#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1462683846741064990313019
नेपाल9081

मन नै त हो आखिर

  • जयदेव गौतम-

मान्छेको सबैभन्दा ठूलो चासो के होला ? अथवा, मानिसमा रहेको सबैभन्दा गहिरो जिज्ञासा के होला ? मानव के कुरा जान्न सबैभन्दा धेरै लालायित भइरहने गर्छ होला ? अनि, मनुष्यको सबैभन्दा धेरै आतुरता के कुराप्रति होला ?

अनायास यस्तै प्रश्नहरू एक दिन मेरो मनमा पलाएका थिए । मूलतः इन्स्टालेसन आर्टकी प्रयोगधर्मी कलाकार अश्मिना रञ्जितसित कुनै कामको सिलसिलामा भेट्नु थियो । उनलाई भेटेँ बबरमहलस्थित अर्का युवा कलाकार जुपिटर प्रधानको आर्ट स्टुडियोमा । संयोगवश त्यहाँ उनीहरूका परिचित कुनै युवा ज्योतिष पनि आइपुगेका रहेछन् ।

अनि त के थियो र, सबैजना अरू काम छाडेर हात अगाडि तेस्र्याउँदै उनीसित आ–आफ्नो भविष्य बताइदिन आग्रह गर्न थाले ! घर–परिवार, निजी जीवन, वास्तुको प्रभाव आदिबारे सोध्न थाले ! आश्चर्य लाग्यो– किताब, कापी, कलम, कार्चोपी, क्यानभास र कलरसित खेल्ने हातहरू अज्ञात भविष्यलाई ज्ञात बनाउन कतिविधि आतुर देखिएका ! के त्यहाँ मस्ष्तिकको सुस्तता र मनको प्रावल्य भएर त्यसो भएको थियो ?

त्यो सब हेरिसकेपछि, कुन्नि के भाव मनमा पलाएको थियो जसले मलाई भविष्य पढ्न तम्साएको थियो । त्यही भविष्य, जसको बारेमा अहिलेसम्म उपलब्ध सम्पूर्ण ज्ञान–विज्ञान र प्रविधिको उपयोग गरेर पनि केही यक्किन साथ भन्न सकिएको छैन । म मानौं भविष्यको खोजीमा निस्किएँ, भविष्य खोज्दै हिँडें, तर त्यहाँ मलाई भेटियो त केवल वर्तमान मात्र । इतिहास पनि भेटिएन, मात्र त्यसका मौन पदचापहरू देखिए । अनि लाग्यो, धेरैधेरै पछिसम्म पनि भविष्य अज्ञेय नै रहनेछ । (उसै पनि, भविष्य नै ज्ञात भयो भने त जीवनमा कुनै सार र कुनै रोमाञ्च नै रहँदैन । भविष्यको अनिश्चितता नै त त्यो तन्तु हो जसले जीवनलाई गति र जीवन्तता प्रदान गरिरहेको हुन्छ । अनिश्चिततामै जीवन छ । अनिश्चितता नै रहेन भने, अर्थात्, भविष्य नै ज्ञात हुन गयो भने हजार थरि विचार बोकेका मानिसहरूले यो सुन्दर पृथ्वीलाई कस्तो बनाइसक्दा हुन् !) ।

हो, म त्यही भविष्य पढ्न तम्सेको थिएँ, म त्यही भविष्य बुझ्न चाहन्थें, गम्न चाहन्थें र बाँच्न चाहन्थें । मान्छेले अतीत त देखिसकेको हुन्छ, भोगिसकेको हुन्छ, पढिसकेको हुन्छ । वर्तमान बाँचिरहेकै हुन्छ, नित्य भोगिरहेकै हुन्छ । तर आगत ? यसबारे त कसैले केही जान्दैन, केही भन्न पनि सक्दैन । प्रकृतिको अनौठो विशेषता हो यो, सृष्टिको चरम वैचित्य ! मान्छेलाई यति मात्र थाहा छ– भविष्य एक दिन हाम्रासामु उपस्थित हुन्छ । तर कसरी र कुन रूपमा भन्ने चाहिँ कसैले जान्दैन । अनि आफैंलाई लाग्यो– भविष्य पढ्ने, बुझ्ने, गम्ने, बाँच्ने सबै कुरा मान्छेको मनसित सम्बन्धित रहेछन् ।

