#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व73856235006547239156317
नेपाल5041

उक्लिएको मान्छेले जीवनका उकालीहरु चढ्न सिकाउँछ : भक्तराज रन्जित

टाइपिष्ट जागिरबाट गोरखापत्र संस्थानको अर्थ प्रमुख हुँदै राष्ट्रिय सहकारी संघको महाप्रवन्धक को कार्य अनुभव सम्हालिसकेका छन् भक्तराज रन्जितले । अन्तराष्ट्रिय गैर सरकारी संस्था बियोनड बोर्डस लर्निङ प्रोग्राम प्रा.लि. को कन्ट्रि डाइरेक्टर हुनुहुन्छ । रन्जितले शनिवार उहाँको संस्मरण पुस्तक ‘उक्लिएको मान्छे’ सार्वजनिक गर्दै हुनुहुन्छ । प्रस्तुत छ ‘उक्लिएको मान्छे’ कृतिसँग सम्वन्धित भएर केन्द्रविन्दुले राखेको ५ प्रश्न ।

१ ‘उक्लिएको मान्छे’ लेख्नुभयो । आजै सार्वजनिक गर्दै हुनुहुन्छ, के छ उग्लिएको मान्छेमा ?
काठमाडौंमा ७७ वटै जिल्लाको नेपालीलाई हर प्रकारको उन्नतिको लागि मौका छ । यहाँ आएर प्रायसः सबै सम्पन्न हुन्छन् । तर म( भक्तराज) सुनखानी जस्तो काठमाडौं जिल्लाको एक गरिब परिवारमा जन्में । हातमुख जोड्न पनि धौ धौ पर्ने त्यतिबेला । पुर्खाको कुनै सम्पत्ति, जग्गा जमिन,घर केही थिएन । आमा र म मिलेर कार्चोपी टोपी तयार गर्ने, कपाल कोर्ने धागो बनाउने आदि काम गरी घर घरमा गई बिक्री गरी जिविका चलाउँदै गएँ । परिबार संख्या ९ जनाको लालनपालन, स्कूल पठाउनु पर्ने, सबैलाई शिक्षाबिना जीवन उकास्न संभव छैन भन्ने मनमा अठोट लिंदै भाईबहिनीहरूलाई मार्ग दर्शन दिएर सबैलाई सक्षम बनाई भीख माग्नबाट जोगाएँ । जिबनमा ढिंडो, गुन्द्रुक खाएर कुनै बेला भोको पेट राखेर, अर्काको बारीबाट दाउरा संकलन गरी खान पकाउने व्यक्ति, अधिकृत पद समाल्हेपछि पनि, साइकलमा बोरा बोराको चामल ढुवानी गरी आमाबुबाको पसललाई सहयोग गर्दै आज आर्थिकरूपले सक्षम बनें । धन भनेर फाल्न सक्ने प्रचुर मात्रमा त छैन, तर मागेर खानुपर्ने अवस्था छैन । २०२६ सालमा रु १२५ को जागिर जिवन शुरू गरेर पचास हजार मासिक तलब आजभन्दा २५ वर्ष अघि पाउँदा, उक्लिएको ठानेंको छु । यो नितान्त मेरो व्यक्तीगत र पारिवारिक जीवनसँगै सामाजिक कार्यदेखि सरकारी काम गर्दासम्मको संस्मरण यस पुस्तकमा उल्लेख गरेको छु । त्यसैले जीवन शुन्यबाट सुरु गरेर उक्लिएको मान्छेको सफलताको संस्मरण हो यो पुस्तक । निरक्षर आमा बुबाको काखमा हुर्केर, सरकारी विद्यालयमा अध्ययन गर्दै, जागिर खाँदै उच्च शिक्षामा दुई विषयमा मास्टर डिग्री) हासिल गर्दै, टाइपिष्ट जागिरबाट गोरखापत्र संस्थानको अर्थ प्रमुख हुँदै राष्ट्रिय सहकारी संघको महाप्रवन्धक हुँदै,आजको दिनमा अन्तराष्ट्रिय गैर सरकारी संस्था बियोनड बोर्डस लर्निङ प्रोग्राम प्रा.लि.(नाफा रहित)को कन्ट्रि डाइरेक्टरको काम सम्हाल्नु म जस्तो साधारण व्यक्तिको निमित्त उक्लिएको जीवन हो ।

२. पुस्तकलाई संस्मरण भनेर चिनाउनु हुन्छ कि बंशावली ?

