ईयू टर्कीबाट अलग्गिएको राष्ट्रपति एर्दोगानको आरोप

ईयू टर्कीबाट अलग्गिएको राष्ट्रपति एर्दोगानको आरोप


टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले युरोपेली सङ्घ टर्कीबाट अलग्गिएको आरोप लगाएका छन् । 

राष्ट्रपति एर्दोगानले रूसको युक्रेन आक्रमणपछि नेटो सैन्य गठबन्धनमा सामेल हुने स्वीडेनको अभियानमाथिको नाकाबन्दी फुकुवा गर्ने बदलामा सन् २००५ मा सुरु भएको सदस्यता वार्तालाई पुनरुत्थान गर्न ब्रसेल्सबाट प्रतिबद्धता प्राप्त गरेका थिए । 

यसै महिनाको सुरुमा ईयूका विस्तारमामिला आयुक्त ओलिभर भार्हेलीले टर्कीको भ्रमण गर्दै सदस्यताको ‘ठूलो सम्भावना’ भए पनि वार्ता पुनः सुरु हुनुअघि समूहले मानवअधिकारका मुद्दाहरूमा कदम चाल्नुपर्ने बताएका थिए । 

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन न्यूयोर्क उड्नुअघि एर्दोगानले इस्तानबुलको अतातुर्क विमानस्थलमा पत्रकारसँग भने, “युरोपेली सङ्घले हामीबाट दूरी कायम गर्न खोजिरहेको छ ।”

उनले भने, “हामी आफ्नै स्थितिको मूल्याङ्कन गर्नेछौं र अर्को दिशा पनि लिन सक्नेछौं ।”

एर्दोगानले सन् २०१६ को जुलाईमा भएको असफल ‘कू’ पछिको सरकारको व्यापक दमन र वर्षौंदेखिको तनावपछि यसै बर्ष मे महिनामा सम्पन्न निर्वाचन जितेका थिए । चुनाव जितेपछि पश्चिमा मित्रराष्ट्रहरूसँगको बिग्रिएको सम्बन्ध सुधारलाई उनले प्राथमिकता दिएका छन् ।

भ्रमणका क्रममा भार्हेलीले भने, “युरोपेली परिषद्ले पनि स्पष्ट मापदण्ड तय गरेको छ, जसलाई सम्बोधन गर्न आवश्यक छ ।” 

“यी मापदण्डहरू लोकतन्त्र र विधिको शासनसँग सम्बन्धित छन् र यो नै सुधारसाथ अगाडि बढ्ने विश्वसनीय रोडम्याप हो,” उनले थपे । एएफपी

Logo