अमेरिकामा बाइडेन भन्दा ट्रम्प लोकप्रिय

अमेरिकामा बाइडेन भन्दा ट्रम्प लोकप्रिय


अमेरिकामा राष्ट्रपति जो बाइडेन भन्दा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प लोकप्रिय देखिएका छन्। अमेरिकाको क्विनिपियाक युनिभर्सिटीले गरेको सर्वेक्षणका अनुसार बाइडेनलाई मत दिने आधा समर्थकले अर्को विकल्प खोजिरहेका जनाएका छन्। 

सन् २०२४ को राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्प र बाइडेनबीच कसलाई छनोट गर्ने भन्ने प्रश्नमा ४३ प्रतिशत मानिसले बाइडेनलाई फेरि राष्ट्रपति बनाउनुपर्छ भन्ने धारणा राखेका छन्।

तर, ४६ प्रतिशत जनताले ट्रम्पलाई पुनः राष्ट्रपतिको रूपमा हेर्न चाहेको बताएका छन्। सो सर्वेक्षणमा राष्ट्रिय संकटको अवस्था सामना गर्न कसले राम्रो काम गर्छ ? भनेर सोधिएको थियो, जसमा ५१ प्रतिशत मतदाताले ट्रम्पलाई समर्थन गरेका छन जबकि ४४ प्रतिशतले बाइडेनलाई समर्थन गरेका छन्।

साथै, ५० प्रतिशत मतदाताले बाराक ओबामाको सरकारमा उपराष्ट्रपति हुँदा हन्टर बाइडेनको युक्रेन र चीनसँगको व्यापारिक सम्झौतामा जो बाइडेन संलग्न भएको ठान्छन् भने ४० प्रतिशत मतदाताले जो बाइडेन संलग्न नभएको महसुस गर्छन्।

जहाँ ३५ प्रतिशत मतदाताले जो बाइडेन युक्रेन र चीनसँगको हन्टर बाइडेनको व्यापारिक कारोबारमा संलग्न रहेको र उनले केही गैरकानूनी काम गरेको विश्वास गर्छन्। 

१३ प्रतिशत मतदाताले उनी सो कारोबारमा संलग्न रहेको र उनले अनैतिक काम गरेको विश्वाससमेत गर्छन्। तर, त्यसमा कुनै र केही गैरकानूनी कार्य भएको अहिलेसम्म प्रमाणित हुन सकेको छैन।

Logo