनले सामाजिक न्याय समेतको समृद्धिको कार्यनीति लागु गर्न र समाजवादीको रणनीतिलाई अङ्गाल्न माआवादीको नेतृत्वले मात्र सम्भव भएको जिकिर गरे । उनले भने,‘माओवादी नै नेपालको सबै पार्टी मध्य सबैभन्द अग्रगामी र राम्रो पार्टी हो । र हाम्रो पार्टीले राष्ट्रिय कार्यभार पूरा गर्न सक्छ । अहिले सामाजिक न्याय समेतको समृद्धिको कार्यनीति लागु गर्न र समाजवादीको रणनीतिलाई अङ्गाल्न नेपालमा हाम्रो पार्टीको नेतृत्वले मात्र सम्भव छ ।’

गृहमन्त्री श्रेष्ठले सरकारले अहिले भ्रष्टाचार र तस्करी विरुद्धको अभियान चलाई राखेको भन्दै त्यसले आम जनतामा आशा पैदा गरेको बताए । 

Logo