कहिले अघि बढ्ला गौतमबुद्ध क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया ? के भन्छिन् मेयर रेनु ?

कहिले अघि बढ्ला गौतमबुद्ध क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया ? के भन्छिन् मेयर रेनु ?


धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने भएको छ । 

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले रङ्गशालाको बाँकी निर्माणको काम महागनरले पूरा गर्ने बताएकी हुन् । आज नारायणी किनारमा भएको सरसफाइ तथा वृक्षरोपण कार्यक्रममा उनले जनस्तरबाट भएको चासो र चिन्तालाई आफूले मनन गरेको जनाउँदै उनले जसरी भए पनि रङ्गाशाला बनाउने बताइन् । उनले भनिन्, “हामीलाई पटक–पटक जनस्तरबाट खबरदारी भएको छ, रङ्गशाला के हुँदै छ भन्ने आम रुपमा जनतामा चासो र चिन्ता छ, महानगर प्रमुखले अल्लि अस्ति नै बनाउने भन्नुभएको थियो निर्माणको काम कहाँ पुग्यो भन्ने जनतामा प्रश्न छ ।”

सामाजिक सञ्जालमा समेत पहिला बोलेका कुरा राखेर प्रश्न उठाउने गरिएको महानगर प्रमुख दाहालले बताइन् । उनले भनिन्, “म यही कार्यक्रममार्फत भन्न चाहन्छु गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला बन्छ हाम्रै पालामा तपाइँहरु ढुक्क रहनुस् ।” 

रङ्गशाला निर्माण पूरा गर्न ठूलो आकारको ऋण तिर्नुपर्ने भएको र सरकारले ऋण तिर्ने भन्ने पहिला कुनै सम्झौता नभएको हुँदा निर्माण प्रक्रिया अगाडि बढाउन मुस्किल भएको भन्दै महानगर प्रमुख दाहालले गत आर्थिक वर्षको अन्त्यमा नेपाल सरकारको रु १२ करोड बजेट आएको तर एक हप्ता पनि समय नहुँदा बजेट फिर्ता पठाइएको र छिट्टै त्यो बजेट पुनः आउने उनले आश्वासन दिइन् ।

रङ्गशाला निर्माणका लागि महानगरपाललिकालाई तत्कालै अरबौँ बजेट जुटाउन समस्या हुने हुँदा चरणबद्द ढङ्गले काम अघि बढाउँदै  र बनेका संरचना संरक्षण गर्दै लैजाने दाहालको भनाइ छ । उनले रङ्गशालालाई खेल्न लायक ठाउँ बनाउनका लागि महानगरपालिकाले विभिन्न प्रक्रिया पूरा गरी बागमती प्रदेश सरकारसँगको साझेदारीमा छिट्टै काम अघि बढाइने जानकारी दिइन् ।

तर, महानगर प्रमुख दाहालले ६ महिना अगाडि फेसबुकमा स्टाटस लेखेकी थिइन् ‘ढुक्क हुनुस् रंगशाला बन्छ ।’ त्यसको केही दिनपछि अर्को स्टाटसमा उनले लेखेकी थिइन्, ‘अथक प्रयासपछि हामी सबैको सपना गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने कार्य पुरा हुँदै । बधाई छ, चितवनबासीलगायत सम्पूर्ण खेलाडीहरूमा । साथै सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डज्यू एवं नेपाल सरकारलाई हार्दिक धन्यवाद ।’ उक्त स्टाटसअनुसार रङ्गशाला निर्माणको काम अघि नबढेपछि उनको चर्को आलोचना पनि भएको थियो । 

Logo