यो पुस्तकलाई संस्मरण भनेर चिनाउन चाहन्छु । किनकी यसमा मेरो जीवन, समाज, देश देशसँगै जोडिएका विदेशका अनुभूती समेटेको छु । र सन्ततिले वंश नभुलुन् भनि बंशावली समेत समेटेको छु ।

३. भनिन्छ मानिस आफैमा एउटा नलेखिएको पुस्तक हो तर नलेखिएको आफुलाई आफैले लेख्नुभयो । जीवनकालका के के विषय समेटिएका छन् पुस्तकमा ?

पुस्तकले समेटेका विषयहरू पुर्खा, संस्कृति, बालक, युवा, जागिर, समाज सेवा, अन्तरजातिय प्रेम विवाह र त्यसले समाजमा पार्ने प्रभाव र असर यसको पारिवारिक र सामाजिक संघर्षक विषयहरु समेटेको छ । १२ पटक मृत्यको मुखबाट उम्केको मेरो जीवन, जीवन सम्वन्धि मेरो दर्शन, जसले मेरो जीवन र परिवारमा ल्याएको सकरात्मक परिवर्तन पुस्तकमा समेटेको छु । हाम्रो जीवन भौतिक मात्र होइन आध्यात्मिक पनि हो । ठूलो मान्छे होइन असल मान्छे बन्नु र नैतिकताको खडेरी लागेको समयमा असल आचरण, विचार र अभ्यास नै गरेर आफू, परिवार, देश उंभो लाग्न सकिन्छ भन्ने सन्देश पुस्तकबाट लिन सकिन्छ । यो समाजमा कम जनसंख्या भएका, पीडित, वञ्चित समुदायहरूलाई पनि अधिकार, आधरभूत आवश्यकता, सेवा प्रदान गर्नुपर्छ भन्ने मान्यता स्थापीत गर्न जोड दिएको छु । रंजित समाजमा वंशावली लिखितमा कसैले पनि नलेखको सन्दर्भमा मैले संकलन गरेको वंशावलीले रन्जित कोशेढुंगा साबित हुनेछ भन्ने विश्वास छ ।

४. पुस्तक र जीवनमा फरक के ?

पुस्तकमा जे लेखिएको सत्य छ । पाइला पाइलामा संघर्षशील जीवनको कथा छ । उद्देश्य ठूलो लिनुपर्दछ, कार्यान्वयन गर्नु पर्दछ । लोभ, लालच,घृणा, इष्र्या र कुलतबाट बच्न सिकेर जीवनका अनगिन्ति अनुभव सामाजीक कार्यमा लगाउन सकियो भने त्यो जीवन सार्थक मान्न सकिन्छ । जीवन भोगाई बन्यो भने पुस्तक अनूभव ।

५‍. पुस्तक विक्री बापत पाइएको रकम समाज सेवामा खर्च गर्ने भन्नु भएको छ ? कहाँ र के मा कसरी खर्च गर्नुहुन्छ ?

पुस्तक बिक्री गरेर आएको आम्दानीले युवादेखि जेष्ठ नागरिक व्यक्तिको निमित्त बिभिन्न क्षेत्रमा प्रयोग गर्ने योजना बनाएको छु । साहित्यिक क्षेत्र युवा, महिला तथा युवालाई सक्षम बनाउने र जेष्ठ नागरिकको लागि स्वास्थ्य सम्बन्धी क्षेत्रमा योजना बनाइ सेवा गर्ने सोंच छ । साथै, सो आम्दानीको केही अंश पुनः प्रकाशन गर्नमा पनि खर्च गर्ने योजना छ । जनजातिहरू, दलित, महिलाहरूको मानव अधिकार, प्रजातन्त्र बारे प्रशिक्षण पुस्तक लेखि सकेको छु । साथै, छोटो कथा, कबिता, गजल, भजन लेखि सकेको छु । ती मध्ये, गोरखापत्र, युवा मञ्च, मुना, दोभान, शब्द संयोजन, शारदा, लहरा, नव साहित्य अनलाइन आदिमा प्रकाशन भएका छन् । याे पुस्तक भने घोष्ट राइटिङ नेपालले प्रकाशनमा ल्याएकाे हो ।

सम्बन्धित समाचारहरु

ताजा समाचार