ईभी अन्तर्राष्ट्रिय प्रदर्शनी आजबाट सकियो, एक लाख बढीले गरे अवलोकन

ईभी अन्तर्राष्ट्रिय प्रदर्शनी आजबाट सकियो, एक लाख बढीले गरे अवलोकन


काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिएको ‘नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायनसेस तथा नेपाल ईभी अन्तर्राष्ट्रिय प्रदर्शनी’ मेला सकिएको छ । 

गत शुक्रबारबाट विद्युतीय सवारी तथा सामाग्रीको बारेमा जानकारी गराउने उद्देश्यले सुरु भएको तीन दिने मेला आजबाट सकिएको हो । 

प्रदर्शनी मेलामा विद्युतीय कार, विद्युतीय स्कुटर, मोटरसाइकल, विद्युतीय साइकल तथा रिक्सा, चार्जिङ स्टेसन, ब्याट्री, ट्रान्समिसन तथा डिस्ट्रिब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, अत्याधुनिक प्रकारका स्विच, एलिडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, कार्यालय प्रविधि तथा अन्य विद्युतीय सामग्री राखिएको थियो ।

तीन दिने प्रदर्शनी मेला मिडिया स्पेस सोलुसन्स, फ्युचरेक्स ट्रेड फेर एण्ड इभेन्ट्स, एक्जिविसन एण्ड ट्रेड सर्भिसेस इण्डिया प्रालि तथा इलेक्ट्रिक भेइकल म्यानुफ्याक्चरर एण्ड इम्पोर्टर्स एसोसिएसन अफ नेपालको संयुक्त आयोजनामा सम्पन्न भएको हो । मेलामा स्वदेशी तथा विदेशी गरी सयभन्दा बढी कम्पनीका प्रदर्शनी कक्ष थिए । 

राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक ऊर्जा उद्यमीलाई एकै स्थानमा जमघट गराई व्यावसायिक प्रबद्र्धन गरिएको आयोजकले जनाएको छ । 

मेलामा झण्डै एक लाख बढी अवलोकनकर्ताहरुले अवलोकन गरेको आयोजकको दाबी छ । साथै प्रदर्शनमा राखिएको विद्युतीय गाडी र अन्य सामाग्रीलाई लिएर उपभोक्ताहरु सकारात्मक रहेको पनि बताइएको छ । 

Logo