सहायक रथी रावल र महासेनानी खड्का बर्खास्त

सहायक रथी रावल र महासेनानी खड्का बर्खास्त


काठमाडौं ।

नेपाली सेनाले सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई सैनिक ऐन २०६३ बमोजिम अनुशासन तथा आचरण सम्बन्धी कसूरमा कारवाही गरेको छ ।

सेनाको बुधबार बसेको समरी जनरल सैनिक अदालतबाट अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको अभियोगमा दोषी ठहरिएका उनीहरुलाई कारवाही गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

माथिल्लो कमाण्डरले लिखित रुपमा दिएको आदेश जानी जानी पालना नगरी अवज्ञा सम्बन्धी कसूर गरेको, सैनिक सुव्यवस्था तथा अनुशासन विपरीतको काम गरेको र आफ्नो ओहदा अनुसारको जिम्मेवारी तथा आचरण नगरेको अदालतको ठहर छ । त्यसैका आधारमा निज रथीवृन्द तथा अधिकृतलाई सेवाबाट बर्खास्त गरिएको छ ।

पद्धति र प्रणालीमा आधारित सङ्गठन सञ्चालनमा जोड दिंदै पारदर्शिता र जवाफदेहिता कायम गर्ने तथा दण्डहीनताको अन्त्य गर्ने वर्तमान नेतृत्वको लक्ष्य अनुसार अनुशासन र आचरण विपरीत कार्य गर्नेलाई शून्य सहनशीलताको नीति अवलम्बन गर्दै सङ्गठन सुदृढीकरणमा प्रतिबद्ध रहेको सेनाले जनाएको छ ।रासस

Logo