मान्छेको मन ? यो मन त वायुपङ्खी घोडा जस्तो हो जो हर पल, हर घडी हिँडिरहेको हुन्छ, उडिरहेको हुन्छ । राजादेखि रङ्कसम्म यो कसको अधीनमा रहेको छ र ? हरेक कर्मको कर्ता पनि मन हो, शरीर त केवल माध्यम मात्र हो– भलै कसैले मनमन्दिरको देउता भनोस्, वा मनमनमै सोचेर यसो वा उसो गरेको नै किन नभनोस् ।

त्यसो त आँखा र मनको सम्बन्ध अत्यन्त सुमधुर, अत्यन्त घनिष्ठ हुन्छ । मनले फगत कल्पना, सपना र सम्भावनाका उडानहरू भर्न सक्छ, तर प्रत्यक्ष देख्ने त आँखा हो । आँखाले सबै कुरा देख्छ– देख्न हुने पनि, र देख्न नहुने पनि । त्यो देखाइलाई अनुभूत गर्ने मनले हो । जतिसुकै भौतिकता र सम्पन्नताको चकाचौंध देखे पनि त्यसलाई अनुभूत गर्न मन चाहिन्छ । मन जो संवेदनशील हुन्छ र ग्रहणशील पनि । तर गूढ कुरा त्यही हो– आँखाको साथ भएन भने जे जति सोचे वा कल्पना गरे पनि मनले केही गर्न सक्दैन । मन भनेको भावना हो, तरंग हो, लहड हो……। त्यस्तो मनलाई नियन्त्रण गर्न मष्तिस्क नाम भएको भारी हतियार छ । मस्तिष्क भनेको तर्क हो, ज्ञान र विज्ञान हो …….। मन भनेको नौनी हो, जतिबेला जहाँ पनि पग्लिन सक्छ । तर मस्तिष्क छुर्पी हो जो हत्पति पग्लिन सक्दैन, अथवा हाडे ओखर हो जो सजिलै फुट्न मान्दैन । यसरी, मन र मस्तिष्क– यी दुईबीच सधैँ द्वन्द हुँदै आएको छ, भइरहन्छ र सायद भइरहनेछ ।

मान्छेहरूले नै किन भनेको होला– आँखा लोभी मन पापी । मैंले धेरै पहिलेदेखि सुन्दै आएको हुँ यो भनाई । कसको हो यो भनाई, थाहा छैन । यदाकदा आँखा चिम्लेर सोच्ने–गम्ने अभिनय गरेको बेला लाग्छ, संसारमा हाल श्वास–प्रश्वास लिइरहेका मानिसमध्ये म पनि एक हुँ । त्यसकारण मेरै कुनै पुर्खाले आफ्नो अनुभवजन्य ज्ञानका आधारमा यो भनाई अभिव्यक्त गरे होलान्, अनि श्रुति परम्पराको रूपमा लामो समयको यात्रा गर्दै यसले उखानकै रूप लिन पुग्यो होला र अन्ततः छापाको शरण पायो होला । यहाँनिर आँखाको कुरै नगरौं, तर के साँच्ची नै मन भनेको पापी नै हो त ? कतिपय सन्दर्भमा मान्छेहरू भन्छन्– मेरो मनले त मान्दै मानेन, मेरो त मनै लागेन, अनि मनले नमानेको कुरा म कसरी मानूँ त ? पढेर जान्नु र परेर जान्नु दुई कुरा हुन् । ती जो परेर जान्ने भएका हुन्छन्, उनीहरू भन्ने गर्दछन्– नपरुन्जेल मनको डर, परेपछि केको डर ?

