काभ्रेमा ६२ प्रतिशत घर भूकम्प प्रतिरोधी

काभ्रेमा ६२ प्रतिशत घर भूकम्प प्रतिरोधी


काभ्रे ।

भूकम्प गएको पाँच वर्षमा काभ्रे जिल्लामा ६२ प्रतिशत घरहरु भूकम्प प्रतिरोधी बनेको जिल्ला आयोजना कार्यान्वयन एकाइ काभ्रेले जनाएको छ । सो क्रममा जिल्लाको ७७ हजारभन्दा बढी परिवार बैंकिङ प्रणालीमा आबद्ध भइसकेको र चार हजारभन्दा माथि दक्ष सिकर्मी÷डकर्मीलाई तालिम प्रदान गरेर भूकम्प प्रतिरोधी घर निर्माणको काममा लाग्न सक्षम बनाइएको जिल्ला आयोजना कार्यान्वयन एकाइ काभ्रेका प्रमुख शिवप्रसाद लम्सालले बताए । यसबाट भविष्यमा हुने यस्तै प्राकृतिक प्रकोपको सामना गर्नका लागि बलियो आधार तयार भएको उनको भनाइ छ । अहिलेसम्म आइपुग्दा पुनःनिर्माणका लागि स्वदेशमा नै रहेका विविध क्षेत्रका दक्ष जनशक्तिहरुको व्यापक परिचालन गर्न सफल भएको उनले बताए।

काभ्रेमा भूकम्प लाभग्राहीको सङ्ख्या ८४ हजार ५७० रहेकोमा ९१ प्रतिशत (७७ हजार २०५) लाभग्राहीले पहिलो किस्ता लिएका छन् । त्यस्तै ७३ प्रतिशत (६२ हजार १८८) लाभग्राहीले दोस्रो किस्ता र ५२ प्रतिशत (५२ हजार ७०५) लाभग्राहीले तेस्रो किस्ता लिएका छन् । पुनःनिर्माणको अवस्था शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा बढी प्रगति भएको जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन समिति काभ्रेले जनाएको छ । अहिले पनि पहिलो किस्ता नलिने, पहिलो किस्ता लिएर दोस्रो किस्ता नलिने र दोस्रो किस्ता लिएर लामो समयसम्म तेस्रो किस्ता नलिने लाभग्राही धेरै रहेका कार्यालयले जनाएको छ । समयमै भूकम्प प्रतिरोधी घर निर्माण गर्न नसक्नुमा क्षतिग्रस्त भनिएका घरहरु लाभग्राहीले नभत्काइदिनाले सुरक्षित बस्ती निर्माण हुन नसकेको र सुव्यवस्थित पनि नदेखिएको आयोजना कार्यान्वयन एकाइले जनाएको छ ।

त्यसरी पुनःनिर्माण सम्पन्न भए पनि समस्याहरु रहेको आयोजना कार्यान्वनय एकाइ प्रमुख लम्सालको भनाइ छ । बनाइएका घरहरु सानो भएको भनी बासस्थानका रूपमा प्रयोग नगर्ने गरिएको, भूकम्प प्रतिरोधी घर मापदण्ड अनुसार निर्माण गर्दा परम्परागत बस्ती लोप भएको, बैंक तथा वित्तीय संस्थाबाट सहुलियत ऋण पूर्णरूपमा उपलब्ध नगराएको र शहरी क्षेत्रमा घर निर्माणका लागि रु तीन लाख थोरै हुने लगायतका समस्याले गर्दा पुनःनिर्माणको काम प्रभावकारी रूपमा अगाडि बढ्न नसकेको पाइएको उनले बताए।रासस

Skip This
Logo