एनसेल फोरजी कर्णाली र सुदूरपश्चिम प्रदेशका दुर्गम जिल्लाहरुमा विस्तार

एनसेल फोरजी कर्णाली र सुदूरपश्चिम प्रदेशका दुर्गम जिल्लाहरुमा विस्तार


मुगु, डोल्पा, हुम्ला र बाजुराका सदरमुकाममा एनसेलको उच्च गतिको मोबाइल ब्रोडब्यान्ड सेवा विस्तार भएको छ । एनसेल आजियाटा लिमिटेडले आफ्नो सेवा विस्तार अभियान अन्तर्गत यी ठाउँका स्थानीयहरुलाई डिजिटल कनेक्टिभिटी र प्रविधिले प्रदान गर्ने अवसरहरुसँग जोड्दै फोरजी सेवा सुरु गरेको हाे ।

फोरजी सेवा सुरु गर्न एनसेलले गत एक महिनामा ठुलीभेरी नगरपालिका (डोल्पा), छायाँनाथ रारा नगरपालिका (मुगु), बडिमालिका नगरपालिका (बाजुरा) र सिमिकोट गाउँपालिका (हुम्ला) मा एक–एक गरी चारवटा फोरजी बेस ट्रान्ससिभर स्टेशन (बीटीएस) स्थापना गरेको छ । कम्पनीले भी–स्याट प्रविधिलाई प्रतिस्थापन गर्दै फोरजी सेवा संचालन गरेको हो ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, “हाम्रा ग्राहकहरूलाई नयाँ प्रविधिसँग जोड्दै सशक्त बनाउन पाउँदा खुसी छौं । यो एउटा कोशेढुङ्गा हो किनभने पछिल्लो विस्तार पश्चात कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका सबै जिल्लालाई फोरजीले जोडेका छौं । यसले सरकारको डिजिटल नेपालको परिकल्पना र डिजिटल समावेशी समुदायको निर्माणमा योगदान पुर्‍याउने छ ।”

एनसेलले फोरजी सेवा विस्तार र क्षमता अभिवृद्धिलाई उच्च प्राथमिकतामा राख्दै आएको छ र मनाङ जिल्लालाई पनि छिट्टै फोरजीले जोड्ने योजना सहित काम गरिरहेको छ । फोरजीले प्रयोगकर्ताहरूलाई हाई–डेफिनिशन भिडियो सामग्रीको स्ट्रिमिङ, भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे), द्रुत डाउनलोड र अपलोडहरू, ठूला फाइलहरू तत्काल आदानप्रदान लगायत विभिन्न डिजिटल सेवाहरू लिन सक्षम बनाउँछ ।

देशभरी एनसेलको ४,१०० भन्दा बढि फोरजी बीटीएसहरु संचालनमा रहेका छन् । फोरजी नेटवर्कको विस्तार र क्षमता अभिवृद्धिले मोबाइल ब्रोडब्यान्ड सेवामा पहुँच बढाएर सरकारको डिजिटल नेपाल फ्रेमवर्कको आकांक्षाहरू पूरा गर्न योगदान पुर्याउँछ ।

गत आर्थिक वर्ष २०७९/८० मा मात्रै एनसेलले देशका विभिन्न भागमा ३ सय ३८ नयाँ साइट स्थापना गरेको थियो । त्यसैगरी, एनसेलले ६० भन्दा बढी जिल्लाका झण्डै १,४५० टावरमा फोरजी क्षमताको स्तरोन्नति गरेको छ । आधुनिक प्रविधि र नेटवर्कमार्फत विश्वस्तरीय सेवा र ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धता बमोजिम ग्राहकहरूलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा पहुँच सुनिश्चित गर्दै एनसेलले २०७४ जेठमा काठमाडौं उपत्यकाबाट फोरजी सेवा सुरु गरेको थियो । 

Logo