यही मन हो, अज्ञात भविष्यप्रति जानकारी लिन हरपल व्यग्र भइरहने ।

मभित्र एउटा विचार पलायो– मानिसलाई सबैभन्दा बढी मोह सायद आफ्नै जीवनसित हुन्छ । यस्तो मोह जीवनसित हुन्छ, सुन्दरतासित हुन्छ, शरीरसित हुन्छ, सन्तानसित हुन्छ । जीवन अनिश्चित छ, अनित्य छ । उसो भए, के यो मोह अनिश्चितताप्रतिको हो त ? अनि आफैंप्रति एउटा प्रश्न उब्जिन्छ– यो मोह कहाँबाट निःसृत हुन्छ ? मस्तिष्कबाट वा मनबाट ? निश्चित कुरा हो, मनबाट ।

उसै पनि, मान्छेको मन न हो, वायुपंखी घोडा जस्तो, जतिबेला जहाँ पुग्न मन लाग्यो, त्यहीं पुग्न कुदिहाल्ने र पुगी पनि हाल्ने । मन भर्खरै चंगा बनेर उड्न खोज्छ, त अर्को निमेषमै पन्छी । कहिले खुल्ला मैदानमा, कहिले नदी र तालहरूको छेउछाउ भएर । अनि कहिले पहाडहरूको चुचुरोमा गएर चंगा सरी उड्छ मन । तर त्यसरी उडे पनि त्यो स्वतन्त्र हुँदैन, निर्बन्ध हुँदैन । आखिर चंगाको धागो एक छेउबाट लट्टाइमा बेरिएको हुन्छ, त्यो लट्टाइ चंगाको स्वतन्त्र उडानको बाधक हो । लट्टाइ जता हल्लायो, चंगा त्यतै उड्न अभिशप्त छ । आखिर चंगाले लट्टाइविरूद्ध विद्रोह पनि गर्छ बेलाबेलामा । तर त्यस्तो बेलामा बेलगाम चंगाको स्वरूप नै अर्कै हुन पुग्छ– अनिश्चित, अनिर्णित, अन्यमनस्क । अनि उखान पनि उड्न थाल्छ– चुँडेको चंगा सरी… । अनेक भावनाहरूले ढाकेको बेला मेरो मन पनि त चुँडेको चंगा सरी भएर अथाहपटक बेलगाम उडेको छ ।

मन र भौतिकताको सम्बन्ध खास किसिमको हुन्छ । भौतिक दासताको प्रतिकार गर्न सकिन्छ, त्यो दृश्यमान हुन्छ र त्यसबाट ढिलो–चाँडो मुक्ति पाउन सकिन्छ । तर मानसिक दासता अधम हो, जुन अदृश्य हुन्छ र अत्यन्त लामो समयसम्म यसबाट मुक्ति पाउन सकिंदैन । …….

समाज विकासको एक कालखण्डमा दासयुग थियो । प्राचीन यूनान, रोम, ब्रिटेन, यूरोप र पछि अमेरिकामा दासप्रथा क्रूरताका सारा सिमानाहरू नाघेर चरमोत्कर्षसम्मै पुगेको थियो । शक्तिशाली यूरोपियनहरू तरबार, भाला र जाली पासो लिएर मानव–दास खोज्न एसिया र अफ्रिकाका विभिन्न ठाउँमा पुग्थे, सुगठित र स्वस्थ शरीर भएकाहरूलाई समात्थे, सिक्रीले बाँधेर कुट्दै–चुट्दै पानीजहाजमा ओसार्थे र यूरोप वा अमेरिका पु¥याएर ती दासदासीहरूको लीलामी गर्थे ।

पसल थापे जस्तो साइनबोर्ड नै राखेर यसरी गुलामहरूको मोल–मोलाइ हुने गथ्र्यो । सन् १५०० देखि सन् १९०० सम्मै अर्थात् यूरोपेली उपनिवेश विस्तारको झन्डै चार सय वर्ष दास प्रथाले मानवताको चरम खिल्ली उडाएको थियो । करिब दस हजार वर्षपहिले कृषि युगसँगै दासप्रथा पनि सुरू भएको र विशेषगरी युद्धमा जितेर दास बनाएकाहरूलाई कृषिकार्यमा लगाउन थालिएपछि यो अझ बढ्दै गएको मानिन्छ । अझ प्राचीन यूनानमा खास किसिमका दास हुन्थे, जसलाई ग्लाडिएटर भनिन्थ्यो ।

