नेपाल पुनर्बिमा कम्पनीको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक

नेपाल पुनर्बिमा कम्पनीको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक


नेपाल पुनर्बिमा कम्पनीले गत आर्थिक वर्षको तेस्रा त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

कम्पनीले तेस्रो त्रैमाससम्म आइपुग्दा निर्जीवन बिमा व्यवसायतर्फ खुद नाफा घटेको छ भने जीवन बिमातर्फ नाफा विस्तार भएको छ । अघिल्लो वर्ष ६० करोड २१ लाख १७ हजार रुपैयाँ रहेको निर्जीवन बिमा व्यवसायतर्फको खुद नाफा गत वर्ष ५२ करोड ९० लाख ५२ हजार रुपैयाँमा सीमित भएको छ ।

यता, अघिल्लो वर्ष यसैअवधिमा जीवन बिमा व्यवसायतर्फ २ करोड ९७ लाख ३१ हजार रुपैयाँ नोक्सानमा रहेकोमा गत वर्ष चैतसम्ममा ६ करोड ७१ लाख ८४ हजार रुपैयाँ नाफा कमाएको छ ।  गत वर्ष चैत ममसान्तसम्म यस कम्पनीले निर्जीवन व्यवसायबाट २ अर्ब ७९ करोड ८२ लाख ३४ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ६ अर्ब ५३ करोड ९९ लाख ४७ हजार रुपैयाँ निर्जीवन व्यवसायबाट खुद बिमा शुल्क आर्जन गरेको थियो । 

त्यस्तै गत वर्षको तेस्रो त्रैमाससम्ममा जीवन बिमा व्यवसायबाट १ अर्ब ४६ करोड ८७ लाख ९८ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसैअवधिमा जीवन बिमा व्यवसायबाट १ अर्ब ३२ करोड ९० लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । 

यस अवधिसम्म पुनर्बिमा कम्पनीको चुक्ता पुँजी ११ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । गत वर्षको चैत मसान्तसम्म यस कम्पनीको निर्जीवन व्यवसायतर्फको जगेडा कोषमा ४ अर्ब ७८ करोड ६५ लाख ६० हजार रुपैयाँ र जीवन बिमातर्फ ६० करोड २५ लाख २१ हजार रुपैयाँ जम्मा भएको छ । 

निर्जीवन बिमा कोषको आकार ३ अर्ब २८ करोड ५४ लाख ४७  हजार रुपैयाँ रहेको छ । जीवन बिमा कोषको विवरण भने रिपोर्टमा उल्लेख छैन । तेस्रो त्रैमाससम्म यस कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ६ रुपैयाँ ८२ पैसा र प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ ४६ पैसा रहेको छ ।

Logo