यी हुन् नाडा अटो शोमा रहेका चर्चित ईभी ब्रान्ड, कुन सवारीकाे कस्तो छ फिचर ? [भिडियाेसहित]

यी हुन् नाडा अटो शोमा रहेका चर्चित ईभी ब्रान्ड, कुन सवारीकाे कस्तो छ फिचर ? [भिडियाेसहित]


विद्युतीय सवारीप्रति उपभोक्ताको बढ्दो मोहलाई सम्बोधन गर्दै काठमाडौंको भृकुटीमण्डपमा जारी यस वर्षको नाडा अटो शो २०२३ मा पेट्रोलियमको तुलनामा विद्युतीय सवारी ब्राण्डको बढी उपस्थिती रहेको छ । 

विवाइडी
नेपालका लागि बिवाइडी अटो इन्डस्ट्रीको आधिकारिक आयातकर्ता एवम वितरक साइमेक्स इंकले बजारमा नयाँ विद्युतीयगाडी फ्युचरिस्टिक बिवाइडी डल्फिन भित्र्याएको छ । 

बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंकले अटो शोमा दुई नयाँ मोडेलसहित ५ वटा कार प्रदर्शनमा राखेको छ । तर प्राथमिकता भने डल्फिन, सिल र एट्रो थ्रीलाई दिएको देखिन्छ। सोही अनुसार अवलोनकर्ताको उत्सुकता र आकर्षण पनि त्यसैमा रहेको देखिन्छ ।

बीवाइडी यो डल्फिन ह्याचव्याक गत साता मात्रै नेपालमा सार्वजनिक भएको हो । निकै सानदार ह्याण्डलिङ रहेको डल्फिन ईभी अटो शोमा अवलोकनर्ता तथा उपभोक्ताहरुको विशेष रोजाइमा परेको देखिन्छ । 

त्यस्तै, बिवाइडीको अर्को मोडेल छ, ‘सिल’ जुन प्रर्दशनको लागि मात्र राखिएको छ । यो कारले अन्तर्राष्ट्रिय बजारमा टेस्ला मोडल थ्रीसँग सिधा प्रतिस्पर्धा गरिरहेको छ। यो थुप्रै आधुनिक फिचर लोडेड सेडान कार हो । त्यस्तै बीवाइडीका एट्रो–थ्री र ई–६ पनि प्रदर्शनीमा राखिएको छ। 
  
टाटा 
टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टियागो इभी नाडा अटो शोमा ल्याएको छ। जुन उपभोक्ता एवम अवलोकनकर्ताको विशेष रोजाइमा परेको देखिन्छ । गाडीको सुरुवाती मूल्य २१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। सस्तो मूल्यको कारणपनि यो कार विशेष आकर्षणको रुपमा रहेको देखिन्छ । 
 
सिप्रदीले सिटी कार टियागो इभीका दुई भेरियन्ट नेपाली बजारमा ल्याएको छ। टियागो इभीको लङ रेन्ज भेरियन्टमा २४ किलोवाट आवर ९युनिट० क्षमताको ब्याट्री उपलब्ध छ। उक्त ब्याट्रीले एक पटकको फुल चार्जमा ३१५ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ।
 
यस्तै, अर्को मिडियम रेन्ज भेरियन्टमा १९.२ किलोवाट आवर युनिट क्षमताको ब्याट्री प्याक छ। उक्त ब्याट्रीले एक पटकको फुल चार्जमा २५० किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ।
 
सेरेस
पहिलो पटक नेपाल भित्रिएको चिनियाँ अटोमोबाइल ब्रान्ड सेरेसका दुईवटा ईभी मोडल सेरेस–३ र मिनी ईभी ई–१ नाडा अटो शोमा राखिएका छन् ।

कम्पनीले मिनी ईभीमा ई–१ को तीन वटा मोडेल उपलब्ध छन् । १३ किलोवाट ब्याट्री क्षमतामा उपलब्ध ई–१ को सुरुवाती मूल्य १३ लाख ९९ हजार रूपैयाँ तोकिएको छ । सेरेस–३ अटो प्रदर्शनीमा राखिएको एसयूभी सेरेस–३, ९९ किलोवाट पिकपावरका साथमा ५२.७ किलोवाट ब्याट्री क्षमतायुक्त रहेको छ। 
 
एक पटकको फुल चार्जमा गाडीले ४०५ किलोमिटरको रेन्ज दिने दाबी गरिएको छ।यसको मूल्य ४७ लाख ९९ हजार रूपैयाँदेखि ४९ लाख ९९ हजार रूपैयाँ तोकिएको छ ।
 