ती ग्लाडिएटरहरूले आफ्ना मालिक र अन्य कुलीन सामन्तहरूका लागि कहिले रित्तो हात सिंहसित लड्नु पथ्र्यो त कहिले भाला वा तरबार समातेर दुई ग्लाडिएटरमध्ये एकको मृत्यु नभएसम्म एकआपसमै भिड्नु पथ्र्यो । उनीहरू रक्ताम्यहुँदा कुलीन दर्शकहरू हर्षोल्लास गर्दै ताली बजाउँथे ! भनिन्छ, त्यो समय ग्रीक नगर राज्यहरूमा स्वतन्त्र नागरिक र दासको औसत एक र चारको थियो !

यो उहिलेको कुरा हो, जुन सभ्यताको विकासक्रममा धेरै विद्रोह, विरोध र दबाबपछि मान्छेले मान्छेमाथि स्वामित्व राख्ने दासप्रथा विश्वबाटै उन्मूलनको घोषणा गर्नु प¥यो । नेपालमा कमारा–कमारी, हली, बाँधा, हरवा, कमलरी आदि एक वा अर्को रूपमा दासप्रथाको स्वरूप विद्यमान थियो । नेपालसमेत एसिया, अफ्रिका र ल्याटिन अमेरिकामा दासप्रथाका अवशेष अझै बाँकी छन् भन्ने आम मान्यता छ ।……

मानसिक दासता भनेको दिमागी गुलामी हो, जुन चेतनाको स्तरसित सम्बन्धित छ । चीनका प्रसिद्ध साहित्यकार लु सुनले डाक्टर बन्नका लागि चिकित्सा विज्ञान पढेका थिए, तर कुनै समय जापानीद्वारा चीनियाँहरूको कन्तविजोग देखाइएको फिल्म हेरेपछि उनले ट्याबलेट र इनजेक्सनको दुनियाँ च्यात्तै छोडेर कलम र कागज समाते । लु सुनले भने– देशको प्रगतिका लागि र राष्ट्रिय मुक्ति आन्दोलनहरूको सफलताका लागि देशवासीको शारीरिक स्वास्थ्यभन्दा पहिले मानसिक स्वास्थ्य ठीक हुनु पर्दो रहेछ ! देशवासीमा चेतनाको दियो सल्काउनु सबैभन्दा महत्वपूर्ण रहेछ ।

त्यसै भएर पनि भनिएको होला– मन दह्रो पार्नु पर्छ । मन बलियो भयो भने चाहेका र आँटेका कामहरू गर्न सकिन्छ । जोखिम भरिएको काम गर्नु प¥यो भने भनिन्छ– मुटु कमाउनु हुँदैन, तिघ्रा कमाउनु हुँदैन, अर्थात्– चञ्चल, चपल मनलाई बलियो पार्नु पर्छ । मनलाई दिमागको अधीनमा, मस्तिष्कको मातहतमा राख्न सक्नु अनुकरणीय खुबी हो र सबैभन्दा ठूलो चुनौती पनि । मन तरंगलाई आफ्नो वशमा गर्न सक्नेहरू ज्ञानी महात्मा भए, नसक्नेहरू ‘न हस्तिनापुरको रजाइँ न चपरीमुनिको बास’ सरह भए ।

मनले के चिताउँछ, तनले के पाउँछ …. । मन हुन्छ सधैं चञ्चल । तन हुन्छ सधैं सुख–सयलको प्यासी । मस्तिष्क बुन्छ सधैं तर्कनाहरूको सञ्जाल र सबै कुराहरूको आधार । मन पनि भयो, तन पनि भयो र मस्तिष्क पनि भयो, तर धन नि ? हो, यो जो धन भन्ने कुरा छ– यो अद्वैत छ, एउटै मात्र छ । त्यसैले त भन्न मन लाग्छ– यो आधुनिक युगको ‘अहम ब्रह्मास्मी’ हो, अर्थात् अहिलेको समय–जसलाई जनसाधारण कलियुग भनी पुकार्दछन्– मा धन नै सर्वोपरि छ । साम्यवादीहरूले भन्ने गरेझैं, अहिले मान्छेको व्यक्तित्व छैन, मान्छेको व्यक्तित्वको मोल छैन, तर मोल छ त धन हुनेको, पैसा हुनेको ।

धन र सम्पन्नताले मान्छेको व्यक्तित्व निर्धारण गर्दछ । यसको अर्थ मान्छे अब मान्छे रहेन– ऊ अब त ‘आर्थिक मानव’ भइसकेको छ । जुनसुकै कारणले यस्तो भएको होस्, तर मान्छेको अवमूल्यन त भयो नै, र मान्छेको भन्दा पूँजीको व्यक्तित्व समाजमा स्थापित भयो, भएको छ पनि । आखिर किन यस्तो ? सायद यो समाजको विकास–क्रम हो, जुन सधैं सरलबाट जटिलतातिर अग्रसर भइरहेको हुन्छ ।

समाज विकासको यो रूपभन्दा पनि अहिले मलाई चासो भएको कुरा हो– मान्छेको मन । साँचो कुरा हो, र हामीमध्ये धेरैले नसोचेको र विचारै नगरेको कुरा हो, मन उड्छ र उडिरहन्छ निरन्तर । बस्, तन स्थिर र अचञ्चल भए पुग्छ । तर मस्तिष्क सधैं चञ्चल र चलायमान हुनुपर्छ, भइरहनु पर्छ । मलाई लाग्ने भय भनेकै यत्ति मात्र हो– मेरो मन र मस्तिष्कमध्ये कुन बढी चलायमान छ ? मेरो चाहना मनभन्दा धेरै बढी त मस्तिष्क नै हो, किनभने, मेरो विचारमा, मस्तिष्कले जे भन्छ, त्यही नै सम्बन्धित व्यक्तिको निर्णय हुन्छ । मस्तिष्कको आयतनले गर्दा नै ठूलो मान्छे वा सानो मन भएको मान्छे., उदारमनको व्यक्ति वा ढुङ्गाजस्तो मन भएको व्यक्तित्व आदि संज्ञा दिइन्छ ।

भन्छन् मानिसहरू– मनले चिताएको मात्र सधैं कहाँ पाइन्छ र ? हो त, चिताएर मात्र पाइने भए के हामी बाँचेको दुनियाँ अहिले जस्तो हुने थियो र ? खासमा मनले चिताए जस्तो नहुनाले नै मान्छे, देश र प्रकृति फरकफरक छन् । भविष्य अज्ञात छ ।….

भविष्य यदि खुला किताब हुँदो हो त जीवनको माने रहन्थ्यो नै के र ? सायद, आ–आफ्नो भविष्य–पुस्तक पढ्यो, अनि हिँड्यो सधैँ उही एकनासको ढर्रामा ! न कुनै नयाँपन, न कुनै रोमाञ्च, न कुनै जिज्ञासा र उत्तेजना ! तर त्यस्तो छैन । जीवनमा अथाह अनिश्चितताहरू छन्, अनेक संशयहरू छन्, अनगन्ती उकाली–ओहृाली र जालझेलहरू छन्, बग्रेल्ती पहेलीहरू छन्, थामी नसक्नु समस्याहरू छन्, सोच्नै नसकिने पीरहरू छन्, बोक्नै नसकिने ब्यथाहरू छन्, अटेर गरेर आइरहने औडाहाहरू छन्, नियमित आकस्मिकता बनेर छाइरहने असंख्य रोग भोक र शोकहरू छन्– यहाँ नभएको केही छैन, सबथोक छन् यहाँ, त्यसैले पनि सायद जीवन जीवन जस्तो छ, जिन्दगी जिन्दगी जस्तो छ र संसार संसार जस्तो छ । मान्छेको टुपी–पाइतालाको जोरजाम यही हो– अर्थात्, अनिश्चित भविष्यमा यथाशक्य निश्चित जीवनको खोजी ! यही खोज, जुन आफैंमा मृगतृष्णा हो, मा मान्छेको समय र जीवन व्यतीत भइरहेको छ ।