सिजी मोडल 
चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्सले ल्याएका चार मोडेल पनि मेलामा विशेष रुपमा राखिएको छ । चार मोडलमध्ये नेटा भि पुरानै मोडेल हो, जुन नेपालका सडकमा गुडीरहेको देख्न सकिन्छ 
 
बाँकी तीन मोडेल भने चौधरी ग्रुपले हटकेकको रुपमा मेलामा प्रस्तुत गरेको छ। जसमा नेटा जीटि यो मोडेल अहिले नेपालमा देखाउनका लागि मात्रै लिईएको हो। कहिलेदेखि बुकिङ खुला गर्ने र कति पर्छ भन्ने तोकिएको छैन । साथै नेटा एस र नेटा यू प्रो मोडल पनि प्रदर्शनीमा राखिएको छ ।  

एमजी 
पारामाउन्ट मोटर्सले नाडा आटो शो २०२३ मा २ वटा नयाँ विद्युतीय गाडी एमजी ४ र एमजीकमेट मोडल सार्वजनिक गरेको छ । सार्वजनिक भएकामध्ये एमजी कमेट इभी १७.३ किलोवाट क्षमताको ब्याट्री रहेको छ। भारतमा बनेको कमेटले २३० रेञ्ज दिन्छ। कमेट गाडीको फिचर्सहरुमा एलइडी स्क्रिन, रिमोट सेन्ट्रल लकिङ, म्यानुअल एसिलगायत रहेका छन्।  एमजी कमेट इभी प्ले र पेसगरी २ वटा भेरियन्टमा उपलब्ध रहेका छन्। 
 
त्यस्तै, एमजी–४ इभी २०२३ को युके कार अफ द इयर हुनुका साथै युरोपमा पनि सेफ्टीको लागि ५ स्टार पाएको गाडी हो ।यो कम्फर्ट र लक्जरीगरी २ वटा भेरियन्टमा उपलब्ध छ। सुरक्षा फिचर्समा आइसोफिक्स, फ्रन्ट साइड एयरब्याग, टायर प्रेसर मनिटरिङ सिस्टम छन्। थप सुविधाको रुपमा मोबाइल फोन ब्लुटुथ, ५ वटा ड्राइभिङ मोड रहेका छन्।

निसान 
नेपालमा निसान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले निसान गाडीको नयाँ संस्करणहरू नाडा अटो सो २०२३ मा प्रदर्शन गरेको छ। कम्पनीले जिरो इमिसन सेकेन्ड जेनेरेसन निसान लिफ ईभी, नाभारा प्रो फोर एक्सको लाइफस्टाइल इडिसन र म्याग्नाइटको नयाँ एएमटी भेरियन्ट सार्वजनिक गरेको हो।

४० किलोवाट आवरको लिथियम–आयन ब्याट्री भएको निसान लिभ इभीले पूर्णचार्जमा ३११ किलोमिटर सम्मको रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ । १४० किलोमिटर प्रतिघण्टाको उच्च गतिमा गुड्न सक्ने यस गाडीमा शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गतिमा जान जम्मा ७. ९ सेकेन्ड लाग्छ।

चार्ज गर्न सजिलो र सुविधाजनक हुनेगरी निसान लिफमा धेरै चार्जिङ विकल्पहरू प्रदान गरिएको छ । निसान लिफसँगै आउने युनिभर्सल चार्जिङ केबलको साथ घरको वाल–आउटलेट मार्फत १५ देखि १८ घण्टामा फुल चार्ज गर्न सकिन्छ भने क्विक–चार्जिङ स्टेसनहरूमा जाने हो भने एक घण्टामा फुल चार्ज गर्न सकिने कम्पनीको भनाइ छ।

हुन्डाई
त्यस्तै, नाडा अटो शो नै इलेक्ट्रीकमय बनेको समयमा हुन्डाईले आफ्नो स्टलमा इलेक्ट्रीक क्रसओभर एसयूभी आयोनीक ५ र कोना प्रदर्शनी गरेको छ । कोनाले एकपटकको फूलचार्जमा ३०५ किलोमिटर सम्मको रेन्ज प्रदान गर्नेछ भने आयोनीक ५ ले ३७५ किलोमिटर सम्मको रेन्ज दिनेछ, जसमा ५८.८ किलोवाटको ब्याट्री रहेको हुन्छ ।  

नेपाली बजारमा उपलब्ध रहेका यी गाडी अत्याधिक इनर्जी इफिसीयन्सी, उत्कृष्ट प्रफर्मेन्स र चालक तथा यात्रुलाई आरामदायी यात्रा गराउन सफल भएको कम्पनीले दाबी गरेको छ । हुन्डाईले इभीको बढ्दो संख्यासँगै देशको विभिन्न ४३ स्थानमा चार्जिङ स्टेशन स्थापना पनि गरिसकेको छ ।

 

Logo