त्यसो त भविष्य बताउनका लागि हामीसित एस्ट्रोलोजी, ज्योतिष विज्ञान, छ । तर यसले मात्र के पो गर्न सकेको छ र ? अमेरिकी मानव अधिकारवादी नेता मार्टिन लुथर किङ भन्ने गर्थे– प्रगति जहिले पनि पराधीन प्रकृतिको हुन्छ, अर्थात्, एउटा समस्याको समाधान खोज्यो भने त्यसले फेरि अर्को समस्या लिएर आएको हुन्छ ।

समस्याहरू आउँछन् जान्छन् । आउन थालेपछि समस्याहरू डोरी बनेर आउँछन्– एउटा समस्याको पोयो फुकायो, अर्को समस्या बल्झिन्छ, त्यसको पोयो फुकायो, झन् अर्को बल्झेर उपस्थित भएको हुन्छ । तर यथार्थ के हो भने, हरेक समस्याले आफूसितै आफ्नो समाधान पनि लिएर आएको हुन्छ । तर कुनै पनि समस्याको समाधान जादूको छडी जस्तो भएर आएको भने हुँदैन ।……..

जीवनको सबैभन्दा ठूलो समस्या, सबैभन्दा ठूलो आइरोनी, नै के हो भने हामीलाई थाहा हुँदैन– जीवनमार्गमा अगाडि बढ्न कुन बाटो हिंड्नु पर्छ र कुन चाहिं पर्दैन ? कुन बाटो हिंड्ने हो र कुन चाहिं होइन । मानव जीवनको –तसर्थ, मानव मनको– जटिलता पनि यही एक प्रश्नमा अल्झिएको छ ।

मान्छेको मनै त हो आखिर– सधै राम्रो र झन्भन्दा झन् राम्रो खोजिरहने, अझ राम्रो पाए हुन्थ्यो भनेर हरहमेशा लालायित भइरहने । राम्रो र झन्भन्दा झन् राम्रो अर्थात्, सुख र निरन्तर सुख । र सायद हामी यहीनिर चिप्लिन्छौं, किनभने हामी जानेर पनि अन्जान सरह बनिरहेका हुन्छौं दुःख र सुख त जीवनरूपी एउटै सिक्काका दुई पाटा हुन्, घाम र छायाँ जस्तै सधैं सँगै हुन्छन् । अँ, कुनै एकको अवधि बेलाबखतमा केही लामो हुन सक्छ, तर सत्य के हो भने एकपछि अर्को पनि सँगै हिंडेकै हुन्छ ।

तर संसारको संगति अनौठो मान्न सकिने किसिमको छ । किनभने, प्रसिद्ध अङ्ग्रेज कवि पी बी शेलीको भनाइ स्मरण गर्दा, ‘मानिस त्यस्तो कुराका पछाडि दगुर्छ जुन उसलाई सहज प्राप्य छैन ।’ उ सुखको खोजीमा भौंतारिरहेको हुन्छ, तर उसित दुःखका क्षण धेरै हुन्छन् । यही कारणले गर्दा, सुखमा बिताएकाभन्दा दुःखमा सँगै बिताएका पलहरूको सम्झना लामो समयसम्म रहन्छ ।

मन नै त हो आखिर !.सायद त्यही सुखको चाहना र त्यसको खोजीमा नै मानव–मन अज्ञात आगतबारे जान्न र सुन्न सधैँ व्यग्र, उत्सुक र आतुर भइरहन्छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार